सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

पुराना खानेपानीका योजना अलपत्र

पुराना खानेपानीका योजना अलपत्र

खानेपानीकै समस्याले यहाँका धेरै उपभोक्ताहरु बसाईँ सरिसकेका छन् । पछिल्लो दुई वर्षमा रामतोलाका १५ घर बसाई सरेको तथ्यांक छ ।


  • ढोरपाटन संवाददाता
  • मंसिर २३ २०७७, मंगलबार

बागलुङ, २३ मंसिर– म्याग्दीको ज्यामरुक अर्जम खानेपानी योजना सम्पन्न गर्न उपभोक्ता समितिका अध्यक्ष अध्यक्ष जीतबहादुर थापा डिभिजन खानेपानी कार्यालय धाउन थालेको तीन वर्ष भयो । हरेक वर्ष ४ देखि ५ लाख बजेट विनियोजन हुन्छ, उक्त बजेटले योजनामा कुनै असर पर्दैन । बिग्रे बनाएरै उक्त रकम सकिन्छ ।
पटक पटक डिभिजन खानेपानी आयोजनामा आएर फर्कने काम मात्र भएको उनले गुनासो गरे । ‘ठूलो आयोजना छ, बजेट कुनै वर्ष थोरै पर्छ, कुनै वर्ष पर्दैन’ थापाले भने, ‘थोरै बजेटले काम गर्दा पुराना संरचना भत्कने, अलपत्र पर्ने खतरा भैसक्यो ।’ डिभिजनमार्फत थालेका काममा स्थानीय पालिकाले पनि लगानी नगरिदिएपछि उपभोक्ता हैरान भएका हुन् । उनीहरुले पालिकामा पनि पटक पटक आग्रह गरेको गुनासो गरे ।
२०७१ सालदेखि शुरु भएको ३ करोडको योजनामा यसअघिका वर्ष २० लाखदेखि ३३ लाख रुपैयाँसम्म विनियोजन हुने गरेको थियो । गत आर्थिक वर्ष बजेटै परेन । चालु वर्षपनि ५ लाख मात्रै बजेट छ । सानो र अनियमित रुपमा आउने बजेटले निर्माणाधिन संरचना अलपत्र परिरहेको उनले बताए ।
उनीहरुले अहिलेसम्म ५० हजार घनमीटरको ट्यांकी बनाएको १३ लाख, २० हजार घनमीटरको ट्यांकीको ६ लाख र १० हजार घनमीटरको २ लाख ५३ हजार रुपैयाँ पाएको बताए । उक्त बजेट पर्याप्त छैन । त्यसबाहेक पाइपलाईन बिच्छाएको र अन्य संरचना बनाएको भुक्तानी पनि पाएका छैनन् ।
पर्याप्त बजेट नआएपछि बागलुङका दुइ ठूला अयाोजना २० वर्षदेखि अलपत्र छन् । अरु ६३ वटा खानेपानी आयोजना दशकदेखि निर्माणाधिनको रुपमा छन् । रायडाँडा र बुर्तिवाङ खानेपानी आयोजना २० वर्षदेखि अलपत्र परेका हुन् । राष्ट्रिय योजना आयोगबाट स्वीकृत भएर आएका योजनामै बजेट अपुग भएपछि स्थानीयले सास्ती खेपेका छन् । खानेपानीकै समस्याले यहाँका धेरै उपभोक्ताहरु बसाई सरिसकेका छन् ।
‘पछिल्लो दुइ वर्ष रामतोलाका १५ घर बसाई सरेको तथ्यांक छ’ बागलुङ नगरपालिका वडा नं. ११ रायडाँडाका वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले भने, ‘भौगोलिक कठिनाई र खानेपानी अभाव उनीहरुको बसाईसराईको मुख्य कारण हो ।’ सडक र खानेपानी पुग्दा गाउँ रित्तो हुन सक्ने उनले टिप्पणी गरे । एक करोड ८० लाख रुपैयाँ लागतको रायडाँडा खानेपानी अयाोजनाको लागत बढेर २ करोड ९० लाख पुगिसकेको छ ।
‘टुक्रे बजेटले खानेपानीका योजनाका उपभोक्तालाई सधै सास्ती मात्रै छ’ डिभिजन खानेपानी कार्यालयका प्रमुख राजेन्द्र न्यौपानेले भने, ‘योजना फछ्र्यौट हुनेगरी रकम नआएपछि प्रगती पनि देखाउन सकिएको छैन ।’
चालु वर्षदेखि जिल्ला तहमै खानेपानीका कार्यालय खुल्दैछन् । ती कार्यालय खुलेपछि डिभिजनले टाढाका योजना हेर्न नपर्ने उनले बताए । उनले सानो अंकका भन्दा काम पुरा हुनेगरी विनियोजन गर्न माग गरिएको उनले बताए । वर्षेनी कनिका छरेजस्तो बजेटले आयोजना अलपत्र परेको उनले टिप्पणी गरे । टाढाबाट आउने उपभोक्तालाई बेलाबेला आश्वासन दिएर फर्काउन बाध्य हुने गरेको उनले बताए ।
बुर्तिवाङ बजारका लागि खानेपानी पु¥याउन २०५६ सालमा निर्माण शुरु भएको आयोजना पनि अलपत्रै छ । लामो दुरी र ठूलो आयोजनामा वर्षेनी दुइचार लाख मात्र आउने गरेकोले काम अलपत्र परेको स्थानीयले बताए । खानेपानीको अभाव भएपछि नगरपालिकाले रिर्जभ ट्यांकी बनाएर खानेपानीको जोहो गराएको ढोरपाटन नगरपालिकाका प्रमुख देबकुमार नेपालीले बताए ।
‘केन्द्रको भर पर्दा जनताले सास्ती पाए, त्यसैले आन्तरिक बजेटबाट अर्को योजना बनाइरहेका छौं’ नेपालीले भने, ‘पुरानो काम कहिले सकिन्छ भन्ने यकिन छैन ।’ बागलुङमा अझै ६३ वटा साना ठूला आयोजना बजेट अभावले अलपत्र छन् । ती आयोजना पुरा गर्न झण्डै ३ अर्ब २० करोड रुपैया“ लाग्ने प्रावधिक मूल्यांकन छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->