पोखरा, ३ पुस– बाथरुमको सतह सधैँ सफा र खस्रो राख्नुपर्छ । बाथरुम जाँदा नचिप्लिने चप्पल लगाउने, सतहमा खस्रो ढुंगा वा म्याट ओच्छउने गर्नुपर्छ ।
बाथरुममा लडेर पोखरामा एक व्यक्तिको मृत्यु भएको छ । ओखलढुंगा घर भई हाल पोखरा–१६, लामाचौरमा बस्ने सार्कीमान मगर बिहीबार बिहान बाथरुममा लगेका थिए । घाइते ४५ वर्षीय मगरलाई यहाँको फिस्टेल अस्पताल ल्याउँदा डाक्टरले मृत घोषणा गरेका थिए ।
पछिल्लो समय नेपालमा पनि बाथरुम÷ट्वाइलेटमा लडेर घाइते र मृत्यु हुनेको संख्या बढेको छ ।
आधुनिक टुवाइलेट र बाथरुममा चिप्लिने,ट्वाइलेट प्यानबाट उठ्दा रिंगटा लागेर ढल्ने तथा त्यसैका कारण टाउकोलगायत शरीरका अन्य भागमा चोट बोक्नेहरु पनि बढ्दै गएका छन् । तर, यो गम्भीर प्रकृतिको दुर्घटनाप्रति कमैको मात्र चासो पुग्ने गरेको छ ।
आजकल सबैको ट्वाइलेट र बाथरुममा टायल बिच्छ्याइएको हुन्छ । चिप्लो टायलमा चिप्लिने सम्भावना बढी हुन्छ । अझ, बाथरुममा साबुन पनि प्रयोग हुँदा त्यहाँको सतह झन चिप्लो भएको हुन्छ । मानिसहरु हतारमा, रातको समयमा ट्वाइलेट जान्छन् । केही मान्छेहरु ट्वाइलेटमा एकसुरे पनि भइदिन्छन् । त्यस्तो अवस्थामा एक्कासी ट्वाइलेट प्यानबाट उठ्दा दिमाग झन्झनाउन सक्छ । उच्च रक्तचाप भएकाहरुमा यो समस्या बढी देखिन्छ । अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित लेखका अनुसार ट्वाइलेटमा लडेकाहरुमा बाथरुममा लडेपछि हेड इन्जुरी (टाउकोको चोट) मृत्युको मुख्य कारण बन्ने गरेको बताउँछन् । त्यसरी लड्दा हुने स्पाइनल इन्जुरी (मेरुदण्डको चोट)ले दुर्घटनापछि गम्भीर खालको अपाङ्गता हुने गरेको पाइएको छ ।
बसेर उठ्दा रिँगटा लाग्ने समस्या,मधुमेह तथा रक्तचापका बिरामीको रक्तचाप अचानक घटबड हुँदा रिँगटा लागेर लड्न सक्ने खतरा हुन्छ । यसलाई डाक्टरी भाषामा पोष्टुरल हाइपोटेन्सन भनिन्छ । जाडोमा तातोपानीले नुहाउँदा भेण्टिलेटर बन्द गर्दा त्यही बाफले निस्सासिएर बेहोस हुने अवस्था पनि आउन सक्छ । त्यसैले जाडोमा नुहाउँदा भेण्टिलेटर र झ्याल खुल्ला राख्नुपर्छ । डाक्टरहरु भन्छन्, ‘बाथरुममा लड्दा त्यसले हड्डीलाई पनि असर गर्छ र त्यो बुढेसकालमा बल्झन सक्छ । त्यतिमात्रै नभएर गर्भवतीहरुको गर्भ तुहिनेदेखि अंगभंगसम्मका घटना हुनसक्छन् । त्यसैले बाथरुमको सतह सधैँ सफा र खस्रो राख्नुपर्छ । बाथरुम जाँदा नचिप्लिने चप्पल लगाउने, सतहमा खस्रो ढुंगा वा म्याट ओच्छउने गर्नुपर्छ । राम्रो भनेर हुँदैन, सुरक्षा पनि चाहिन्छ । सुरक्षाकै लागि अर्धनिन्द्रामा बाथरुम छिर्नु हुँदैन ।
-( एजेन्सीहरुको सहयोगमा )





