पोखरा, २१ पुस– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक प्रक्रिया अन्तर्गत प्रतिनिधिसभा विघटन गरेको बताएका छन् । मंगलबार प्रदेशसभाको विशेष अधिवेशनमा बोल्दै उनले लोकतन्त्रमा संकट आयो भने जनतामा जाने पद्धति रहेको बताउँदै पार्टीभित्रै पदको सौदावाजी गर्न नहुने उल्लेख गरे । सांसद खरिद बिक्री गरेर फेरि अर्को सरकार बनाउने फोहोरी खेल खेल्नुभन्दा जनतामा जानु राम्रो रहेको उनको भनाई छ ।
प्रदेशसभामा बोल्ने प्रतिपक्षी सांसदहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको बताएपछि उनले विगतदेखि नै पार्टीभित्रका नेताहरुको तँ तँ र म म का कारण बहुमत पाएका प्रधानमन्त्रीहरुले काम गर्न नपाएको उल्लेख गरे । २०४८ साल, २०५१ सालतिर सरकारमा घटेका घटनाजस्तै अहिले नेकपामा पनि घटना घटेको उनको भनाई थियो ।
यसैबिच गण्डकी प्रदेशसभामा विशेष अधिवेशन सुरु भएको छ । प्रतिपक्षी दल काँग्रेस र जनता समाजवादी पार्टीका १७ सांसदहरुको मागका आधारमा विशेष अधिवेशन बैठक सुरु भएको हो । गत मंसिर ३० गते विशेष अधिवेशनको माग गर्दै प्रतिपक्षी दलले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए सोही आधारमा प्रदेश प्रमुखले विशेष अधिवेशन आह्वान गरेका थिए ।
संविधानको धारा १ सय ८३ को उपधारा ३ मा प्रदेशसभाको बैठक चालू नभएको अवस्थामा सम्पूर्ण सदस्यको एकचौथाई सदस्यले विशेष अधिवेशन बोलाउन सक्ने ब्यवस्था गरिएको छ । एक चौथाई प्रदेशसभा सदस्यहरुमो मागका आधारमा गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले मंगलबार दिउसो १ बजे प्रदेशसभाको विशेष अधिवेशन बोलाएका हुन् ।





