पोखरा, २३ पुस– गण्डकी प्रदेशको विशेष अधिवेशनमा सबै दलहरु साझा संकल्प प्रस्ताव ल्याउन सहमत भए । मंगलबार बिहान बसेको कार्यव्यवस्था समितिको बैठकमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले तयार गरेको १३ बुँदे मागलाई साझा संकल्प प्रस्ताव र विशेष प्रस्तावबनाउन सहमति जुटेसँगै सदन सुरु भयो । सदनमा बोल्ने ४ दलका नेताहरुले संकल्प प्रस्तावबारे कम र संघीय संसद विघटनबारे ज्यादा बोले ।
साझा एजेण्डा बनाउन बुधबार कार्यव्यवस्था समितिको बैठक बस्यो । बैठकमा नेपाली कांग्रेसले र जनता समाजवादी पार्टीले तयार पारेको १३ बुँदे माग पत्रबारे सहमति खोज्ने प्रयत्न गरियो । बैठकमा सहभागि नेपाली कांग्रेसका मुख्यसचेतक मणिभद्र शर्मा कँडेलका अनुसार दुई पार्टीले अघि सारेकामध्ये ९ वटा विषयलाई साझा प्रस्तावब नाउने सहमति बन्यो ।
बाँकी ४ वटा बुँदामा भने सहमति बन्न सकेन । उनका अनुसार जिल्लास्तरमा पीसीआर परीक्षण गर्नुपर्ने, नयाँ किसिमको कोभिड नियन्त्रणको तयारी, स्वास्थ्य क्षेत्रमा रहेका रिक्त पदपूर्ति र नयाँ दरबन्दी सृजना गर्ने र अस्पतालको पूर्वाधार एवं अक्सिजन प्लाण्ट बनाउने विषयमा सहमति जुटेन । सरकारी अस्पतालमा कोभिडको उपचार राम्रो नभएको अवस्थामा निजी अस्पतालमा उपचार गर्दा त्यसको भुक्तानी सरकारले गर्ने विषयमा सहमति नजुटेको उनले जनाए । सत्ता पक्षले यी विषयहरुमा आज मात्र निर्णय गर्ने जनाएको छ ।
‘बैठकमा उहाँहरुले असहमति त जनाउनु भएन तर पार्टीमा छलफल गर्छौँ भन्नुभयो, खासगरी कोभिडको परीक्षण बढाउने र निजी अस्पतालमा कोरोनाको उपचार गरेको खर्च सरकारले व्यहोर्नुपर्ने मागमा उहाँहरुले किन चाहियो भन्नुभयो’, मुख्य सचेतक शर्माले भने, ‘उहाँहरुले हाम्रा सामान्य मागहरुमा पनि सहमति जनाउनु भएन भने यी प्रस्तावहरु नेपाली कांग्रेस र जसपाकै तर्फबाट जान सक्छ , सहमति भयो भने चाहिँ साझा बन्छ ।’





