बागलुङ, २१ पुस– खोला बगेको पानीमा बाँसको चपेरोले बनाएको पँधेरो । सबेरै पानी लिन पुगेका पँर्धेनीहरु बिहान ढल्केपछि घर आइपुग्थे । पालो कुर्नुपर्ने, गाग्री भरिन पनि समय लाग्ने पँधेरोबाट फर्किँदा घरमा भएका बूढापाका ढिलो भयो भनेर कराउँथे । बालबच्चालाई विद्यालय पठाउन अवेला भैसकेको हुने, उमेरकालाई काममा जाने हतारो ।
बागलुङ नगरपालिका–१४ नारायणस्थानका महिलाई केही वर्ष पहिलासम्म यस्तै समस्या थियो । खानेपानीका मुहानको अभाव रहेको नारायणस्थानले लामो समय पानीको समस्या भोग्यो । बढ्दो जनसंख्या र बसाइँसराइँसमेत बस्ती विकास भैरहेको नारायणस्थानमा अब भने खानेपानीको समस्याका कारण पुराना पुस्ताले भोगेको समस्या कथा जस्तै हुनेछन् ।
नारायणस्थानकी तिलकुमारी बराइलीले पानी भर्न पँधेरो पुगेर फर्किँदा सासुले ढिला गरेको भन्दै झपारेको अहिले पनि सम्झन्छिन् । ‘बाटो हिँड्नेले खाने पानी पाउँदैनथे, लाइन बसेर ल्याएको पानी सकैलाई दिनपनि नसकिने’, उनले भनिन्–‘पानीकै लागि धेरै समय बिताइयो ।’ अहिले नारायणस्थानका घरघरमा पानीका धारा पुगेका छन् । खोलाको पँधेरा पुग्नुपर्ने बाध्यता केही वर्ष पहिला हटेको नारायणस्थानमा अहिले घर–घरमा आफ्नै धारा छन् । भान्छाकोठा र गोठमा समेत आवश्यकता अनुसार धाराबाटै पानी खसाल्न सक्छन् ।
स–साना नातीनातीनालाई पहिलेको पानीका दुःख सुनाउँदा अचम्म मान्ने गरेको उनले सुनाइन् । नारायणस्थनामा बागलुङ नगरपालिका–१३ पैञ्युपाटाको धारापानी, वडा नं. १२ अमलाचौरको धापेखोलाबाट केहीवर्ष पहिला पानी आएको हो । दर्जन घरको एउटा सामुदायिक धारोबाट पानी खान्थे, उनीहरु । अहिले कालीगण्डकी किनारको पानी बिजुलीले तानेर नारायणस्थानको शीरमा पु¥याइएको छ ।
जिल्लामा अहिलेसम्म बनेको सबैभन्दा ठुलो लिफ्टीङ प्रविधिको आयोजना हो, नारायणस्थान खानेपानी संस्थाले सम्पन्न गरेको आयोजना । प्रतिसेकेण्ड आठ लिटर पानी दिनमा आठ घण्टा तानेर नारायणस्थानका घरघरमा चौबीसै घण्टा पानी पु¥याइएको खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष चक्रबहादुर खत्री बताउँछन् । ‘पहिले प्रतिसकेण्ड ६ लिटर पानि थियो, अहिले १४ लिटरभन्दा माथि हुन्छ’, खत्रीले भने ‘आठ घण्टा मात्रै कालीगण्डकी किनारको पानी तान्दा सबैधारामा दिनभर पानी बाँड्न पुग्छ ।’
नारायणस्थानका ७ सय ९७ घरमा घर घरमै धारा पुगेका छन् । ६० घर परिवारले अहिले पनि सामुदायिक धाराको पानी खान्छन् । ‘लागेको हिसाब दिनुप¥यो, पानी जतिपनि छ’, तिलकुमारी भन्छिन् ‘पहिले खानेपानी हुने थिएन्, अहिले तरकारी लगाउन पनि पुगेको छ ।’ खानेपानी संस्थाको पानीको धारा जोड्न १५ हजार रुपैयाँ लाग्छ । विपन्न परिवारका लागि पाँच हजारमा घर घरमा धारा जोड्ने व्यवस्था रहेको खत्रीले बताए ।
घरघरमा धारा पुगेपछि अहिले स्थानीयको दैनिकी फेरीएको छ । सुख्खा बाटोका डल्ला पल्टिने नारायणस्थानमा लहलह तरकारी फल्न थालेको वडा सदस्य नारायण प्रसाद श्रेष्ठले बताए । बटुवाले पानी नपाउने ठाउँ भनेर चिनिने नारायणस्थानमा अहिले सामुदायिक धारामा बटुवाले नुहाउनसमेत पुग्नेगरी पानी रहेको उनले बताए ।
नारायणस्थानमा भैरहेको बस्ती विकासलाईसमेत ध्यान राखेर नारायणस्थानमा पानीको प्रबन्ध भएको छ । ‘कालीगण्डकी किनारका मुहान संकलन गरेर ल्याइएको पानी हामीले चौबीसै घण्टा तान्न सक्छौं, जनसंख्या र बस्ती बढेमा अझै पचास वर्षलाई पानीको समस्या हुन्न’, वडाध्यक्षसमेत रहेका खत्रीले भने । नेपाल सरकारको सहलगानी कार्यक्रमअन्तर्गत दश करोडको लागतमा यो परियोजना बनेको हो । पयिोजनामा ८० प्रतिशत नेपाल सरकार र २० प्रतिशत उपभोक्ता समितिमार्फत् बागलुङ नगरपालिकाको लगानी रहेको छ ।





