
बागलुङ, २५ मंसिर– विश्वका शक्ति राष्ट्रहरुले धमाधम आणबिक हतियारको परीक्षण गरेपछि विश्वकै शान्ति खलबलिएको भन्दै मानवअधिकार तथा शान्ति समाजले विरोध गरेको छ ।
समाजले देशव्यापी अभियान स्वरुप शक्ति राष्ट्रका राजदुताबासमा धर्ना र घेराउ समेत गरेको छ । आणबिक अस्त्रको प्रयोग बढीरहेकोले विश्वभर वातावरणीय प्रदुषण बढेको, बिषादीजन्य वायु फैलिएको र आम नागरिकको स्वास्थ्यमा प्रतिकुल असर परेको समाजको धारणा छ ।
अधिकारका लागि विभिन्न आयाममा काम गर्ने समाजले यो पटक शक्तिराष्ट्रको टकराबका कारण सर्वसाधारण जनताको बिचल्ली हुन नदिन सामूहिक आवाज आवस्यक परेको बताएको छ । ७२ औं अन्तराष्ट्रिय मावनअधिकार दिवशको अवसर पारेर बागलुङमा पनि प्रद्र्धशन र प्रवचन कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा समाजका केन्द्रीय सदस्य विकास पौडेलले आणबिक अस्त्रको कारण मानव जीवनको अस्तित्वमाथी गम्भिर असर परेको बताए । मानव सिर्जिन अस्त्रले गम्भिर प्रकारका रोगसमेत आएको उनको भनाई थियो । मरुभूमिकरण बढ्नु, पानीका श्रोत सुक्नु जस्ता बिषयपनि आणबिक अस्त्रको कारण भएको समाजका अध्यक्ष राजेन्द्र पौडेलले बताए ।
अधिकारकर्मीका अनुसार जापानको हिरोसिमामा प्रहार गरिएको १५ टन आणबिक अस्त्रका कारण अहिलेसम्म उक्त विशाल सहर रहेको स्थानमा अझै मरुभुमी मात्रै रहेको छ । शान्ति समाजले ७७ जिल्लामार्फत आणविक अस्त्रको विरोध गरेको बताइएको छ । बागलुङमा आयोजित कार्यक्रम समाजका सचिव हरिस पौडेलको संचालनमा सम्पन्न भएको थियो । समाजले लोकतान्त्रिक चोकमा व्यानर र प्ले कार्डसहितको प्रर्दशन पनि गरेका थिए ।
मानवअधिकार रक्षामा चुनौती
राजनीतिक परिवर्तनहरु भैरहेपनि मानवअधिकारको रक्षामा सुधार गर्न अझै धेरै समय लाग्ने अधिकारकर्मीले बताएका छन् । ७२ औं अन्तराष्ट्रिय मानवअधिकार दिवशको अवसरमा आयोजित कार्यक्रममा दिनदिनै बढेको हिंसाले मानवअधिकारको खिल्ली उडेको बताए । कानूनी शासनको पूर्ण पालना नभएसम्म मानवअधिकारको प्रत्याभूति पाउन नसकिने उनीहरुको भनाई थियो ।

मानवअधिकार संगठन बागलुङले बिहिबार आयोजना गरेको एक अन्तरक्रियामा वरिष्ठ अधिवक्ता पद्मनाथ शर्माले कानून देखेर नेता र प्रशासन डराउने अबस्थाबाट कानून हातमा लिने अवस्थामा आएपछि नागरिक अधिकार खुम्चेको बताए । उनले मानवअधिकार रक्षाका लागि अधिकारकर्मी सडकमा निस्कदा सरकार हल्लने अवस्थाबाट अहिले दिनदाहाडै राज्यका ओहदामा बस्नेबाटै मानवअधिकार हनन् भैरहेको पनि बताए ।
संयुक्त राष्ट्रसंघको स्थापना भएको समयपछि मानवअधिकारको चर्चा बढी हुने गरेको हो । तर पक्ष राष्ट्रहरुमै राजनीतिक हस्तक्षेप बढिरहेको उनले बताए । राष्ट्रसंघलाई चुनौती दिएर शक्ति राष्ट्रहरुले गर्ने मनपरितन्त्रबाट संसारभरका मानिस आक्रान्त बनिरहेको सहभागीको भनाई थियो ।
नेपालमा पनि शान्ति सम्झौताको १४ वर्ष बितिसक्दा समेत सम्झौताका बुँदा कार्यान्वयनमा राज्य पक्षनै उदासिन भएको अधिकारकर्मीले आरोप लगाएका थिए ।
संगठनका कावा अध्यक्ष अमरबहादुर कार्कीको अध्यक्षता, शर्मिला थापाको संचालन, अधिवक्ता लक्ष्मी जिसी कार्कीको स्वागतमा सम्पनन कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद शर्मा निउरे, नेपाल प्राध्यापक संघका केन्द्रीय सदस्य धु्रबराज गौतम, अधिकारकर्मी पिंगला जिसीलगायतले बोलेका थिए ।





