शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३
  • २६ भाद्र २०८३ , शुक्रबार
  • September 11 2026

जनता आवास कार्यक्रम : हिउँद सकिने भो, घर बनाउने पैसा आएन

जनता आवास कार्यक्रम : हिउँद सकिने भो, घर बनाउने पैसा आएन

ताराखोलाको बिक र जैमिनीका मियाँ परिवारको जस्तै जिल्लामा धेरैको समस्या हो जनता आवास कार्यक्रम सम्झौतापछि प्रक्रिया अनुसारको भुक्तानी नपाउने ।


  • ढोरपाटन संवाददाता
  • पुष २३ २०७७, बिहिबार

बागलुङ, २३ पुस– पुसको चिसो, पालमुनीको बास ! परिवारमा रहेका तीन जना कपडामा बेरिएर रात काट्छन् । माटोको मक्कल, खरको छाना जनतन दैनिकी चलेकै थियो, भएको घरपनि टिनको छाना फेर्ने आशाले हिउँद लाग्दा नलाग्दै भत्काईयो ।
बागलुङको ताराखोला गाउँपालिका–१ माझखर्कका हिरा बहादुर बिकको परिवार यतिबेला बिचल्लीमा छ । पक्कि घर पाउने आशामा भएको घरसमेत भत्काएर हिउँद लाग्नासाथ पालमुनी सरेका बिक परिवार अहिले छट्पटीमा छन् । बागलुङमा सञ्चालित जनता आवास कार्यक्रमले उनको घर बनाईदिने भनेको थियो । घर बनाउने सम्झौता गरेर प्रभु बैंकमा खाता खोलेका बिकले आउँदो बर्खा नलाग्दै नयाँ घर बनाउने योजना थिए ।
बागलुङमा रहेको पूर्वाधार विकास कार्यालयसँग सम्झौता गरेका बिक परिवारको घरको अहिलेसम्म लगत स्टमेट भएको छैन् । पहिलो किस्ताको रकम पाउनका लागि तत्काल पुरानो घर भत्काएर जग बसाल्नुपर्ने भनेपछि उनले भएको घर भत्काएका थिए । तर अहिले नत गाउँपालिकाका प्राविधिक उनको घर पुगेर स्टमेट गरिदिन्छन् नत कार्यालयका प्राविधिक । घर बनाउने योजनामा रहेको बिक परिवारले कार्यक्रमले दिने पहिलो किस्ताको रकम नै पाएको छैन । अनुदान ल्याएर बर्खाअघिनै घर बनाउने योजनामा रहेको बिक परिवार हिउँदको चिसो र बर्खाको पानीमा पालमुनीकै बास हुने पक्का भएको छ ।
माझखर्ककै भिम बहादुर बिकको पनि अवस्था उस्तै छ । जनता आवासको घर बनाउने भनेर सूचिकृत भएका बिकले पनि पहिलो किस्ताको रकमसमेत पाएका छैनन् । ‘कहिले वडा कार्यालय, कहिले गाउँपालिकाको कार्यालय धाएको धेरै भयो, हाम्रो घरको स्टमेट नै भएन’ बिकले भने ‘यही हिउँदमा घर बनाईसक्ने भनेको हिउँद सकिने भो तर घर बन्ने भएनन् ।’
जनता आवास कार्यक्रमबाट घर बनाएका जैमिनी नगरपालिका–१ कुश्मीशेराका मुक्तारुन मियाँको पनि व्यथा उस्तै छ । स्टमेट अनुसारको सबै काम सकेर कार्यालयमा पुगेका मियाँले दोस्रो किस्ताको रकम मात्रै पाए । घरको सबै संरचना बनेको भएपनि उनले अन्तिम किस्ताको रकम अझै पाएकी छैनन् । ताराखोलाको बिक परिवार र जैमिनीका मियाँ परिवारको जस्तै जिल्लामा धेरैको समस्या हो जनता आवास कार्यक्रम सम्झौतापछि प्रक्रिया अनुसारको भुक्तानी नपाउने ।
बागलुङमा आर्थिक वर्ष २०७६÷०७७ मा २ सय घर निर्माण गर्ने योजना थियो । जसमध्ये १९० घरसँग सम्झौता भैसकेको छ । अघिल्लो आवको कार्यक्रमबाट जिम्मेबारी सरेर आएका ११ घरसमेत निर्माण गर्नुपर्ने छ । संघीय सरकारले सञ्चालन गरिरहेको यो कार्यक्रम चालु आवमा प्रदेश सरकारले सञ्चालन गर्ने भनिएको छ ।
कार्यालयका अनुसार, संघीय सरकारले पठाएको अनुदानमा प्रदेश सरकारले कार्यक्रम कार्यान्वयन गरिरहेको छ । सम्झौता भएका घरलाई अनुदानबापत पाउने रकम उपलव्ध गराउन विनियोजनका कारण समस्या रहेको कार्यालय प्रमुख शोभियत खड्काले बताए । ‘यो वर्षका लागि मात्रै सबै घरले किस्ताको रकम पाउन ४ करोड रुपैयाँ चाहिन्छ तर हामीलाई अख्तियारी ६९ लाखको मात्रै आयो’ खड्काले भने त्यहि रकम बाँडेर बनिसकेर छाना हाल्न बाँकी घरलाई प्राथमिकतामा राख्यौं, बाँकी प्रक्रियामै छन् ।’
तालुक निकायलाई पटक–पटक बजेट माग गरेको भएपनि अख्तियारी नआउँदा समस्या भएको उनले सुनाए । ‘समस्या एकदुई घरको होईन सबैलाई मार परेको छ’ खड्का भन्छन् ‘हामीले रोकेको होईन, मााथिबाटै आएको छैन ।’ अहिले निर्माण चलिरहेका घरहरु सम्पन्न गर्न झण्डै ११ करोड खर्च हुन्छ । चालु वर्षका लागि मात्रै आवश्यक हुने रकमसमेत नआउँदा समस्या भएको उनको गुनासो थियो ।
कार्यक्रमअन्र्तगत लाभग्राहीलाई ३ लाख ३२ हजार पाँच सय रुपैयाँ चार किस्तामा भुक्तानी गरिन्छ । घर निर्माणका विभिन्न चरण पुरा गरेपछि पहिलो किस्तामा ८३ हजार १ सय २५ रुपैयाँ, दोस्रो किस्तामा ९९ हजार ७ सय ५० रुपैयाँ, तेस्रो किस्तामा १ लाख १६ हजार ३ सय ७५ रुपैयाँ र चौथो किस्तामा ३३ हजार २ सय ५० रुपैयाँ भुक्तानी हुने गरेको छ ।
बागलुङमा जनता आवास कार्यक्रम २०७३÷०७४ बाट सुरु भएको हो । पहिलो चरणमा सम्झौता भएका ८३ घर र दोस्रो चरणमा सम्झौता भएका १ सय ७ घरमध्ये बाँकी सबै घर निर्माण सम्पन्न भएका छन् । गरिब, दलित, अल्पसंख्यक र विपन्नलाई घर दिने उद्देश्यले सरकारले सुरु गरेको कार्यक्रममार्फत जिल्लाभर १७९ घर निर्माण सम्पन्न भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->