मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

निसी र तमानमा एक घर एक धारा

निसी र तमानमा एक घर एक धारा


  • ढोरपाटन संवाददाता
  • पुष २८ २०७७, मंगलबार
एक घर एक धारा मार्फत आफनै घर छेउमा धारा पाएपछि दंग परेका बागलुङको निसीखोला गाउँपालिका ४ का एक किसान । लिफट प्रविधिबाट पानी ल्याएर घरघरमा बितरण गरेपछि पानीको सदुपयोग समेत भएको छ । पानी खेप्ने समय काममा बिताउन पाएका छन । तस्बिर : ढोरपाटन

बागलुङ, २८ पुस– जिल्लाको सुदर पश्चिम भनेर चिनिने निसीखोला र तमानखोला गाउँपालिकाको अधिकांश बस्तिमा खानेपानी विस्तार भएको छ । घर घरमा निजीधारा जडान भएपछि खोल्सामा पुगेर पानी थाप्नुपर्ने ग्रामीण बासिन्दाहरुको जीवनमा परिवर्तन आउन थालेको छ ।
अहिले उनीहरुले घर घरमा धारा पाउन थालेका छन् । स्वच्छ खानेपानीको विस्तार गरेर पूर्ण सरसफाईयुक्त गाउँपालिका बनाउने भन्दै टोल टोलका पुराना योजना मर्मत र पुननिर्माण समेत गर्दै स्थानीय सरकारले अभियान चलाएका छन् । नयाँ योजना बनेका स्थानमा कतै पाइपलाइनबाट कतै पम्प गरेर धारा जडानको काम भैरहेको छ ।
पानीको दुःख भएको तमानखोला गाउँपालिका वडा नं. ६ मा मात्रै २ सयबढी धारा जडान भएर घर घरमा खानेपानी पुगेको वडा अध्यक्ष कुलबहादुर छन्त्यालले बताउँछन् । नर्जाखानी मानवबस्तीको जिल्लाकै उच्च ठाउँमा रहेको बस्ति हो । ‘पानीका लागि घण्टौं बिताउने समस्या हटेपछि उपभोक्ताले शुल्क बुझाउन पनि सकेका छन्’, छन्त्यालले भने, ‘व्यवस्थित आयोजनाका लागि घर घरमा धारा आवस्यक रहेछ ।’ छरपष्ट परेका योजनालाई एकीकृत गरेर धारा ल्याउने अभियानमा ‘नेपाल स्वास्थका लागि पानी’ नेवाले साथ दिएको उनले बताए ।
तमानखोलाको तमान गाउँमा पनि पानीका धारा घर घरमा पुगिसकेका छन् । संरक्षणको कामसमेत स्थानीयले गर्छन् । मासिक उठाउने शुल्कले मर्मत खर्च पनि पुगेको स्थानीय मिना बुढाथोकीले बताइन् । उपभोक्ता समितिले न्यूनतम शुल्क तोकेर त्यहीं रकमबाट हेरालु राख्ने र मर्मत कोष पनि बनाउन थालेका छन् ।
निसीखोलाको वडा नं. ३ र ४ मा यो अभियान पूर्ण रुपमा लागू भैसकेको छ । अन्य वडामा पनि घर घरमा धारा जडान गर्नेगरी खानेपानीका योजना संचालन गरिएको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए । सडक छेउका घर र बजार क्षेत्रमा पहिलो चरणमा योजना सफल बनाएपछि ग्रामीण बस्तीमा पनि योजना लैजाने तयारी उनले सुनाए ।
देविस्थान, बोहोरागाउँ, निसी र भलकोटलगायतका बजार उन्मुख क्षेत्र, मध्यपहाडी लोकमार्ग आसपासमा खुलेका होटल तथा रेष्टुरेन्टमा पहिलो चरणमा यस्ता धारा जडान भैसकेका हुन् । अभियान स्वरुप बोहोरागाउँस्थित झिँवाखोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिका १ सय ११ घरमा धारा जडान भैसकेको हो ।
सबैको घरमा धारा जडान गरेपछि मासिक ५० रुपैयाँका दरले मर्मत शुल्क संकलन गर्ने र समितिकै खातामा राख्ने व्यवस्था गरिएको हो । धेरै पानी प्रयोगकर्ताले १ सय रुपैयाँसम्म तिर्नेछन् । निजी धारा र शुल्क तिर्ने प्रावधानलाई बानी बसाल्न समुदायमा सचेतना अभियानसमेत थालिएको नेवा गण्डकी प्रदेशका प्रबन्धक कुमार सिलवालले बताए ।

पछिल्लो समय स्वच्छ पानीका लागि कोलिफर्म परीक्षण र सुरक्षाको विधिसमेत थालिएको हो । ट्यांकीबाटै कोलिफर्म मुक्त बनाएर पठाउने व्यवस्था गरिएको स्थानीय उपभोक्ता कसिन्द्र शाहीले बताए ।
‘आफ्नै घरमा चाहेकै बेला पानी आउने भएपछि सार्वजनिक धारामा जाने समस्या हटेको छ’, स्थानीय बिष्णुकुमारी शाहीले भनिन्, ‘कोष बनाएर मर्मत गर्ने योजना पनि बनाएका छौं ।’ बाल क्लबको अगुवाईमा नियमित टोल सफाई र अभिभावकको अगुवाईमा ट्यांकी र मुहान नियमित सफार्यको व्यवस्था गरिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->