पोखरा, १२ पुस– गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशको आयोजना एवम् नेपाल पर्यटन बोर्ड पोखराको प्रवद्र्धन र पोखरा पर्यटन परिषद्को सहयोगमा कोरोना महामारीसँगै थलिएको पर्यटनलाई चलायमान बनाउने उद्देश्यका साथ शनिबारदेखि चारदिने पर्यटन पुर्नउत्थान एवम् ग्रामीण पर्यटन प्रवद्र्धनात्मक भ्रमण सुरु गरेको छ ।
कोरोनाले थलिएको पर्यटनमा गतिविधि बढाउने सन्देश प्रवाह गर्दै पूर्ववत अवस्थामा फर्काउने सोचका पर्यटनसम्बद्ध क्षेत्रका पदाधिकारी तथा सञ्चारकर्मी सहितको टोलीले कास्की, पर्वत र बाग्लुङ तीन जिल्लाका पर्यटकीय गाउँहरूमा सञ्चालित घरवासको प्रवद्र्धनात्मक भ्रमण गर्न लागिएको भिटोफ गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले जानकारी दिए ।
भ्रमणका क्रममा बागलुङको ढोरपाटनमा सञ्चालित घरवाससहित सोही जिल्लाको गलकोटस्थित रिघा सामुदायिक घरवास, ताराखोलास्थित शिवधुरी सामुदायिक घरवास, भकुण्डेस्थित अतिथि सत्कार सामुदायिक घरवास, पर्वतको भुक देउराली सामुदायिक घरवास, लब्सिबोट सामुदायिक घरवास र कास्कीको हेम्जाकोट सामुदायिक घरवासमा पुगी सम्बद्ध सरोकारवालाबीच छलफल एवम् अन्तरक्रिया गरिने छ ।





