बागलुङ, १९ मंसिर– नेपाल बैंकका देशभरका शाखाहरुमध्ये उत्कृष्ट काम गरेको भन्दै प्रोत्साहन स्वरुप प्राप्त रकमलाई बागलुङ शाखाले मानवसेवामा खर्च गरेको छ ।
नेपाल बैंक लि. बागलुङ शाखामा सेवारत कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप प्राप्त दश हजार रुपैयाँ शाखाका कर्मचारीहरुले मानवसेवा आश्रमलाई सहयोग गरेका हुन् । बैंकको ८४ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रममा नेपाल बैंक लि. बागलुङ शाखा देशकै उत्कृष्ट शाखा (घ वर्गका शाखामा) घोषित भएको थियो ।
कर्मचारीको प्रोत्साहन स्वरूप प्रधान कार्यालयबाट प्राप्त रकमलाई मानवसेवा आश्रममा खर्च हुनेगरी सहयोग गरिएको शाखा प्रबन्धक अमृत सेवाले बताए । मानवसेवा आश्रममा रहेका बेसहारा नागरिकहरुको खानपान र व्यवस्थापनमा लाग्ने खर्चमा सहयोग पुग्नेगरी उक्त रकम सहयोग गरिएको हो ।
‘कर्मचारी साथीहरुले एकमन भएर सहयोग गरौं भन्नुभयो’ शाखा प्रबन्धक सेवाले भने ‘हामीले फगत खर्च हुने रकम मानव सेवामा लगाएका हौं ।’ बेसहाराको साहरा बनिरहेको आश्रमलाई सबैको साथ र सहयोग हुनुपर्ने उनले बताए ।





