बेनी, १९ पुस– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य किरण गुरुङले ताजा जनादेशले पत्तासाप हुने डरले चुनावको विरोध गरिएको बताएका छन् ।नेकपा म्याग्दीले शनिबार सदरमुकाम बेनीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले जनताको ताजा मत रोज्नु असंवैधानिक कदम हुन नसक्ने बताएका छन् । प्रधानमन्त्री ओलीले संसद विघटन गरेर ताजा जनादेशका लागि जनतामा जानु लोकतान्त्रिक कदम भएको बताए । ‘प्रचण्ड–माधव पक्षमा धेरै कुण्ठाहरु रहेका छन्,‘दुवै नेताले पाँचवर्ष कुर्न नसकेकाले पार्टी विभाजन गरेर जानुभयो’ गुरुङले भने ।
उनले प्रचण्डले ३३ वर्षसम्म एउटै पार्टीको नेतृत्व गरेपनि विगतमा उहाँको पार्टीमा भेला, अधिवेशन कहिल्यै पनि नभएको जिकिर गर्दै माधव नेपालले समेत १५ वर्षसम्म पार्टी नेतृत्व गरेको भए पनि अझै नथाकेको आरोप बताए । प्रचण्ड–माधवप्रति लक्षित गर्दै नेता गुरुङले भने‘दुवै नेताले विगत लामो समयसम्म नेतृत्व गरेको अवस्थामा केपी ओलीले तीनवर्ष पनि पार्टी अध्यक्ष हुन नपाउने ?’ भन्दै प्रश्न गरे ।
प्रचण्ड र माधव नेपाल पक्षहरु लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, प्रचलित कानुन र प्राकृतिक नियमभन्दा पनि बाहिर रहेको भन्दै नेता गुरुङले जनताको बिचमा जान पाइँदैन, हामीसँग बहुमत छ तँलाई अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउँछौं भनेर बहुमतको दम्भ देखाउँदा पार्टीमा समस्या आएको बताए । पार्टी विभाजन नहुँदै प्रदेशहरुमा अहिले नै अविश्वासको प्रस्ताव आउनु उचित नरहेको बताउँदै स्थायी समिति सदस्य गुरुङले जुन–जुन प्रदेशको मुख्यमन्त्री पदमा हारेका थिए अहिले त्यही प्रदेशमा सरकार चलखेल सुरु भएको बताए । सोही भेलामा बोल्दै नेकपा केन्द्रीय सदस्य तथा पूर्व महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले अहिलेको अवस्थामा प्रधानमन्त्रीले चालेको कदम आवश्यकता र बाध्यात्मक रहेको बताइन् । उनले नेकपाका अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालका कारण पार्टीमा समस्या आएको बताउँदै बहुमतको दम्भ देखाएपछि प्रधानमन्त्री ओली बाध्य भएर संसद विघटनतर्फ लागेको दावी समेत गरिन् ।
नेकपा केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश कमिटी सचिव गोविन्द नेपालीले विकास र समृद्धिको युग सुरु भएको बताउँदै नेकपाको कार्यदिशा जनताको जनवादमार्फत समाजवादउन्मुख रहेको बताए । । उनले नेकपा अहिले दुई समूहमा विभाजित भएर फुटको संघारमा पुगेको अवस्थामा रहेको भन्दै प्रचण्ड–माधव समूहतर्फ लागेका नेता, कार्यकर्ता अन्तिम समयमा ओली समूहमै फर्किने दावी गरे ।
कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवं सांसद भूपेन्द्रबहादुर थापा, बालकृष्ण काउचा, गण्डकी प्रदेश कार्यालय सदस्य नवराज शर्मा र सामाजिक विकास मन्त्री नरदेवी पुनले केपी शर्मा ओली राजनेता भएको बताउँदै मनमोहन अधिकारी र केपी ओलीले अहिलेसम्म भएका प्रधानमन्त्रीभन्दा सबैभन्दा राम्रो काम गरेको ठोकुवा समेत गरेका थिए । नेकपाका केन्द्रीय सदस्य एवं जिल्ला नेता हरिकृष्ण श्रेष्ठको अध्यक्षता, सचिवालय सदस्यद्वय सन्तोष रावलको स्वागत र सुरत केसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा पुस्कर विकले आफ्नो धारणासहित मन्तव्य राखेका थिए । म्याग्दीमा ओलीको पक्षमा प्रदेश सभासदस्य विनोद केसीबाहेक प्रतिनिधिसभा, प्रदेशसभा र तत्कालिन नेकपा एमालेबाट जितेका स्थानीय तहका प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरु अधिकांशले समर्थन गरेका छन् ।





