बेनी, २१ पुस– उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा निर्माणाधीन अवस्थामा रहेको २२० केभी क्षमताको दाना–खुर्कोट सबस्टेशन र प्रसारण लाइन निर्माणकार्य सकिएको छ।कालीगण्डकी करिडोरअन्तर्गत दाना र पर्वतको खुर्कोटमा दुई सबस्टेसन तथा बीचमा ११० टावर बनाएर ३९.६ किलोमिटर तार तान्ने काम सकिएको छ भने मेसिन परीक्षणको काम भइरहेको आयोजनाका सहायक प्रबन्धक लक्ष्मण फुँयालले बताए । ‘विदेशी इन्जिनियरहरूको टोली खटिएको छ’, उनले भने,‘एकहप्तामा सम्पूर्ण काम सकिन्छ ।’निर्माण सम्पन्न भएपछि सामान्य मर्मत तथा केही बाँकी काम सक्न एकसाता लाग्ने सहायक प्रबन्धक फुँयालको भनाई छ ।
आन्तरीक परीक्षणलगत्तै व्यावसायिक काम सुरु हुने जनाउँदै उनले भने,‘केही आयोजनाको उत्पादन राष्ट्रिय प्रशारण लाइनमा जोडिन्छ ।’ उपकरण जडान र निर्माणसकिएपछि अन्तिम पटक सबै मेसिनको परीक्षण थालिएको छ । परीक्षणपछि विद्युत आपूर्तिको काम नियमित हुने आयोजनाले जनाएको छ । ‘सबस्टेशन चार्ज र परीक्षणको तयारीका लागि कार्यतालिका बनाउँदैछौँ’, आयोजनाका प्रमुख चन्दनकुमार घोषले भने । उनले आयोजनाको कार्यतालिका, स्थानीय र समुदायस्तरमा देखिएका विवाद समाधानसँगै आयोजनाको काम सकिएको बताए । आयोजना निर्माणमा तीन अर्ब खर्च भएको प्रमुख घोषले बताए ।उनका अनुसार एशियाली विकास बैंकको सहयोगमा नेपाल विद्युत् प्राधिकरणले सन् २०१६ देखि सुरु गरेको आयोजना सन् २०१८ मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।
सन् २०१६ मा रु दुई अर्ब ९० करोडमा टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीसँग ठेक्का सम्झौता भएपनि आयोजना प्रभावित क्षेत्रमा देखिएको विवाद समाधानले निर्माणकार्यमा गति लिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए । टावर बिस्तारमा स्थानीयको अवरोधलाई जिल्ला प्रशासन कार्यालयको अगुवाईमा समाधान गरिएको प्रजिअ अधिकारीले बताए । आयोजना प्रभावित क्षेत्रमा लामो समय स्थानीयको अवरोधभएको थियो । सबस्टेशनको निर्माणसँगै उत्तरी क्षेत्रमा थप विद्युत आयोजना भित्रिने गाउँपालिका अध्यक्ष डमबहादुर पुनले बताए ।‘विद्युतको हब भएकाले अब लगानीकर्ता आकर्षित हुन्छन्’, अध्यक्ष पुनले भने,‘स्थानीयस्तरमा आवश्यकता अनुसारको सहयोग गर्न प्रतिबद्ध छौँ ।’यो प्रसारण लाइनअन्तर्गत १३ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाले उत्पादन सुरु गरिसकेको छ भने म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ५ मेगावाटको घलेम्दीखोला तयारी अवस्थामै छ भने ४२ मेगावाटको मिस्त्री खोलाले केही महिनाभित्रै व्यावसायीक उत्पादन गर्ने तयारीमा छ । उत्तरी क्षेत्रमा १४ मेगावाटको घारखोला, ६२ मेगावाटको निलगिरी, ३८ मेगावाटको निलगिरी क्यास्केट निर्माणाधीन अवस्थामा छन् । त्यस्तै, रघुगंगा गाउँपालिकामा ४० मेगावाटको राहुघाटले समेत निर्माण कार्यले तिब्रता पाएको छ । अन्नपूर्ण गाउँपालिकामै १६४ मेगावाटको कालीगण्डकी गर्ज लगायतका आयोजनाहरु समेत छन् । कालीगण्डकी र यहाँका सहायक खोलानालाबाट विद्युत् उत्पादनको अनुमति लिएर बसेकाहरु प्रसारण लाइन सम्पन्न हुन थालेपछि पूर्वाधार निर्माणमा जुट्न थालेका छन् । म्याग्दी, कालिगण्डकी र रघुगंगा नदीबाट विद्युत उत्पादन गर्ने दर्जनौ आयोजनाहरुले लाइसेन्स होल्ड गरेर बसेका छन् ।
२२० केभी क्षमताको दाना–खुर्कोट सबस्टेशन । तस्वीर ः ढोरपाटन





