बेनी, २४ पुस– महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको त्रासका कारण बन्द भएको बेनी नगरपालिका–४, मा अवस्थित तातोपानी कुण्ड आगामी माघ १ गतेदेखि पूर्णरुपमा सञ्चालन हुने भएको छ । प्राकृतिक उपचार स्थल मानिएको कुण्डमा जनस्वास्थ्यको मापदण्डको प्रयोग गरी नियमित खोल्ने निर्णय भएको कुण्ड ब्यवस्थापन समितिले जनाएको छ । गत वर्षको चैत महिनादेखि बन्द भएको कुण्डको पोखरी लगायतका संरचनाको मर्मत तथा परीक्षण भइरहेको समितिका सह–सचिव कुमार केसीले बताए ।
कुण्डमा स्नान गर्ने बिरामीलाई समय तालिका निर्धारण गरिने, अनिवार्य मास्कको प्रयोग गर्ने, कोरोनासँग मिल्ने लक्षण भएकालाई कुण्डमा स्नानगर्न नदिइने, बाहिर सेनिटाइजरको प्रयोग तथा स्नान गर्ने समयसमेत छोटो बनाउने गरी तयारी भइरहेको कुण्ड ब्यवस्थापन समितिले जनाएको छ । विदेशका ठूला तथा महंगो अस्पतालमा प्याथोलोजी र आयुर्वेदिक उपचार पद्धतिबाट समेत रोक निको नभएपछि आजित भएर वर्षेनी ३० हजार भन्दा बढी बिरामी स्नानकालागि आउने गरेकाछन् । मुहानबाटै ४५ देखि ५० डिग्री सेल्सीयसको तापक्रममा निस्कने बिरेनुन स्वादको तातोपानी आउने गरेको छ । जमिन भित्रबाट बिरेनुनको गन्धमा निस्कने तातोपानीले नेपालभरीका विभिन्न रोगका बिरामीलाई आकर्षित गरेको छ ।
गन्धक आफैमा एक प्राकृतिक एन्टिवायोटिक भएको हुनाले कुण्डमा स्नान गर्दा एक व्यक्तिमा भएको रोग अर्को व्यक्तिमा सर्ने सम्भावना कमहुने भएपनि कोरोनाको जोखिमले मास्क अनिवार्य गरिएको छ । कुण्डमा ग्यास्ट्रिक, बाथरोग, ढाडदुख्ने, छाला, सुन्निएको, बज्ररिएको, मर्किएको, पेट दुख्ने, खाना रुचि नहुनेलगायतका स्वास्थ्य समस्या भएका बिरामीको चाप धेरै छ ।





