शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

‘डेभिजफलको आय विद्यालयलाई देऊ’

‘डेभिजफलको आय विद्यालयलाई देऊ’


  • ढोरपाटन संवाददाता
  • पुष १ २०७७, बुधबार

पोखरा, १ पुस– छोरेपाटन माविसँग आवद्ध अभिभावक तथा व्यवस्थापन समितिका पूर्व सदस्यहरुले सोही ठाउँमा रहेको पातालेछाँगो (डेभिजफल) को व्यवस्थापन आफैले पाउनुपर्ने माग गरेका छन् । विद्यालयले व्यवस्थापन गर्दै आएको डेभिजफललाई पोखरा महानगरले सार्वजनिक निजी साझेदारी परियोजनाअन्तर्गत अर्कै कम्पनीलाई दिएपछि विद्यालयको आम्दानी प्रभावित भएको भन्दै विरोध जनाएका हुन् ।
पोखरा–१७ छोरेपाटनमा रहेको डेभिडफल २०३५ सालदेखि विद्यालयले आफ्नै लगानीमा संरक्षण र सम्वद्र्धन गर्दै आएको थियो । डेभिजफल घुम्न आउनेहरुबाट उठेको शुल्क विद्यालयले लिन्थ्यो भने सोही पैसाबाट शिक्षकहरुलाई तलव खुवाइन्थ्यो ।
पोखरा महानगरपालिकाले त्यहाँ सिसाको पुल राख्न सेती क्यानोनिङ प्रालिलाई दिने तयारी गरेको छ । विद्यालय व्यवस्थापन समितिले आफ्नो संचालनमा रहेको सो क्षेत्र सेती क्यानोनिङलाई दिनेगरि हस्ताक्षर समेत गरेको छ । ‘२०३५ सालदेखिको विद्यालयले कानून बमोजिम प्राप्त भोगाधिकारको अस्तित्व नै मेटिने गरी पोखरा महानगरपालिकाबाट प्रस्तावित समझदारी पत्रमा हस्ताक्षर गर्दैछ भन्ने समाचार सुन्दा हामी विद्यालयका आम अभिभावकहरु एवंम विद्यालयका शुभचिन्तकहरु चिन्तित भएका छौँ’, मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै निवर्तमान विद्यालय व्यवस्थापन समितिका सदस्य देवराज आचार्यले भने । सोही क्रममा बोल्दै पूर्व राष्ट्रियसभा सदस्य वृन्दादेवी रानाले व्यवस्थापन समितिले स्थानीय तथा अभिभावकहरुसँग समेत छलफल नगरि एकलौटी रुपमा हस्ताक्षर गरेको आरोप लगाइन् ।‘ विद्यालयको आम्दानीसँग जोडिएको कुरामा त सबैसँग छलफल गर्नुपथ्र्यो । समुदायमासमेत छलफल नगरि हस्ताक्षर गर्नु नै पहिलो गल्ती देखिएको छ’, रानाले भनिन्,‘यो योजना अन्यत्र दिँदा विद्यालयको शैक्षिक गुणस्तरमा समेत कमी आउँछ ।’ अहिले विद्यालय कास्कीकै उत्कृष्टमध्येको हो । स्थानीयको सहमति र सहकार्य विना नै सम्झौतामा हस्ताक्षर भएको रानाले आरोप लगाइन् । महानगरले विद्यालयको शैक्षिक गुणस्तर र आयको ग्यारेण्टी लिए आफूहरु सहयोग गर्न तयार रहेको उनको भनाई थियो ।
४२१६.७८ वर्गमिटर जग्गामा पातालेछाँगो रहेको छ । आम्दानीद्वारा विद्यालयको शैक्षिक उन्नति तथा भौतिक प्रगति भइरहेको छ । पातलेछाँगोको स्वामित्वको बारेमा विद्यालय र सरकारी निकायहरुको बीचमा बारम्बार विवाद उत्पन्न हुँदै आएपनि विद्यालयले आफ्नै स्वामित्वमा राख्न सफल भएको थियो । पातलेछाँगो प्रवेश शुल्कले विद्यालयका निजी श्रोतका शिक्षक कर्मचारीहरुको तलबभत्ता तथा प्रशासनिक खर्च धान्दै आएको थियो ।
पातालेछाँगोमा निर्माण हुने ग्लास ब्रिज वा अन्य संरचनाको आफूहरुले समर्थन गर्नको लागि विद्यालयको भविष्यको ग्यारेण्टी महानगरले लिनुपर्ने बताए । विद्यालयको अहितमा विद्यालय व्यवस्थापन समितिले हाल भोकचलन आएको जग्गाबाट प्राप्त हुने आयआर्जनको आर्थिक श्रोतलाई क्षति पुग्ने साथै भोगाधिकार मेटिने गरी समझदारीमा हस्ताक्षर गर्दा पैसाको चलखेल भएको हुन सक्ने आरोप उनीहरुले लगाए । करिब २ हजार ५ सय विद्यार्थी रहेको विद्यालयमा १ सय ५ शिक्षक तथा कर्मचारी रहेका छन् । जसमध्ये ७२ जना शिक्षक तथा कर्मचारीलाई विद्यालयले नै तलब दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->