मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

आफन्तको सम्झनामा स्मृति पार्क निर्माण गरिंदै

आफन्तको सम्झनामा स्मृति पार्क निर्माण गरिंदै

२०५७ फागुनमा हतियारधारी आएर काठेखोला गाउँपालिका-१ का नगेन्द्र थापा र भद्रकलीको घरभित्रै गोली हानेका थिए ।


  • ढोरपाटन संवाददाता
  • मंसिर २१ २०७७, आइतबार
?

बागलुङ, २१ मंसिर– सशष्त्र द्वन्द्वको समयमा राज्य र विद्रोही पक्षबाट मारिएकाको सम्झनामा काठेखोला गाउँपालिका वडा नं. १ पालामा सहिद स्मृति पार्क निर्माण थालनी भएको छ ।
सशष्त्र युद्वको बेला पालामा मात्रै ६ जना मारिएका थिए । कांग्रेसका तत्कालिन महासमिति सदस्य भरत शेरचनसहित स्थानीय नगेन्द्र थापा र भद्रकली थापालाई विद्रोहीले गोली हानेर मारेका थिए । सेनाले पनि माओवादीको कलाकार संगठनमा आवद्ध भएको आरोपमा यहाँकै चाँदनी थापा, धनबहादुर थापा र रोशन थापालाई गोली हानेर मारेको थियो ।
ती ६ जनाको सम्झनाका लागि वडाबाट बजेट विनियोजन गरेर पार्क र उनीहरुको मुर्तिसमेत राख्ने योजना बनाएको अध्यक्ष खड्ग थापाले बताए । ‘सहिदको सम्झना र सम्मानमा गौरबको योजना बनाएका छौं, तर वडाको बजेटले काम ढिला भयो’ उनले भने, ‘प्रदेश र संघले चासो राखेमा यो काम छिटो सकिन्थ्यो ।’ प्रदेश तहमा सुनुवाई नहुँदा लगानी जुटाउन नसकिएको उनले बताए ।
मृतक नगेन्द्र र भद्रकलीका छोरा मिनबहादुर निर्माण समितिको अध्यक्ष छन् । थापा एक वर्षका लागि मात्रै सट्टा शिक्षक थिए । माओवादी जनयुद्व चलिरहेको बेला विद्रोही पक्षका कार्यकर्ता विद्यालयमा संस्कृत पढाइ रोक्न दबाव दिन आएका थिए । कार्यकर्तासँग मिनबहादुर थापाको भनाभन भएकै आधारमा एक महिना नपुग्दै उनको बाबुआमा मारिएका थिए ।
छोराछोरी कोही नभएको बेला २०५७ फागुनमा हतियारधारी आएर काठेखोला गाउ“पालिका वडा नं. १ का नगेन्द्र थापा र भद्रकलीको घरभित्रै गोली हानेका थिए । उनीहरुको किन हत्या गरियो भनेर तत्कालिन माओवादीले कुनै जानकारी दिएन ।
‘म विद्यालयको हेडमास्टर पनि होइन, एक वर्षका लागि सट्टा शिक्षक मात्रै थिएँ, सामान्य भनाभनको रिसले बाबुआमाको हत्या भयो’ मिनबहादुरले भने, ‘अझैपनि के अपराधमा मेरो अभिभावक मारियो खोजी गरिरहेको छु ।’ आँफूले चाहेर संस्कृत पढाइ रोक्न सक्ने अवस्था नहुँदा पनि दबाद दिंदा भनाभन भएको उनले बताए ।
अहिले मिनबहादुर ४३ वर्षका भए । २० वर्षमा धेरै समस्या झेल्नु प¥यो । दुई बैनी पाल्ने जिम्मा पुरा गर्न उनले वैदेशिक रोजगारीको बाटो समाते । १० वर्षसम्म विदेशमा कमाएपछि दुई बैनीको बिहेदान गराए । आफ्नो घरपरिवार पनि बसालेका छन् । तरपनि आमाबाबुको अभाव सधैं खट्कीएको छ ।
आमाबाबुको मृत्यु भएपछि उनले राहत स्वरुप रोजगार मागेका थिए । नपाएपछि उनी वैदेशिक रोजगारीका लागि मलेसिया गए । रोजगारीमा जानुपरेकै कारण आफ्नो पढाइ पुरा गर्न नपाएको उनले गुनासो गरे । ‘घर व्यवहारको कारण पढाइ पनि भएन, कमाउन सकिन’ उनले भने, ‘अहिले पनि मजदुरी गरेर जीवन निर्वाह गरिरहेको छु ।’
काठको काम गरेर परिवार पालेको उनले बताए । उनले विदेशबाट फर्केपछि ढुंगा र काठको काम गरेर परिवार धानेका छन् । उनको २ छोरी, १ छोरा र श्रीमती छिन् । अन्य मृतकका परिवार सार्वजनिक रुपमा आउन नसकेपनि थापाले उनीहरुको समेत नेतृत्व गरेको बताए ।
राजनीतिक रुपमा फरक अस्थाका भएपनि थापाले दुवैतर्फका मृतकको सम्झनामा सहिद स्मृति पार्कको नेतृत्व गरेका हुन् । ‘परिवारको सदस्य मारिएपछिको पिडा मलाई राम्रोसँग थाहा छ, त्यसैले सम्झनाका लागि पार्क र शालिक बनाउन लागेका हौं’ थापाले भने, ‘सानो बजेटले ठूलो काम आँटेका छौं, तीन वर्ष भयो, पुरा गर्न सकिएको छैन ।’
गत आर्थिक वर्षको ५ लाख रुपैयाँले पार्कको पहिलो तल्ला निर्माण भएको छ । एकतला पुरेर सडकको सतहमा आएपछि भ्यू प्वाइन्ट र ६ जनाको शालिकसहितको पार्क बनाउने तयारी गरिएको हो ।
यो निर्माणाधिन पार्कबाट काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाको अधिकांस भूगोल र सदरमुकाम देखिन्छ । काठेखोलासहित मध्यपहाडी लोकमार्गको झण्डै ७ किमीखण्ड पनि देखिने भएकोले आर्कषक पार्क बन्ने भएपछि बजेट विनियोजन गरेर काम थालिएको वडा अध्यक्ष खड्ग थापाले बताए ।
‘वडामा बजेट नभएकोले धेरै लगानी गर्न सकेका छैनौं, तरपनि आफ्नो परिवारको सम्झनामा भएकोले उहाँले दुःख गर्नुभएको छ’ थापाले भने, ‘कम्तिमा १५ लाख रुपैया“को जोहो भए पार्क सम्पन्न हुने थियो ।’ वडाबाट खर्चने बजेट अभावमा काम समयमा पुरा गर्न नसकिने चिन्ता बढेको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->