बागलुङ, २१ मंसिर– गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले द्वन्द पीडितलाई स्वरोजगार बनाउने बताएका छन् ।
उनले पीडितको राहत र पुनस्थापनाकालागि रोजगार लक्षित कार्यक्रम संचालन गरिरहेको पनि बताए । आईतवार जिल्ला प्रशासन कार्यालय बागलुङमा आयोजित शहीदका परिवार, अपांगता भएक, बेपत्ता ब्यक्तिका परिवार तथा द्वन्द्व पीडित व्यक्तिको राहत तथा पुनःस्थापना सम्बन्धि अन्तरक्रिया गोष्ठीमा उनले रोजगारका कार्यक्रम पनि सार्वजनिक गरेका हुन् । गण्डकी प्रदेश सरकारले द्वन्दमा ज्यान गुमाएका परिवारकालागि स्वरोजगार बनाई जीविकोपार्जनमा सघाउ पुर्याउने उद्देश्यले गोलभेडा खेती र बाख्रापालन सम्बन्धी सीपमूलक तालिम संचालन गर्न गालेको चुमानले बताए ।
चुमानका अनुसार प्रदेशका पाँच जिल्लामा स्वरोजगार बनाउने कार्यक्रम सञ्चालन हुनेछ । बागलुङ, कास्की, गोरखा, तनहुँ र लमजुङमा आन्तरिक मामिला तथा कानून मन्त्रालय मार्फत कार्यक्रम सञ्चालन हुन लागेको उनले जानकारी दिए ।
नेपाल सरकारले घाईतेहरुको उपचार निशुल्क गर्ने निर्णय गरेकाले पीडित परिवारको पुनस्थापना र अपांगता भएकाहरुको पुनःस्थापनाका लागि स्थानीय सरकार र प्रदेश सरकारले समन्वय गरेर कार्यक्रमहरु ल्याउने उनको भनाई थियो । कार्यक्रममा सहभागीहरुले सरकारले ल्याएका कार्यक्रमको प्रभाव र कार्यान्वयनको बिषयमा जिज्ञासा राखेका थिए । जिल्लामा कृयाशिल राजनीतिक दल, उपभोक्ता मञ्च, पत्रकार महासंघ र सरोकारवाला कार्यालय तथा जिल्ला प्रशासन कार्यालयको सहभागितामा गोष्ठी सम्पन्न भएको थियो ।
मन्त्रालयका उप सचिव काशीराम गैरेले कार्यपत्र प्रस्तुत गरेका थिए । मन्त्रालयले सञ्चालन गर्ने गोलभेँडा खेती कार्यक्रम कृषि ज्ञान केन्द्र पर्वत र बाख्रा पालन कार्यक्रम पशु बिज्ञ केन्द्र बागलुङले सञ्चालन गर्नेछन् । बागलुङ जिल्लाका पीडितहरुले शान्ति समितिमा सूचीकृत शहीदका परिवार, द्वन्द्वका कारण अपांगता भएका, बेपत्ता ब्यक्तिका परिवार एवम् द्वन्द्व पीडित व्यक्ति तथा परिवारले यो कार्यक्रममा सहभागिता जनाउन पाउने छन् । कार्यक्रम अन्तरगत छनौट भएका लाभग्राहीले गोलभेँडा खेतीकोलागि १५ हजार रुपैयाँ अनुदान र प्राविधिक सहयोग तथा बाख्रा पालन गर्नेको लागि २० हजार रुपैयाँ अनुदान र प्राबिधिक सहयोग पाउने मन्त्रालयले जनाएको छ ।





