बागलुङ, २५ पुस– कृषि र पशुपालन स्वरोजगारीकालागि उत्तम पेशा हो । बजार र उपभोक्ता प्रसस्त रहेकाले कृषि उपज र पशुजन्य उत्पादन गर्नेहरुकालागि राम्रो अवसरहरु छन् । यस्ता अवसरहरुको पहिचान र उपयोगमा पछिल्लो समय स्थानीय सरकारले चासो देखाउन थालेका छन् ।
कोरोना महामारीले थला परेको रोजगारीको क्षेत्रबाट बिस्थापितहरुलाई कृषि र पशुपालन व्यवसायमा अकर्षित गर्नकालागि बागलुङको गलकोट नगरपालिकाले वडा अनुसारको उत्पादनमा जोड दिएको हो । वडा अनुसार साना कृषि उत्पादन केन्द्र ‘पकेट क्षेत्र’ घोषणा गरेर नगरपालिकाले कृषि र पशुपालनमा व्यवसायिकता बिस्तार गर्न थालेको नगरप्रमुख भरत शर्मा गैरेले बताए ।
नगरपालिकाले भौगोलिक अवस्थिती र माटो तथा हावापानीका आधारमा वडाहरुमा उत्पादन हुन सक्ने कृषिजन्य उत्पादनको पहिचान समेत गरेको छ । ‘जहाँ जे हुन्छ त्यसकै लागि प्रोत्साहन गर्ने नीति बनाएका छौं’ नगरप्रमुख गैरे भन्छन् ‘उर्जाशिल जनशक्तिको उपयोग गरेर उत्पादन बढाउँछौं ।’ गण्डकी प्रदेश सरकारले साना कृषि उत्पादन केन्द्र ‘पकेट क्षेत्र’ घोषणाकालागि बजेट बिनियोजन गरेको छ । जसको कार्यान्वयन स्थानीय तहले गर्नेछन् । प्रदेशको कार्यक्रमलाई माटो सुहाउँदो उत्पादन सिफारीस गरेर कार्यान्वयन गर्न थालिएको गैरेले बताए ।
नगरपालिकाले वडा अनुसारका उत्पादनको सूची तयार गरेको छ । वडा नम्वर १ मा कृषितर्फ तरकारी र पशुपक्षीतर्फ वाख्रा पकेट घोषण गरेको हो । वडा नम्वर २ मा तरकारी उत्पादन गर्ने किसानले बंगुर पालन गर्नेछन् । फलफुल बालीका लागि राम्रो हावापानी रहेको वडा नम्वर ३ मा सुन्तला जातका फलफुलको पकेट क्षेत्र घोषणा गर्ने योजना रहेको गैरेले बताए । त्यहाँ व्यवसायिक गाई भैंसी पालनको लागि किसानहरुलाई प्रोत्साहन गरिने छ । वडा नम्वर ४ मा किवीको खेती हुने छ । परीक्षणको रुपमा लगाईएको किवीबाटै किसानहरुले चालु आवमा राम्रो फसल लिएकाले किवी खेतीको पकेट क्षेत्र घोषणाको तयारी थालिएको हो ।
वडा नम्वर ५ मा कृषितर्फ तरकारी र पशुपक्षीतर्फ स्थानीय कुखुरा पकेट क्षेत्रको लागि प्रस्ताव गर्ने निर्णय भएको छ । त्यस्तै वडा नम्वर ६ मा कृषितर्फ धान र पशुपक्षीतर्फ बाख्रा, वडा नम्वर ७ मा कृषितर्फ गहुँ र पशुपंक्षीतर्फ स्थानीय कुखुरा, वडा नम्वर ८ मा कृषितर्फ आलु र पशुपंक्षीतर्फ भैसी, वडा नम्वर ९ मा कृषितर्फ मौरी र पशुपक्षीतर्फ भैसी, वडा नम्वर १० मा कृषितर्फ अदुवा वेसार र पशुपक्षीतर्फ भेडा तथा वडा नम्वर ११ मा कृषि तर्फ मौरी र पशुपक्षीतर्फ बंगुर पकेट क्षेत्रकोलागि गण्डकी प्रदेश सरकारलाई सिफारीस गरेर पठाईएको उनले बताए ।
‘नगदे र फलफुल बालीलाई प्राथमिकता दिएका छौं, परम्परागत रुपमा फल्ने धान कोदो बालीको संरक्षणमा समेत सचेत छौं’ गैरेले भने ‘उत्पादनले खर्च कटाएर आम्दानी दिनु पर्छ, सोही अनुसारको बालीलाई प्रोत्साहन गर्छौं ।’ प्रदेश सरकार र स्थानीय सरकारको साझेदारीमा कार्यक्रम सञ्चालन हुने भएकाले यतिनै बजेट खर्च हुन्छ भन्ने टुंगो छैन् । काम गर्नेहरुका लागि बजेटको अभाव नहुने उनले बताए । कोरोना महामारीको मारमा परेकाहरुलाई पकेट क्षेत्र घोषणा गरेर सञ्चालन हुने कार्यक्रमले सहयोग पु¥याउने नगरपालिकाको विश्वास छ ।





