पोखरा, २२ पुस– गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले प्रतिनिधिसभा पुनःस्थापना हुन नसक्ने बताएका छन् । गण्डकीको मंगलबार सुरु भएको विशेष अधिवेशनमा सभासदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री गुरुङले अहिलेको विघटन यसअघिका विघटकै श्रृंखला भएको जिकिर गरे । उनले संसदीय प्रणालीमा प्रधानमन्त्रीलाई महत्वपूर्ण अधिकार हुने दावी पनि गरे ।
‘म लेनदेनमा फस्दिनँ, सौदाबाजीमा गर्दिनँ भनेर प्रधानमन्त्रीले जनतामा जाने भन्नुभयो’, उनले भने, ‘संसदीय फोहोरी खेल खेल्नुभन्दा जनताको बीचमा जानु लोकतान्त्रिक भन्छु मैले, यही परिस्थितिमा प्रतिनिधि सभा भंग भएको छ ।’प्रतिनिधिसभा भंग गरेर जनताको बीचमा जाने कुरा झनै लोकतान्त्रिक भएको उनले उल्लेख गरे । ‘अलोकतान्त्रिक यसकारण होइन कि, चुनाव लोकतान्त्रिक पार्टीका लागि जनताका बीचमा जाने र गल्तीको माफी माग्दै आगामी दिनका लागि प्रतिवद्धता जाहेर गर्ने ढोका प्रधानमन्त्रीलाई मात्र होइन, सबैलाई खुलेको छ’, उनले भने ।
निर्वाचनले एउटा सिट पनि ल्याउन नसकेका दललाई पनि सिट ल्याउने अवसर पाएको भन्दै उनले भने, ‘एउटा पदको खोजीमा जहिले पनि सरकारलाई अप्ठ्यारो पार्ने व्यक्तिहरू ठीक हुन् कि प्रधानमन्त्री ठीक हुन् त्यो फैसला जनताले गर्ने हो, पार्टीले गर्ने स्थिति रहेन ।’
निर्वाचनले प्रतिपक्ष दललाई बहुमत ल्याउने बाटो खेलेको उनले बताए। ‘प्रतिपक्षमा रहेका दलहरूले हिजो किन बहुमत प्राप्त गरेन’, उनले भने, ‘अब तिनलाई पनि बहुमत प्राप्त गर्ने बाटो खुल्यो ।’उनले संसदमा ४६ प्रतिशत मतले प्रधानमन्त्री भएको व्यक्तिले काम गर्न नपाएर प्रतिनिधिसभा विघटन गर्नुपरेको भन्दै उनले बाँकी रहेका ३६ प्रतिशतले सरकार बनाउने सम्भावना नरहेको दाबी गरे । उनले आफ्नो चाहना प्रतिनिधिसभा विघटन नहोस् भन्ने रहेको पनि बताए । संसद विघटन भइसक्दासम्म नेकपा विभाजन भइनसकेको भन्दै उनले अझै मान्यता पाइनसकेको बताए ।
‘केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउछु भन्ने मान्छेले त्यो मान्छे कसरी प्रधानमन्त्री बन्न सक्छ ?’ मुख्यमन्त्री गुरूङले भने, ‘प्रचण्ड प्रधानमन्त्री बन्छ भन्ने ग्यारेण्टी के छ ?’
प्रदेशसभाको विशेष अधिवेशनमा बोल्दै कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले जनताका साझा मुद्दाहरुलाई साझा संकल्पका रुपमा अगाडि बढाउन आग्रह गरे । नेपालीले प्रधानमन्त्रीले अस्वभाविक, अलोकतान्त्रिक, जनताको भावना, संविधानको मूल्यमान्यता र अक्षरको विपरीत प्रतिनिधिसभा विघटन गरेको उनले बताए । संविधानले नदिएको कुरा प्रधानमन्त्रीले प्रयोग गरेको भन्दै नेपालीले सर्वोच्चले लोकतन्त्र र संविधानको पक्षमा निर्णय दिनेमा आफूहरू ढुक्क रहेको उनको भनाई थियो । संघीय सरकारमा भइरहेको घटना प्रदेशमा हुन नहुनेमा उनले जोड दिए ।‘अब हाम्रो २ वर्ष अवधि छ, केन्द्रको नजिर मानेर त्यस्तो कदम प्रदेशमा चालिने छैन’, उनले भने, ‘त्यो रोगबाट प्रदेशमुक्त हुनुपर्छ ।’कोरोनाको उपचारमा जिल्ला जिल्लामा सर्वपक्षीय अनुमगन गर्ने र कमजोरी सच्याउने भने पनि आफूहरूको प्रस्ताव सरकारले नमानेको उनको भनाइ थियो ।
बैठकमा बोल्दै राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले पनि प्रधानमन्त्रीको कदमको विरोध गरे । ‘हिजो राजा ज्ञानेन्द्रले प्रतिगमन गरे, हामीले त्यसको विरोध गर्नुप¥यो, हिजो गिरिजाले संसद विघटन गर्नुभयो, मनमोहनजीले गर्नुभयो’,उनले भने, ‘अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गर्नुभयो, यो राम्रो काम होइन ।’ प्रधानमन्त्री ओलीले चालेको कदम सच्चिनुपर्ने उनले बताए ।
‘यो प्रतिगमन सच्चिनुपर्छ, निर्वाचित जनप्रतिनिधि विघटित हुनु हुँदैन’, उनले भने, ‘राणा, पञ्चायतजस्ता निरंकुशताहरू हामीले माटोमा मिलाएका छौं, जुन हेक्का राख्नुपर्छ ।’ थापाले दुई तिहाइ जनमत ल्याएको पार्टीले ५ वर्ष सरकार चलाउन नसकेको भन्दै ‘अभागीलाई खाने बेलामा रिस उठ्छ’ भन्ने उखान चरितार्थ भएको बताए ।
प्रदेशसभाको विशेष अधिवेशन बोलाउने अर्को दल जनता समाजवादी पार्टी गण्डकीका संसदीय दलका नेता हरिशरण आचार्यले ४ वटा विषयमा छलफल गर्न अधिवेशन बोलाएको बताए ।
उनका अनुसार, कोरोना भाइरसको महामारी, कोरोनाले थिचिएको अर्थतन्त्र, बेरोजगारी र बढ्दो महँगीका विषयमा छलफल गर्न प्रदेश सभाको विशेष अधिवेशन बोलाइएको हो । बैठकमा बोल्दै जनता समाजवादीका नेता आचार्यले राजावादी सल्बलाएर हिँडेको बेला प्रधानमन्त्रीले चालेको संसद विघटनको कदमबीच तादत्म्य हुन सक्ने आशंका गरे। ‘देशलाई अस्थिरतातिर लैजाने को हुन् ?,’ उनले भने, ‘प्रमाण जनताको बीचमा ताजा छ ।’





