
बागलुङ, २७ पुस– बागलुङमा कोभिड–१९ संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–८ का ५६ बर्षिया पुरुषको सोमबार बिहान धौलागिरी अस्पतालमा मृत्यु भएको हो ।
उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । स्वासप्रस्वासमा समस्या आएपछि गत पुस २२ गते अस्पताल भर्ना भएका उनमा संक्रमण रहेको सोमबार मात्रै पुष्टि भएको थियो । ‘स्वाव पठाएर उपचार गरिरहेका थियौं, रिपोर्ट आउँदा उहाँको मृत्यु भैसकेको थियो’ अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर शैलेन्द्र बिक पोखरेलले भने ‘सुगर, र निमोनियाको समस्या थियो ।’
केही समय कोरोनाका सामन्य बिरामी मात्रै देखिएको बागलुङमा पुनः गम्भिर खालका बिरामीहरु देखा पर्न थालेका छन् । स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेका अनुसार अहिले दुई जना गम्भिर बिरामीको आईसियुमा राखेर उपचार भैरहेको छ । बाँकी ३ जना बिरामी धौलागिरी अस्पतालको आईसोलेसनमा छन् ।
बागलुङमा कोभिड–१९ संक्रमणका कारण मृत्यु हुनेको संख्या १० पुगेको छभने संक्रमितको संख्या ९ सय ३७ छ । २८ जना मध्ये पाँच जना धौलागिरी अस्पतालमा र २३ जनाको जिल्लाभरका बिभिन्न आईसोलेसन तथा होम आईसोलेसनमा उपचार भैरहेको छ ।





