बेनी, १५ पुस– म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालको रुपमा रुपान्तरण गरिने भएको छ । पश्चिम म्याग्दीका तीन स्थानीय तह तथा छिमेकी जिल्ला बागलुङका बासिन्दाले समेत सेवा लिने केन्द्रमा सेवासुविधा विस्तार, जनशक्ती तथा भौतिक संरचनामा समेत थप गरी अस्पतालबाट प्राप्त हुने सेवाहरू विस्तार गर्न लागिएको हो । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको पहलमा निक साइमन इन्स्टिच्युटको आर्थिक तथा प्राविधिक सहयोगमा अनुभव चिकित्सक सहित विभिन्न यूनिट थप गरी अस्पतालको रुपमा सञ्चालन गर्ने तयारी भएको गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले बताईन् ।‘केन्द्रमा जनशक्ती, पूर्वाधार र सेवाहरु थप हुन्छ, ‘सेवा विस्तारसँगै सदरमुकाम बेनी जानुपर्ने बाध्यताको अन्त्य हुन्छ’ उपाध्यक्ष विटालुले भनिन् । निक साइमन इन्स्टिच्युटले अस्पताल ब्यवस्थापनमा सदृुढीकरण न्यूनतम अन्तरगत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्तरगत गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, उपाध्यक्ष विटालु, वडा अध्यक्ष सन्तनाथ सुबेदी लगायत सरोकारवाला निकाय, स्वास्थ्यकर्मीसँग समेत अन्तरक्रिया र कार्यक्रम समेत गरेको छ ।
उक्त कार्यक्रमसँगै सामाजिक विकासमन्त्री नरदेवी पुनले जटिल शल्यक्रिया सहितको १० शैयाको अस्पताल बनाउने अवधारणामा सघाउन गरेको अनुरोधमा निक साइमन सकारात्मक छ । प्राथमिक उपचार केन्द्रमा मंगला, मालिका, धवलागिरी गाउँपालिकासँगै पश्चिम बागलुङ बस्तीबाट समेत सेवा लिन आउने गरेका छन् । यता गाउँपालिका अध्यक्ष रोकाले उपचारका लागि सम्भव भएका सबै सेवा विस्तार गर्ने गरी भौतिक पूर्वाधारलाई समेत प्राथमिकता दिएको बताए । हाल एक चिकित्सक सहित स्वास्थ्यकर्मी रहेको केन्द्रमा थप विशेषज्ञ सहितको टोली खटिने छ । निक साइमनले बेनी अस्पतालमा चिकित्सक सहित उपकरण र जनशक्ती सहयोग गरेपछि अस्पतालको सेवाले फड्को मारेको थियो । अस्पतालमा हाल क्लिनिकल कोअर्डिनेटर डा. नवराज बस्ताकोटी सहितको टोली कार्यरत छन् । प्रसुती सेवामा धौलागिरीका चार जिल्लामा म्याग्दी अब्बल हुनुमा निक साइमनको ठूलो योगदान रहेकाले पश्चिम म्याग्दीमा समेत अस्पताल सञ्चालनमा आएमा प्रसूति सेवा, ओपिडी लगायतका सेवा सहज हुने छ ।





