बागलुङ, २४ पुस– शहरको सुन्दरता र सुरक्षामा चुनौती भएको भन्दै बागलुङमा छाडा कुकुरको नियन्त्रण थालिएको छ । बन्ध्याकरण गरेर सडकमा देखिने छाडा कुकुर नियन्त्रणको प्रयास थालिएको हो ।
सारोकारवाला संस्थाहरुले बन्ध्याकरण गरेर छाडा कुकुरको संख्या घटाउने प्रयास थालेका हुन् । केन्द्रीय रिफरल अस्पताल काठमाण्डौ, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङ, बागलुङ नगरपालिकाको संयुक्त रुपमा बन्ध्याकरण अभियान थालेका हुन् । पहिलो चरणमा बिहिबार र शुक्रबार शिविर मार्फत कुकुरको बन्ध्याकरण गरिने पशु चिकित्सक जितबहादुर श्रेष्ठले जानकारी दिए ।
दुईदिनसम्म चल्ने शिविरमा बागलुङ र पर्वतका गरि २ सयवटा कुकुरमा बन्ध्याकरण गरिने थापाले जानकारी दिए । ‘एउटा कुकुर वर्षमा तीन पटक व्याउँछ, एकपटकमा तीनचारवटासम्म छाउरा जन्माउँछ’ पशु चिकित्सक श्रेष्ठले भने–‘यसरी नै बढ्दै जाने हो भने यसको संख्या ठूलो बन्छ, त्यसैले नियन्त्रणकोलागि बन्ध्याकरण शिविर राखिएको हो ।’ १० जनाको चिकित्सक समुहले पशुबिज्ञ केन्द्रमा रहेको प्रयोगशालामा बन्ध्याकरण गर्नेछन् । एउटा कुकुरको बन्ध्याकरण १० मिनेटमै सकिने पशु चिकित्सक अर्जुन अर्यालले बताए ।
छाडा कुकुर मार्दा पशु अधिकारकर्मीहरुले आवाज उठाउने भएकाले कुकुरको संख्या नियन्त्रण गर्ने राम्रो उपाय बन्ध्याकरण भएको उनको भनाई छ । बन्ध्याकरणसँगै कुकुरहरुलाई रेविज बिरुद्धको भ्याक्सिन समेत दिईएको छ । ‘हामीले बजारमा छाडा कुकुरका कारण धेरै बजारबासीले सास्ती भोगेको व्यहोरेका छौं’ बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले भने ‘झट्ट हेर्दा बन्ध्याकरणले छाडा कुकुर नियन्त्रण हुँदैन् तर बिस्तारै संख्या घटेर जोखिम कम हुन्छ ।’
कुकुरले टोकेर कयौं बजारबासी घाईते भएको र रातको समयमा एक्लै हिँडडुल गर्न समेत जोखिम हुने गरेको उनले सुनाए । चिकित्सक अर्यालले बन्ध्याकरण गर्दा कुकुरलाई केही समय पीडा हुने भएपनि लामो समय दुःखाई नहुने बताए । भर्खरै बच्चा जन्माएर हुर्काउँदै गरेको गर्भवती हुने वा गर्भधारण गराउने समय नभएकाले कुकुरको बन्ध्याकरणकोलागि यो समय उपयुक्त समेत हो ।
धेरै कुकुर पाल्न नसकिने र रेबिज विरुद्धको ईन्जेक्सन लगाउने भएकोले आफुले कुकुर लिएर आएको बानपा–१३ पैञ्युपाटाका भोलानाथ रिजाल बताउँछन् । बिहिबार शिविरमा ७९ वटा कुकुरको बन्ध्याकरण गरिएको छ । शिविर उद्घाटन कार्यक्रममा नगरप्रमुख पौडेल, प्रुमख जिल्ला अधिकारी सुरेश न्यौपाने, उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका सहसचिव सवनम शिवाकोटी, बरिष्ठ पशु चिकित्सक टंक प्रसाद प्रसाईंलगायतले बोलेका थिए । कार्यक्रम पशुबिज्ञ केन्द्रका प्रमुख शम्भुराज पाण्डेको अध्यक्षता, पशुअधिकृत गुप्त बहादुर कार्कीको स्वागत र केशव शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।





