बागलुङ, २३ पुस–पर्वत जिल्ला अस्पतालको छेउमा अन्दाजी ७० बर्षिय वृद्दा धेरै दिनदेखि बेवारिस अबस्थामा थिइन् । दैनिक सयौं मानिस त्यो बाटो हिड्थे । तर कसैले उनले खाए नखाएको वास्ता पनि गर्दैनथे । रातको समयमा निर्माणाधिन अस्पतालको एक स्टोर कोठामा बस्थिन । अस्पतालका केही कर्मचारीले खान पनिदिएका थिए । तर उनी को हुन्, किन यति लामो समय देखि अलपत्र छिन् भन्ने कसैले बुझेनन् । न त उनको दिगो पुनस्थापनाकालागि कसैले पहल गरे ।
मानव सेवा आश्रमले पुसको ७ गतेदेखि देशब्यापी अभियान चलाएको छ । मेचीमहाकाली अभियान भन्दै देशभर सडक मानव रहित बनाउने अभियान गरेपछि यो अभियान बारे बागलुङमा पनि कार्यक्रम हुने जानकारी भयो । उक्त कार्यक्रमकालागि आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी सहित ४० जनाको टोलीले देशभ्रमण गरिरहेको छ ।
मानवसेवा आश्रम बागलुङले पनि बुधवार खर्च सार्वजनिकीकरण र अभियानको जानकारी दिने कार्यक्रम बनाएको थियो । कार्यक्रम चलिरहेकै बेला कुश्मा स्थित व्यवसायिक तथा सिप बिकास तालिम केन्द्रमा कार्यरत बिना शर्मा बरालले फोन गरेर बुढी आमाको बारेमा सूचना दिइन् । त्यतिबेला पनि ती वृद्धा अलपत्र अबस्थामा थिइन् । उनको सहारा दिने कोही थिएन । उक्त सूचना पाए लगत्तै बागलुङका प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले पर्वतका प्रहरी नायव उपरिक्षकलाई फोन गरेर अस्पताल गेटमा रहेकी महिलालाई उद्दार टोली नआउन्जेल अस्पताल परिसरमै राख्न आग्रह गराए ।
बागलुङ स्थित आश्रमको काम सकेर टोली पर्वत प्रस्थान ग¥यो । दिउसो ४ बजे अस्पतालमा पुग्दा ती वृद्धा भुइमा लुटपुटींदै थिइन् । अधिकारी सहितको टोलीले उनलाई भेटेर आमा भनेर बोलाए । उनले बोलिन र भोक लागेको बताइन् । आश्रमका सदस्यहरुले तत्काल खानेकुरा ल्याएर खुवाए । यो अभियानमा शिव खड्का, सुवास केसी, सुनिता श्रेष्ठ, राजेश पौडेल लगायतको टोली सक्रिय थिए । आश्रमकै स्वास्थ्यकर्मीको टोलीले वृद्धाको सामान्य स्वास्थ्य परीक्षण गरे । त्यसपछि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोबिन्द पहाडीलाई खवर गरे । चिसोले उनका हातखुट्टा सुनिएका थिए । उठेर सहजै हिड्न सक्दीनन् । पहाडी एकैछिनमा आए । उनको रोहबरमा आश्रमका टोलीले वृद्दालाई बागलुङ ल्याएका छन् ।
वृद्दा धेरै दिनदेखि पानी, खानेकुरा लगायतको भोको भएको जस्तो देखिएको अधिकारीले बताए । अस्पतालका कर्मचारीले खान दिएको बताएपनि वृद्दाले भोको हुँदा देखाएको व्यवहारले पनि प्रष्ट भएको उद्दार टोलीले बताए । उनलाई आश्रममा ल्याएर सरसफाई र न्यानो कपडा लगाइदिएको संचालिका सुमिरा लामाले जानकारी दिइन् । आश्रममा राखेर उनलाई सामाजिक मनोबिमर्स समेत गराइनेछ । उनले अहिले सम्म नाम, घरठेगाना समेत बताएकी छैनन् । मनोबिमर्सबाट जानकारीमा आएपनि नआएपनि आश्रमले संरक्षण दिएर राख्ने योजना बनाएको छ । बागलुङ स्थित आश्रममा अहिले पनि ४२ जना सहयोगापेक्षीहरु छन् । बुधवार मात्रै बागलुङबाट ४ जना र पर्वतबाट ती महिला समेत गरी ५ जनाको उद्दार भएको हो । देशभरको अभिायनमा भने झण्डै डेढसय जनाको उद्दार भैसकेको अधिकारीले जानकारी दिए ।
