
बागलुङ, २६ पुस– भूकम्पले बिद्यालय क्षतबिक्षत भएपछि चार बर्ष सम्म बागलुङ नगरपालिका वडा न ११ रायडाँडाको महाबिद्याजन माबिका बिद्यार्थीले सास्ती खेपेका थिए । शिक्षकहरुले बिद्यार्थीलाई कहिले चउरमा, कहिले छाप्रोमा कोचाकोच बनाएर पढाउनुपर्ने बाध्यता थियो । झरी पर्दा पढाइ नभएर घर फर्काउने समस्या पनि थियो ।
चारबर्षपछि यो बिद्यालय ठडिएको छ । बिद्यालय बनेकोले बालबालिकाले कक्षा कोठामा बसेर पढ्न पाएका छन् । खुला चउरमा पढाउने समस्या हटेकोमा शिक्षक प्रेमप्रसाद शर्मा खुसी छन् । यहाँ अध्ययन गर्ने ३ सय ७५ बिद्यार्थीले अब पक्की भवनमा बसेर पढ्ने अवसर पाएको उनले बताए । नगरपालिका भित्रका बिद्यालयमा मापदण्ड पुरा गरेर खुलाउने निर्णयपछि यहाँ धमाधम पढाइ समेत थालिएको छ ।
यस अघिको ढुंगामाटोको भवन ध्वस्त भएपछि लामो समय बिद्यार्थी र शिक्षकले सास्ती खेपेका थिए । भूकम्प पुन निर्माण प्राधिकरणको जिल्ला कार्यान्वयन ईकाई मार्फत भवन निर्माण गरिएको हो । भवन बनेपछि सुरक्षित स्थानमा राखेर पढाउन पाएको शर्माले बताए । ईकाईले ६३ लाख बजेटबाट ४ कोठे भवन र गत आर्थिक बर्षको ७३ लाख बजेटबाट अर्को ४ कोठे भवन गरी ८ कोठा निर्माण गरेको थियो । शिक्षा मन्त्रालयको १६ लाख रुपैया“मा अभिभावले रकम थप गरेर २० लाखमा अर्को २ कोठे भवन समेत निर्माण गरिएको छ । ती कोठा निर्माण भएपछि आधुनिक भवनमा राखेर पढाउन सकिएको हो ।
यस्तै समस्या भोगेका बागलुङका ४० वटा बिद्यालय भवन निर्माण भैसकेका छन् । निर्माणाधिन अधिकांस भवनमा लकडाउनपछि बिद्यार्थी राखेर पढाउन थालिएको इकाइका शिक्षा शाखा प्रमुख मोतीप्रसाद चपाईले बताए । ‘भवन बनेपछि बिद्यार्थीले आरामले पढ्न लेख्न पाएका छन्’ शान्ति माबि खुंखानीका प्रअ सत्यनारायण सिंहले भने, ‘आधुनिक भवन सँगै शिक्षामा गुणस्तरीयता पनि बनाउँदै छौं ।’ यहाँ गाउँपालिकाको लगानीमा समेत ४ कोठे भवन बनोको छ । एक कम्प्युटर शिक्षक सहित अन्य तीन जना शिक्षकको व्यवस्थापनमा गाउँपालिकाले सहयोग गरेको हो ।
पुननिर्माणको मापदण्ड अनुसार बनाउ“दा तुलनात्मक १० देखि १५ प्रतिशत महंगो पर्छ । तर भुकम्पीय दृष्टीले भने बढी सुरक्षित हुने बागलुङ नगरपालिका ३ को बिद्यामन्दिर माबिका प्रअ शान्तमणी ढकालले बताए । ‘धेरै खर्च भएपनि सुरक्षित भवन बनाइएको छ, जोखिमको समस्याबाट ढुक्क छौं’ ढकालले भने, ‘शिक्षाको गुणस्तर बढाउन सुरक्षाको ग्यारेन्टी भएका भवनले पनि थप उर्जा दिने रहेछ ।’ भवन बनेका बिद्यालयले लामो समय सम्म भवनको अभाव र समस्या भोग्नु नपर्ने उनले बताए ।
चालु बर्षकालागि पनि थप ३८ वटा बिद्यालय निर्माण्ाँधिन छन् । कोरोना प्रकोप र लकडाउनका कारण प्रभावित भएका काम अहिले ढीला गरी सुरु भएका छन् । भूकम्पले क्षति पुगेका १ सय १२ बिद्यालय मध्ये प्राथमिकताको आधारमा भवन बनाउने काम भैरहेको हो । बिद्यालय निर्माण गर्न भौगोलिक अध्ययन गरेर प्रतिवेदन बुझाएपछि मात्र निर्माण अनुमति पाउने व्यवथा छ । पुन निर्माण प्राधिकरणको अनुदानमा बिद्यालय बनाउनका लागि सम्झौता पछि पनि भवन निर्माण स्थालको अध्ययन र लेआउट निकाल्नुपर्ने प्रावधान छ । प्राधिकरणले लगानी गरेका सबै बिद्यालयमा कम्तिमा चार कोठे भवन पक्की बनाउनु पर्ने प्रावधान राखेको हो । बागलुङमै ३ कोठे भवन ५ वटा बनाउने लक्ष छ । त्यसका लागि प्राधिकरणबाट ३५ लाख ८० हजार र २ कोठे भवन १८ वटाका लागि २३ लाख ९० हजार रुपैया“को दरले आनुदान दिएको छ ।
बागलुङ स्थित पुन निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन ईकाईले चालु खर्चको तुलनामा पूजिगत खर्च गर्न सकेको छैन । जिल्लाका २ हजार ४ सय ८२ लाभग्राही मध्ये अहिले सम्म १ हजार ५ सयले मात्र घर बनाएका छन् । पहिलो किस्ता लगेका २ हजार ३ सय १७ मध्ये ६ सय घरले अझै दोश्रो किस्ता लगेका छैनन् ।





