बागलुङ, २४ पुस– पोखरामा बस्ने पत्रकार अमृत सुवेदी पहिलो पटक ढोरपाटन शिकार आरक्ष जाँदै थिए । नेपालको एक मात्रै शिकार आरक्षा पुग्ने भएकाले उनी निकै उत्साहित देखिन्थे । पुसको अन्तिम सातासम्म पानी नपरेकाले ढोरपाटनमा हिमपात भएको छैन् । हिमपात पछि त्यहाँ पुग्नेले नेपालको स्विजरल्याण्ड भन्छन् ढोरपाटनलाई ।
किताव र सञ्चार माध्याममा आएका सामग्री पढेर मात्रै ढोरपाटनको बिषयमा जानकारी पाएका सुवेदीले यसपटक आफ्नै आँखाले देखेको ढोरपाटनको महिमा लेख्नेछन् । प्राकृतिक पर्यटनको अनुपम उपहार ढोरपाटन पुग्नुअघि देखेका र टेकेका धार्मिक तथा पर्यटकीय स्थलहरुको चर्चा गर्ने सोँचका साथ उनी यतिवेला प्रदेश दौडाहमा छन् ।
पत्रकार महासंघ गण्डकी प्रदेश सचिव गणेश पौडेल पुसको चिसोमा पहिलो पटक ढोरपाटन शिकार आरक्ष पुग्दैछन् । त्यहाँ पुग्दा मुटुकमाउने चिसो भन्दा ढोरपाटनको सुन्दरता र बागलुङ बजारदेखि ढोरपाटनको बीचमापर्ने पर्यटकीय क्षेत्र मानस्पटलमा कैंद गर्ने हुटहुटीले उनलाई पनि उत्साहित बनाएको छ ।
कोरोना महामारीका कारण थला परेको पर्यटन क्षेत्रको प्रचार र नयाँ गन्तव्यहरुको खोजीकालागि सुबेदी र पौडेलजस्तै गण्डकी प्रदेशका सात जना पत्रकारको समुह यतिबेला प्रदेश दौडाहमा छ । नवलपुर जिल्लाको सुस्ता त्रिवेणीबाट सुरुभएको यात्रा ढोरपाटन पुगेर फर्कनेछ । ‘पोखरा र मुस्ताङ गण्डकीको पर्यटनका ब्राण्ड भैसके अव हाम्रो दायीत्व अरु क्षेत्रको पनि प्रचार प्रसार गर्नु हो’ महासंघको गण्डकी प्रदेश अध्यक्ष त्रिभूवन पौडेल भन्छन् ‘त्रिवेणीबाट सुरु भएको पत्रकारको प्रदेश दौडाहाले सम्भावना बोकेका क्षेत्रको पहिचान र प्रचारमा सघाउने छ ।’
पत्रकार महासंघ गण्डकी प्रदेशले पर्यटकीय क्षेत्रको प्रबद्र्धनको चाँजोपाँजो मिलाएको हो । नेपाल पर्यटन बोर्डले साथ दिएपछि कार्यक्रम बनाएर पत्रकारहरु त्रिवेणीदेखि ढोरपाटनसम्म दौडिरहेका छन् । ‘हामी बाटो मात्रै हिँड्दैनौ, सबैक्षेत्रको अध्ययन गछौं’ पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष भन्छन् ‘यो सुरुवात हो, हामीले गरेको सुरुवातलाई सबै क्षेत्रले सघाउनु पर्छ ।’ नवलपुरदेखि ढोरपाटन प्रबद्र्धनात्मक कार्यक्रम लिएर हिँडेका पत्रकारहरुले सरोकारवाला सँग अन्तक्र्रिया र छलफल समेत गर्ने गरेका छन् । सरोकारवालाको सुझाव र पर्यटकीय क्षेत्रको वास्तविक अवस्थाका आधारमा प्रतिवेदन तयार गरेर राज्यलाई पर्यटकीय क्षेत्रको प्रबद्र्धनका लागि सुझाव पेस हुने छ । ‘हामीले दिने समाचार र तस्विरहरुले आन्तरिक तथा वाह्य पर्यटकको लागि ठुलो महत्व राख्छ’ पौडेल भन्छन् ‘यो पनि बिकासको एउटा साझेदार अभियान हो ।’ बागलुङका पत्रकार सँगको भेटघाटमा समुहले ढोरपाटन पुगेर फर्किएपछि थप छलफल गर्ने बतायो । समुहमा पत्रकार महासंघ गण्डकीका अध्यक्ष त्रिभुवन पौडेल, महासचिव गणेश पौडेल, पत्रकारहरु अमृत सुवेदी, बिमल तिवारी, राजेन्द्र न्यौपाने, रामजी लम्साल र दिल शिरिष सहभागी छन् ।





