बागलुङ, २३ मंसिर– गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गण्डकी सरकारले पर्यटनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । मंगलबार बागलुङ नगरपालिका–१३ पहरेमा उडान स्थल निर्माणको शिलन्याश गर्दै लम्सालले कोभिड–१९ को प्रभावका कारण समस्यामा रहेको पर्यटन क्षेत्रलाई पुनः पहिलेकै अवस्थामा ल्याउन सरकारले नयाँ कार्यक्रमहरुको तयारी थालेको बताए । देशको समृद्धिको आधार पर्यटन भएको लम्सालले योजना सुनाए ।
गण्डकीका सबै जिल्लामा पर्यटकीय क्षेत्रको पहिचान र प्रबद्र्धनको काम चलिरहेको भन्दै लम्सालले घरबास, प्याराग्लाईडिङ, धार्मिक तथा प्राकृतिक पर्यटकीय स्थलको प्रबद्र्धनमा सरकार लागिरहेको बताए ।
कार्यक्रममा पूर्वसांसद प्रकाश शर्मा पौडेललगायतले बोलेका थिए ।
बागलुङ नगरपालिका–१३ का अध्यक्ष नारायण शर्मा पौडेलको अध्यक्षता, १४ का अध्यक्ष चक्रबहादुर खत्रीको स्वागत र उपभोक्ता समितिका सचिव भरत पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । यसअघि लम्साललगायत पर्यटन मन्त्रालयको टोलीलाई बलेवा बैरवस्थान गुठी व्यवस्थापन समितिले भैरव मन्दिरमा स्वागत गरेको थियो ।





