पोखरा, २३ पुस– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड– माधव समूहका नेता तथा केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले प्रधानमन्त्री केपी ओलीले गलत नियतले संसद भंग गरेको जिकिर गरेका छन् । उनले केपीको कदमलाई पूर्वराजा ज्ञानेन्द्रको कदमसँग तुलना पनि गरेका छन् ।
‘जसरी पूर्वराजा ज्ञानेन्द्रले जनताको जनादेश खोसेर शासन सत्ता आफ्नो हातमा लिएर गल्ती गरे त्यस्तै गल्ती ओलीले गरेका छन्’ बिहीबार पोखरामा सो समूहको जनवर्गीय संगठनको लागि आयोजना गरिएीको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भने,‘ पार्टीले प्रधानमन्त्रीको राजीनामा मागेको पनि थिएन, प्रधानमन्त्रीको नियत ठिक छैन ।’
उनले पार्टीको तर्फबाट प्रधानमन्त्री ओलीलाई काम गर्न कतै नरोकिएको पनि जिकिर गरे । ‘पाँच वर्षको लागि प्रधानमन्त्री बन भनेर कागजमा लेखेर दिएकै थियो, संवैधानिक निकाय, राजदूत, मुख्यसचिव र मन्त्री नियुक्ति आफ्नै खल्तीबाट निकालेर गर्नुभएको थियो’, उनले भने,‘ यदि आफ्नै पार्टीबाट काम गर्न अप्ठेरो भएको भए, अर्को व्यक्ति प्रधानमन्त्रीको रूपमा अगाडि सार्न सकिन्थ्यो त्यसो किन गर्नुभएन ?’
प्रधानमन्त्री ओलीले संकटकाल घोषणा गर्न सक्ने आशंका भए पनि सो कदमलाई नेपाली सेना र जनताले साथ नदिने नेता भट्टराईको जिकिर थियो । ‘नेपाली सेना सधैँ सत्ताको पक्षमा हुँदैन, पूर्वराज ज्ञानेन्द्रका साथमा पनि सेना थिए तर गलत कदमको पछि सेना लाग्दैन’, उनले भने,‘नेपाली सेना जनताको पक्षमा नै हुन्छ ।’ उनले प्रधानमन्त्री ओली पूर्वराजा ज्ञानेन्द्र जत्ति बलियो पनि नभएको जिकिर गर्दै ओली तीन महिनामै गल्ने बताए ।
संसद पुनःस्थापना हुनेमा आफू ढुक्क भएको बताउँदै उनले अगाडि भने,‘ तीन महिनापछि ओलीको साथमा कुनै नेता बस्ने छैनन्, अहिले पदको लोभमा लागेका साथीहरूले केपीको साथ छाडिदिने छन् ।’ उनले प्रधानमन्त्री ओलीलाई परिस्थिति बुझेर बेलैमा घर फर्कन आग्रह पनि गरे ।
उनले पूर्वमहान्याधिवक्ताहरु र कानूनका ज्ञाताहरुले संसद विघटन असंवैधानिक हो भनेको प्रसंग झिक्दै संसद पुनःस्थापना भएरै छाड्ने बताउका हुन् । प्रधानमन्त्री ओली प्रतिक्रान्तिकारी र प्रतिगमनकारी भएको बताउँदै अगाडि भने,‘ ओलीले क्रान्तिमाथि कुठाराघात गरे, अग्रगमनमाथि, संघीय लोकतन्त्रमाथि कुठाराघात गरे, त्यसैले उनी प्रतिक्रान्तिका नायक हुन्, प्रतिगमनकारी हुन् ।’
उनले संसद् विघटनका विरुद्ध थालिएको शान्तिपूर्ण सडक आन्दोलन र कानूनी लडाइँमा फरक भएको बताए । उनले पार्टीका ४४१ केन्द्रीय सदस्यमध्ये मध्ये ३१५ जना प्रचण्ड–माधव समूहमा रहेकोले पनि आफूहरु आधिकारिक नेकपा भएको जिकिर गरे ।
कार्यक्रममा प्रचण्ड–माधव नेपाल समूह गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले आफूले काम गर्न पाइन भनेर बनावटी कुरा गरेको जिकिर गरे । ‘विपक्षीहरूले वाइडवडी, सेक्युरिटी मेसिन खरिद, ओम्नी काण्डका बारेमा कुरा उठाइएका थिए तर हामी मौन बस्याँै’, उनले भने,‘ अहिले बनावटी कुरा बनाएर काम गर्न नदिएको भन्दै हिँड्नु प्रधानमन्त्रीको महाभूल हो ।’ सो अवसरमा पार्टीका केन्द्रीय सदस्य चूडामणि जंगलीले पाँच वर्षका लागि प्रधानमन्त्री खानुहोस् भनेर लेखेर दिँदा समेत संसद् भंग गरेर ओलीले नेपाललाई सिरिया र अफगानिस्तान बनाउन खोजेको आरोप लगाए ।





