पोखरा, २३ मंसिर– पोखरामा रहेका मुस्लिम समुदायका महिलाहरु सुरक्षित गर्भपतन तथा अधिकारबारेको अन्तरक्रियामा सहभागि भएका छन् । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्र्तगत महिला मानव अधिकार रक्षक सञ्जालले सोमबार पोखरा महागनरपालिको १३ मा रहेको मुस्लिम समुदायका महिलाहरुसँग गरेको प्रजनन् स्वास्थ्यमा सुरक्षित गर्भपतन सेवा र अधिकार सम्वन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुन थिइन् ।
पोखराको मियाँपाटन पुरानो मुसलमान बस्ती हो । सो कार्यक्रममा सहभागि मुस्लिम धार्मिक क्षेत्र संरक्षण समितिका सचिव आसिक इलाहीले मुस्लिम समुदाय राज्यबाटै विभेदमा परेको बताए ।‘सरकारी कार्यालयहरुमा जाँदा कहाँबाट आउनुभयो भनेर हामीमाथि हिंसा भैरहेको छ’, उनले भने, ‘पाँच सय वर्ष बढी भयो पोखरामा बसेको तर हाम्रो कुनै दस्तावेज सरकारी कार्यालयहरुमा छैन् । यो विभेद हो ।’ महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष तारा थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला मानव अधिकार रक्षक सञ्जालका सचिव विना पुन मगर,सञ्जालका सदस्य नाजमीननिसा खान, लगायतले लैंगिक हिंसा र महिलाको प्रजनन् अधिकार बारे आआफनो भनाई राखेका थिए । मुस्लिम अगुवा हनिफ मियाँले मुस्लिम समुदायले महिलालाई सम्मान गरेको बताए । महिलालाई संरक्षण गर्ने बिषयमा विश्वले मुस्लिम समुदायबाट सिक्नुपर्ने बताउदै उनले भने, ‘महिलालाई बुर्काले संरक्षण गरेको हो । यसले हिंसा कम हुन्छ ।’





