सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

विदेशबाट फर्केपछि ढाकामा लगानी

विदेशबाट फर्केपछि ढाकामा लगानी


  • Dhorpatan News
  • मंसिर २३ २०७७, मंगलबार

बागलुङ, २२ मंसिर– नेपालमा रोजगारी र व्यवसायको वातावरण छैन भन्नेहरुका लागि बागलुङको तमानका महिला समूहले मेहेनत गरे गाउँमै उद्यम गर्न सकिने उदाहरण देखाएका छन् ।
उनीहरले स्थानीय आमा समूहको भवनमा ढाका बुनाइको काम थालेर प्रसस्त कपडा उत्पादन गरिरहेका छन् । यो अभियानमा वैदेशिक रोजगारीमा गएर फर्केकी जुनामाया घर्तीले अगुवाई गरेकी छिन् ।
द्वन्द्वको बेलामा असुरक्षा बढेको भन्दै विदेश गएकी घर्तीले फर्केर गाउँमै व्यवसायमा लगानी गरेकी हुन् । विदेशमा गर्नुपर्ने दुःखभन्दा सानो लगानी गरेर पनि आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने उदाहरण दिन घर्तीसहितका १५ महिलाले उद्यममा लगानी गरेका हुन् ।
‘विदेशमा बस्दा दैनिक १४ घण्टासम्म काम गर्नुपथ्र्यो । कमाइ राम्रो भएपछि खानेबस्ने काममा उतै धेरै खर्च हुन्थ्यो’ घर्तीले भनिन्, ‘त्यतिको काम नेपालमा गरियो भने कमाइ पनि हुन्छ ।’ गाउँ फर्केपछि तमानखोला गाउँपालिका वडा नं. ३ की ४२ वर्षिय जुनामाया घर्ती मगरले एक वर्षदेखि ढाका बुनाइ थालेकी हुन् । उनको हातमा ढाकाको कपडा बुन्ने सीप थियो । मेसिन र सामाग्री खरिदका लागि भने उनीसँग लगानी थिएन । तर उनले ऋण खोजेरै फेरी विदेश जानेभन्दा त्यति ऋण लगानी गरेर मेसिन र सामग्री किन्ने निधो गरिन् ।
उनले एक लाख रुपैयाँमा मेसिन र थप १ लाखमा धागोसहितका सामग्री किनेर २ लाखबाट व्यवसाय थालेको बताइन् । आँफू जस्तै गाउँका १५ महिलालाई पनि धाका बुन्न सिकाएकी छिन् । स्थानीय कल्णण आमा समूहको भवनमा उनले महिलालाई तलिम दिएकी हुन् । अहिले उनीहरु समूहमा बसेर ढाका बुन्न थालेका छन् ।
उनले प्रेरणा दिएर सिकाएपछि गाउँकै रिता सिउठानीले पनि मेसिन र सामाग्री खरिद गरेर ढाका बुनाइ थालेकी छिन् । सीप भएकोले जुनाले सबैलाई एकडेढ महिनामा कपडा बुन्न सक्ने बनाएकी छिन् । जुनालाई भने संगम तालिम तथा परामर्श केन्द्र बागलुङले सीप सिकाएको थियो ।
आफ्नो सीप पालैपालो सबै महिलालाई दिएपछि घर्तीमगरले फुर्सदको समयमा आफ्नो काम गरिरहेकी थिइन् । ‘अहिलेसम्म आफ्नै लगानीमा सामान र मेसिन किने, तालिम पनि दिएँ, अहिलेसम्म कमाइ शुन्य छ’ उनले भनिन्, ‘अब बजार र मूल्यको खोजी गरिरहेकी छु ।’
जुनामायाको मेहेनत र सीप देखेपछि गाउँपालिकाले सहयोग गर्ने योजना बनाएको छ । ‘महिला सीप विकास कार्यक्रमको बजेट छ, तर सोझै दिन मिल्दैन’ गाउँपालिका अध्यक्ष जोकलाल बुढाले भने, ‘समूह दर्ता गरेर पान नम्बर लिएभने अनुदान पनि दिन सकिन्छ ।’ लक्षित समूहको बजेट खर्चन नसक्दा अघिल्लो वर्ष ५ लाख रुपैयाँ फिर्ता भएको बुढाले बताए । मेहेनत गरेकी घर्ती मगरलाई कम्तिमा तालिम खर्च र पारिश्रमिकसमेत उपलब्ध गराउन सकिने उनले बताए ।
पालिकाले उद्यमी बनाउने योजना राखेर पनि काम गरिरहेका नभेट्दा बजेट फिर्ता भएको बुढाको भनाई छ । चालु वर्ष समयमै जानकारी भएकोले समूहमा सहयोग गर्ने बुढाले आश्वासन दिएका छन् । ‘मेसिन खरिद र अत्याबस्यक सामाग्रीका लागि गाउँपालिकाले सहयोग गर्न सक्छ’ बुढाले भने, ‘मेहेनत गरेका उद्यमीलाई सहयोग गर्न तयार भएपनि आवस्यक कागजात र प्रक्रिया भने पुग्नैपर्छ ।’ गाउँपालिकामा रोजगारी बढाउने योजनामा भने उक्त समूह सहयोगी बन्ने उनले बताए । प्रक्रिया नजानेका उद्यमी महिलालाई सहजीकरण गरिदिन वडा अध्यक्ष र सचिवलाई समेत आग्रह गरेको उनले बताए ।
अहिले महिलाहरुले झण्डै १ हजारवटा ढाकाको सल बुनेर राखेका छन् । कोरोना संक्रमण र लकडाउनले उनीहरु बजार खोज्नसमेत सकेका छैनन् । ‘सामग्री जति पनि छ, आवस्यक परे अझै उत्पादन गर्न सक्छौं, तर बजारबाट बञ्चित छौं’ सिउठानीले भनिन्, ‘बजारको खोजी गरिदिने सहकार्य चाहिएको छ ।’
जुनामाया घर्ती मगरलाई तालिम दिएको संगम तालिम तथा परामर्श केन्द्रमा पुगेर उनले बजार खोजीदिन आग्रह गरेको बताइन् । केन्द्रकी निर्देशक अनिता तिवारीले बजारीकरणका लागि साथ दिने बताइन् । ‘उद्यमीलाई बीउ पूँजि दिएर उत्पादन बढाउने काममा गाउँपालिकाले साथ दियो भने बजारीकरणमा साथ दिन्छौं’ तिवारीले भनिन्, ‘निरन्तर उत्पादन र एकरुपता भयो भने बजारको समस्या पर्दैन ।’
महिला उद्यमीहरुले ढाकाको सानो सललाई ८ सय र ठूलोलाई १ हजार ५ सय रुपैयाँमा बेच्न सक्नेगरी उत्पादन गरेका छन् । त्यस्तै ढाका टोपी, इस्टकोट, झोला, पर्स र रुमाल पनि उत्पादन गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->