शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

पिएन व्यवस्थापन समितिमा धनराज र बखानसिंह आएपछि खैलाबैला

पिएन व्यवस्थापन समितिमा धनराज र बखानसिंह आएपछि खैलाबैला

क्याम्पस प्रमुख भन्छन् : म पनि धेरै टिक्दिनहोला ।


  • ढोरपाटन संवाददाता
  • पुष २० २०७७, सोमबार

पोखरा, २० पुस– पृथ्वीनारायण क्याम्पस व्यवस्थापन समिति सदस्यमा धनराज आचार्य र बखानसिंह गुरुङ चयन भएकाछन् । धनराज क्याम्पसका पूर्वविद्यार्थी तथा स्वतन्त्र विद्यार्थी युनियनका सभापति हुन्भने बखानसिंह नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता हुन् । अहिले धनराज पनि सोही समूहमा आवद्ध रहेका छन् । त्रिभुवन विश्वविद्यालय कार्यकारिणी समितिको निर्णय अनुसार ३ वर्षे कार्यकाल रहनेगरि उनीहरु मनोनित भएका हुन् । क्याम्पस प्रमुख डाक्टर सरोज कोइरालाको सिफारिसमा दुबैजना सो पदमा नियुक्त भएका हुन् । क्याम्पस प्रमुख कोइरालाका अनुसार दुबैजनालाई व्यवस्थापन समितिको सदस्यमा ल्याउन गएको कात्तिकमा सिफारिस गरिएको थियो । यसअघि सदस्य रहेका सोमनाथ अधिकारी प्यासी र कोमनाथ बरालको ठाउँ उनीहरुले लिएका हुन् । व्यवस्थापन समितिमा ऋषि सापकोटा र दीपक पौडेल यसअघि नै सदस्यको रुपमा रहेका छन् । क्याम्पस व्यवस्थापन समितिको अध्यक्ष क्याम्पस प्रमुख नै हुने व्यवस्था छ ।
कात्तिकमा नेकपा एउटै थियो । तर, अहिले नेकपा दुईवटा भएको छ । कात्तिक २९ गते व्यवस्थापन समितिको म्याद सकिएको थियो । ऋषिलाई पुनः सोही पदमा ल्याइएको हो । उनी कांग्रेस निकटहुन् भने दीपक नेकपानिकट रहेका छन् । दीपक अहिले प्रधानमन्त्रीले नेतृत्व गरेको ओली समूहमा छन् । आफूले पार्टीकै सहमति र परिस्थिति हेरेर उनीहरुलाई सदस्यमा नियुक्त गरेको क्याम्पस प्रमुख डाक्टर कोइरालाले बताए । ‘मेरै सिफारिसमा व्यवस्थापन समितिमा उहाँहरु चयन हुनुभएको हो, वर्तमान राजनीतिक सन्तुलन विचार गर्ने क्याम्पस चिफकै कुरा हो सबैसँग कुरा गरेर, तत्कालीन परिस्थितिलाई हेरेर नै मैले उहाँहरुलाई सिफारिस गरेको हुँ’, क्याम्पस प्रमुख कोइरालाले टेलिफोनमा ढोरपाटनसँग भने, ‘म बाहिरको राजनीतिक कुरा जान्दिन यहाँ आउँदा उहाँहरुले राजनीतिको जुत्ता फुकाल्नुपर्छ । यो पवित्र मन्दिर हो, भोट हाल्ने आस्था जोसँग पनि हुन्छ ।’
तर, कात्तिकमा गरेको सिफारिस उनकै लागि समेत अहिले घाँडो बनेको छ । किनकि, सत्तामा रहेको ओली नेतृत्वको नेकपाले धनराज र बखानसिंहको नियुक्ती भएसँगै आपत्ति जनाउन थालिसकेको छ । एकअर्कालाई हदैसम्म निषेध गर्ने अवस्थामा पुगेको नेकपा विवादको झिल्कोले क्याम्पस प्रमुखलाई पोल्ने निश्चित जस्तो देखिएको छ ।
विद्यार्थी राजनीतिको अखडा बनेको पिएनमा नेकपाको प्रचण्ड–नेपाल पक्षका २ जना व्यवस्थापन समितिमा आएपछि ओलीले नेतृत्व गरेको नेकपा पक्षले आपत्ति जनाएको क्याम्पस प्रमुख स्वयंले संकेत पनि गरे । तपाईंलाई काम गर्न गाह्रो होला नि भन्ने प्रश्नमा उनले भने, ‘मलाई काम गर्न गाह्रो बनाएका छन्, बनाइरहेका छन्, म पनि धेरै दिन टिक्दिन होला, इमान्दिरता पूर्वक संस्थाको हितमा काम गर्छु, नसकेको दिनमा छाडिदिन्छु । मलाई गाह्रो भोलि बनाउलान् भन्ने हो, तपाईंले सोधेको प्रश्न अन्यत्रबाटपनि आएको छ ।’
हरेक आन्दोनलमा अगाडि हुने पृथ्वीनारायण क्याम्पसबाटै पोखरामा पहिलोपटक प्रधानमन्त्री ओलीबाट भएको संसद विघटनको विरोध थालिएको थियो । त्यो आन्दोलनको नेतृत्व अहिले प्रचण्ड–नेपालले नेतृत्व गरेको अनेरास्ववियूका क्षितिज सापकोटा, राजन शर्मालगायतले गरेका थिए । उनीहरु अहिले पनि आन्दोलनमै छन् । अखिल जन्माउने कारखाना मानिएको पिएनबाटै प्रधानमन्त्री ओलीको विरोध हुनु तथा ओलीनिकट अखिल भन्दा प्रचण्ड–माधव समूह आक्रामक र चुस्त हुनुले पनि ओलीले नेतृत्व गरेको नेकपा पंक्तिलाई झस्काएको छ । यस्तोमा झन व्यवस्थापन समितिमै अर्को पक्षका धनराज र बखान पुगेपछि आफ्नो शक्ति खस्कने हो कि भन्ने त्रासमा ओलीपक्ष रहेको छ । धनराज पिएन बुझेका र विद्यार्थी खेलाएका नेता हुन्भने बखान जनयुद्धकालीन नेताहुन् ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->