पोखरा, १३ पुस– फूलाई संस्थापन दावी गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समितिका सदस्य देव गुरुङले देशमा ढिलोचाँडो संकटकाल लागु र जंगी शासन सुरु हुने जिकिर गरेका छन् । उनले कथंकदाचित संसद विघटनलाई वैधता दिए संसद प्रधानमन्त्रीको ‘प्यादा’ बन्ने र सार्वभौम अधिकार प्रधानमन्त्रीमा जाने ठोकुवा गरे ।
उहाँ (प्रधानमन्त्री केपी शर्मा ओली) संविधान सिध्याउन निरन्तर लागिरहनु भएको छ’, प्रचण्ड–माधव नेपाल समूहको नेकपा गण्डकीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने,‘अहिलेको प्रश्न संसद विघटन संविधान अनुकूल हो कि हैन भन्ने हो, अहिलेको प्रश्न १७ साल र ज्ञानेन्द्रले २०५९ सालमा चालको शाही कदमसँग सम्बन्धित छ ।’ उनले प्रधानमन्त्रीले संविधानले परिकल्पना नै नगरेको संविधान विघटन गरेर देशलाई सर्वसत्तावाद र फाँसीवादको दिशामा लैजान खोजेको आरोप लगाए ।
‘२०४७ सालको संविधानमा संंसद विघटनको प्रावधान थियो, अहिले संविधानले त्यस्तो व्यवस्था नै छैन’, उनले भने,‘ यो देशमा संकटकाल लागु गरेर संविधानका सबै धाराहरु निष्कृय हुनेछन्, बन्दी प्रत्यक्षीकरण र मौलिक हकका केही धारा बाँकी रहलान्, त्यो बेला अदालतले कुनै काम गर्नेछैन अनि त्यहाँ राष्ट्रपति शासन लाग्नेछ ।’ उनले प्रधानमन्त्री केपीसँग निरंकुश र फाँसीवादी प्रवृत्ति भएको आरोप लगाउँदै उनको त्यो नियतमा विदेशी शक्तिले खेलेको जिकिर पनि गरे ।
‘नेपाललाई शैन्य बेस एरिया बनाउने र खासगरि चीन र तिब्बतलाई फुटाउने उद्देश्य भएको शक्तिले यहाँ खेलिरहेको छ’, उनले भने,‘ यहाँ पार्टीका निर्णयहरु सरकारमा लागु नहुने र पार्टीलाई बढीभन्दा बढी कमजोर बनाउने र नेपाललाई गठबन्धनको शैन्य बेस एरिया बनाउने उद्देश्यले प्रेरित छ ।’ ओलीको आत्मसमर्पणवादका कारण विदेशीले खेल्ने ठाउँ पाएको बताउँदै उनले पार्टी, संसद र यो संविधान रहेसम्म विदेशीले हस्तक्षेप गर्न नसक्ने भएकोले संविधान पनि भत्काउन लागिएको पनि बताए । उनले विदेशी शक्ति कुन् हो भन्ने नखुलाए पनि अमेरिकी र भारतीय शक्ति नै यहाँको राजनीतिमा हावी भएको संकेत गरे । चीनले नेकपा फुटमा देखाएको चासो र चिनियाँहरुको सक्रियतालाई भने उनले सकारात्मक मान्नुपर्ने तर्क गरे । चीनसँग नेपालको हार्दिकतापूर्ण सम्बन्ध भएको र चिनियाँहरुले नेपालको सार्वभौमसत्तामा हस्तक्षेप नगरेकोले उनीहरुको चासो नेपालको अहितमा नहुने उनको जिकिर थियो ।
फरक प्रसंगमा उनले प्रधानमन्त्री केपी ओलीले आफूलाई नेकपाको संसदीय दलको प्रमुख सचेतकबाट हटन भने पनि आफूले पार्टीको निर्णय मान्ने र त्यत्तिकै राजनीमा नदिने बताएपछि त्यो कुरा रोकिएको पनि स्मरण गरे ।
कार्यक्रममा बोल्दै अर्का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले आफ्नो समूहमा बहुमत केन्द्रीय सदस्य भएकोले सूर्य चिन्ह पनि आफ्नै हुने जिकिर गरे ।
‘हामी संसद र केन्द्रीय कमिटीमा स्पष्ट रुपले बहुमतमा थियौँ,हामी ती निकायहरु ९ सर्वोच्च अदालत र निर्वाचन आयोग०को सम्मान गर्दै भन्न चाहन्छौँ,त्यहाँ कहीँकतैबाट भएको डुब्लिकेट हस्ताक्षरलाई आधाधर मानिने छैन ।’उनले संसद विघटनको निर्णयलाई सर्वोच्चले उल्ट्याउने आशा रहेको पनि बताए । नेकपा गण्डकीका अध्यक्ष हितराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन केन्द्रीय सदस्य तथा कास्की सह–इन्चार्ज श्रीनाथ बरालले गरेका थिए ।
अध्यक्ष हितराज पाण्डेका अनुसार पार्टीको आइतबार बसेको बैठकले संविधान विघटनविरुद्धघ सोमबारदेखि नै संघर्षका कार्यक्रमहरु गर्ने निर्णय गरेको छ । पार्टीका २१६ जना सदस्यमध्ये ११० जना अर्थात् बहुमत सदस्यहरु उपस्थित भएको बैठकले प्रधानमन्त्रीको संसद विघटनलाई अस्वीकार गरेको तथा पुस २५ गतेसम्म विभिन्न संघर्षका कार्यक्रम तय गरिएको पनि उनले जनाए । बैठकले उखु किसानको आन्दोलनमा ऐक्यवद्धता जनाएको, कोभिड–१९ को समुचित उपचार तथा खोपको समयमै व्यवस्था गर्न माग गरेको एवं शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न माग पनि गरेको छ ।