आगामी २०७८ सालको अन्तिम समय सम्म नेपाललाईनै सडक मानवरहित बनाएर सभ्य देशको परिचय दिने अभियानमा आश्रमले अगुवाई गरेको अधिकारीको भनाइ छ । बुधवार बागलुङमा आयोजित एक कार्यक्रममा उनले देशलाई सभ्य बनाएर अन्तराष्ट्रिय रुपमा समेत चिनाउने योजना सुनाएका थिए । ‘विश्वका धेरै अभियानहरु अन्य देशबाट सुरु भए, तर मानवीयताको अभियान हामीले सुरु गरेर संसारलाई देखाउन किन नसक्ने ?’ अधिकारीले भने, ‘यो अभिायना हरेक नागरिकले आफ्नो क्षेत्रमा साथ दिनुपर्छ ।’ ४ बर्ष अघि बागलुङमा अधिकारीकै उपस्थितिमा आश्रम स्थापना भएको थियो । त्यतिबेला बागलुङको सडकमा पनि धेरे अलपत्र मानिस देखिन्थे । उनीहरु मध्ये कतिपयलाई संरक्षण गर्दा गर्दै परिवारको सम्पर्कमा पु¥याएर पारिवारिक पुर्नमिलन पनि गराइएको छ ।
चालु आर्थिक बर्षमा मात्रै आश्रमले ३० जनाको उद्दार गरेको रेकर्ड छ । ती मध्ये ४ जना पुर्नमिलन भएका छन् । एकजनाको मृत्यु भएको छ । ८ जनाले स्वेच्छिक रुपमा आश्रम छाडेका छन् भने एकजनालाई अर्कै आश्रममा स्थानान्तरण गरिएको हो । यो अभियानलाई बागलुङका प्रशासकहरु, सामाजिक अभियान्ता युवाहरु, रोक्ट्रयाक्ट क्लब लगायतका अन्य संघसंस्थालेपनि सघाएका छन् । आश्रममा रहेका सहयोगापेक्षी मानिसलाई जिल्लाका धेरै संघसंस्थाले आफ्नो स्थापना दिवशमा सहयोग गर्छन् । त्यस्तै कतिपयले जन्मदिनको खर्च आश्रममा ल्याएर सहयोग गराएका छन् ।
बुधवार आश्रममा आयोजित कार्यक्रममा मेचीमहाकाली यात्राका सदस्यलाई स्वागत गर्दै प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले आश्रमले सभ्यसमाज निर्माणमा सहयोग पुगेको बताए । उनले आश्रमको भवन निर्माण अभियानमा साथ दिने समेत जानकारी गराएका थिए । आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीको अध्यक्षता, होमनाथ तिमिल्सिनाको संचालन र सुमिरा लामाको संचालनमा सम्पन्न कार्यक्रममा पूर्व सांसद मनकुमारी केसी, प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठ, सिवाईसीका अध्यक्ष चण्डीप्रसाद शर्मा, पत्रकार महासंघका अध्यक्ष दिल शिरिष, अभियानकी सदस्य शुसिला शिरुपा लगायतले आश्रमको अभियानको सफलताको शुभकामना दिएका थिए । आश्रममा लेखानी समाज जापानले १ लाख ६९ हजार २ सय ५० रुपैयाँ सहयो गरेका थिए । महिला हित सहकारीले १० हजार रुपैयाँ दिएको थियो । सिवाइसीका अध्यक्ष शर्माले २५ हजार रुपैयाँको अक्षयकोष बनाएको घोषणा गरे ।





