सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

योजनाहरुमा सूचना बोर्ड राख्दैनन् ठेकेदार

योजनाहरुमा सूचना बोर्ड राख्दैनन् ठेकेदार

‘बाटो भत्काएर छाडेका छन्, गाउँपस्ने सबै गोरेटो अलपत्र छन्, हामीले कसलाई भन्ने ?’


  • ढोरपाटन संवाददाता
  • मंसिर २४ २०७७, बुधबार

बागलुङ, २४ मंसिर– धौलागिरी अस्पतालको तीनमध्ये सी ब्लक निर्माणाधिन छ । ए र बी ब्लक संचालनमा आएको छ । सी ब्लकको म्याद सकिएर फेरी थप भएको छ । अस्पताल प्रशासनले पनि छिटो सक्न ताकेता दिएको छ ।
तर यो भवनमा कति लागतमा कहिलेदेखि निर्माण थालिएको भन्ने सूचना बोर्ड छैन । नेपाल सरकारले ५ लाखभन्दा बढीको योजनामा अनिवार्य बोर्ड राख्नुपर्ने प्रावधान राखेको छ । तर करोडौंको योजनामा ५ सय रुपैयाँमा बन्ने बोर्ड नराखिएको हो ।
हाताभित्र बनेकोले अस्पतालकै भवन हो भन्ने थाहा छ, तर ठेकेदार, लागत, सम्झौता र सक्ने मिति अस्पताल प्रशासनलाई थाहै छैन । निर्माण सामग्री जतासुकै छरिएको छ । अस्पताल आउने बिरामी र सवारीसाधन पार्क गर्न पनि अप्ठ्यारो बनाइएको छ । तत्कालिन भवन डिभिजन कार्यालयमा सम्झौता गरेर ठेकेदारले काम थालेका थिए । अहिले उक्त कार्यालय पनि संघिय र प्रादेशिकमा विभाजित छ । कागजात खोज्नुपर्दा समितिका पदाधिकारीसमेत पाउँदैनन् । ‘कति लागत हो, कहिले सक्ने, किन ढीला भएको बुझ्नै सकिंदैन’ सूचना अधिकारी तीर्थ गौतमले भने, ‘हामीले पनि फोन गरेर जानकारी लिनुपर्छ, कतिपय विषय थाहै छैन ।’
सूचना बोर्ड राख्नुपर्ने प्रावधान अधिकांस योजनाले पुरा गरेका छैनन् । सदरमुकामभित्रै संचालित योजनामा पनि बोर्ड राखिएको छैन । बहुबर्षे योजनाको रुपमा संचालित कुनैपनि योजनामा सूचना बोर्ड नराख्दा उपभोक्ताले कस्तो संरचना बन्ने, कहिले बनिसक्ने, लागत कति हो, ठेकेदार को हो भन्ने पत्तो पाउनै सक्दैनन् ।
मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरमा पनि यो समस्या छ । त्यसबाहेक जिल्लामा निर्माण भएर हस्तान्तरण नभएका दर्जनबढी स्वास्थ्य चौकीमा समेत सूचना राख्ने गरिएको छैन । बागलुङदेखि कुश्मा जाने अर्मादी खोलामा पक्की पुल निर्माणाधिन छ । जिल्लाको गलकोट नगरक्षेत्रमा पनि दुइवटा पुल निर्माणाधिन छन् । ती कुनैमा पनि सूचना बोर्ड छैन । सूचना बोर्ड नराख्दा राजमार्ग र ग्रामीण सडकमा जनताले बढी दुःख पाएका छन् ।
‘बाटो भत्काएर छाडेका छन्, गाउँपस्ने सबै गोरेटो अलपत्र छन्, हामीले कसलाई भन्ने ?’ बागलुङ नगरपालिका वडा नं. ३ की अध्यक्ष लक्ष्मी बाँस्कोटाले भनिन्, ‘जनताले दुःख पाएपछि वडाध्यक्षलाई सराप्छन् ।’ डोजर लगाएपछि गोरेटाहरु सोझ्याउने, पक्की सिंढी लगाइदिने वा के गर्ने भन्ने स्टिमेटमा भएपनि ठेकेदारले वास्तै नगर्ने गरेको उनले टिप्पणी गरिन् । मध्यपहाडी लोकमार्गको वडा नं. ३ को खण्डमा सबैभन्दा धेरै गोरेटा र सिंढी भत्काएपछि नबनेको उनले बताइन् ।
सूचना बोर्ड नराखेकै कारण गलकोट नगरपालिका वडा नं. १० मा भत्केको कुलो समेत स्थानीयले मर्मत गर्न नपाएको उपभोक्ताले गुनासो गरे । झण्डै ५० लाख लागत लाग्नेगरी कुलो भत्कियो, बनाइदिने भनेका ठेकेदार र आयोजनाका कर्मचारीले वास्ता गरेनन्’ नगरप्रमुख भरत शर्मा गैरेले भने, ‘जनताले तीन वर्षदेखि सास्ती खेपेका छन् ।’ नगरपालिकाले दिएको पाइपबाट पानी तारेर धान रोपेपनि नियमित सिंचाइ अभाव भएको उनले बताए । आयोजनाले काम गर्दा बोर्ड नराखेपछि ठेकेदार को हो, सम्पर्क गर्ने कसलाई हो भन्ने अन्यौल भएको उनले बताए । ठेक्कामा लागेका अधिकांस बिकासे योजना उपभोक्तालाई थाहै नभइ म्याद थप्ने र वर्षौसम्म अलपत्र पर्ने उनले टिप्पणी गरे ।
सरकारी प्रावधान अनुसार सूचना बोर्ड नराख्दा ठेकेदारले लापरबाही गर्न पाउने जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगाना टिप्पणी गर्छन् । ‘खोजी हुन्छ, फोन गर्छन् भन्ने बाहना बनाएर बोर्ड नराखेको पाइयो’ उनले भने, ‘सरकारले जारी गरेको निर्देशिका नमान्नेलाई अब स्थानीय रुपमापनि कारवाही गर्नु पर्छ ।’ प्रशासनले चासो राखेमा यो समस्या छिटो समाधान हुने उनले बताए ।
ठेकेदारले भने बोर्ड राख्दा चन्दा माग्ने प्रवृत्ति बढेकोले सूचना बोर्ड राख्न नसकेको बागलुङ अक्षेते सडक खण्डका ठेकेदार दिपेन्द्रबहादुर शाहीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->