बागलुङ, २५ पुस– संघीय संरचना कार्यान्वयनमा आएपछि जिल्ला कृषि बिकास कार्यालय खारेज हुँदा निरास भएका किसान गण्डकी प्रदेश सरकारले ज्ञान केन्द्र स्थापना गरेपछि उत्साहित भएका छन् ।
कृषि ज्ञान केन्द्र स्थापना हुँदा हौसियका यहाँका किसानले शुक्रबार केन्द्र प्रमुखलाई स्वागत गरेका छन् । बागलुङ नगरपालिका वडा नं. ३ र ४ मा कृषि पेशामा आबद्ध किसानहरुको सहभागिता खुलेको मिर्मिरे कृषि सहकारी केन्द्र प्रमुख भानुभक्त भट्टराईलाई आफ्नै कार्यालयमा स्वागत गरेका हुन् । देशको मुख्य उत्पादन कृषि हुँदा पनि राज्यबाटै यो क्षेत्र उपेक्षामा परेको गुनासो गरे । कार्यालय स्थापना भएसँगै किसानका समस्या र कृषि ज्ञान लिन सहज हुने उनीहरुको भनाई थियो ।
सहकारीको स्वागत कार्यक्रममा पुगेका केन्द्र प्रमुख भट्टराईले अगुवा र पहुँचमा रहेका किसानले दुरदराजका किसानलाई सहयोग गर्नुपर्ने बताए । ‘तपाईंहरु धेरै नजिक र बुझेको हुनुहुन्छ, प्रकृया नबुझेका किसानलाई सहयोग गर्नु पर्छ’ उनले भने ‘हामी तपाईंहरुको सेवामा सधैं तयार रहने छौं ।’ बागलुङ नगरपालिकाले कव्जा गरेको तत्कालिन कृषि बिकास कार्यालयको भवन अब कृषि ज्ञान केन्द्रको भएको भन्दै उनले त्यसकालागि समन्वय र सहकार्य गर्ने बताए । ‘हामीले काम गर्ने स्थानीय तहसँग सहकार्य गरेरनै हो, आफ्नो भवन छोडर अन्तै जानेकुरा हुँदैन्, उहाँहरुले कुरा बुझ्नुहुने छ ।’ भट्टराईले भने । स्वागत कार्यक्रममा सहकारीका सचिव नारायण शर्माले सहकारीको कामबारे जानकारी गराएका थिए । अध्यक्ष गंगा बहादुर थापाको अध्यक्षता, सल्लाहकार टिकाराम सापकोटाको स्वागत र कोषध्यक्ष थानेश्वर सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।





