मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

चैत भित्रै कालोपत्रे सडकले जोडिँदै जैमिनी

चैत भित्रै कालोपत्रे सडकले जोडिँदै जैमिनी

गण्डकी प्रदेश सरकारले स्तरीकरणमा प्रादेशिक सडक ‘क’ वर्गमा परेको यो सडक कालोपत्रेको तयारी भैसकेकोले कुल कामको ८० प्रतिशत पुरा भएको निर्माण कम्पनी कर्ण विल्डर्सले जनाएको छ ।


  • ढोरपाटन संवाददाता
  • पुष २९ २०७७, बुधबार

बागलुङ, २९ पुस– बर्षातकालागि खाद्यान्न जम्मा गरेर राख्नुपर्ने बाध्यता, हिउँदमा बुङ्ग उड्ने धुलोले सताउने समस्याले आजित भएका कुश्मीसेराबासीको दुःख बिस्तारै हट्दैछन् ।

कहिले हिलाम्मे, कहिले धुलाम्मे सडकको सकसबाट उम्केर सदरमुकाम देखि जैमिनी नगरपालिकाको मुकामसम्म कालोपत्रेले टल्किँने भएको छ । त्यो पनि चालु आर्थिक बर्ष भित्रै ।

बागलुङ बजारदेखि कुश्मीसेरा जाने सडकको दश किलोमिटर खण्डमा कालोपत्रेको काम अन्तिम चरणमा पुगेको हो । यो सडक ट्रयाक खुलेको दुई दशक पछि कालोपत्रे हुन लागेको हो । गण्डकी प्रदेश सरकारले स्तरीकरणमा प्रादेशिक सडक ‘क’ वर्गमा परेको यो सडक कालोपत्रेको तयारी भैसकेकोले कुल कामको ८० प्रतिशत पुरा भएको निर्माण कम्पनी कर्ण विल्डर्सले जनाएको छ । २०७५ असारमा टेण्डर प्रकृया थालिएको यो सडकको १० किलोमिटर खण्डको काम २०७६ भदौ १० गतेबाट सुरु भएको थियोे । सडक स्तरोन्नती सहित कालोपत्रेको जिम्मेबारी पाएको कर्ण विल्डर्स प्रा.लि.ले कामलाई अन्तिम चरणमा पु¥याएको हो ।

चैतबाट भएको बन्दाबन्दी (लकडाउन)का कारण प्रभावित भएको कामले पुनः तिब्रता पाएको छ । ‘हामीले आउँदो चैतभित्रै सडक कालोपत्रेको काम सक्छौं’ निर्माण कम्पनीका साईड सुपरभाईजर सन्दिप श्रेष्ठले भने ‘हामीलाई काम सक्नकालागि प्राप्त अन्तिम मिति भन्दा पाँच महिना पहिलै सक्ने लक्ष छ ।’ मालढुंगा भन्दा केही अगाडि कालीगण्डकी करिडोरदेखि पाग्जा सम्मको झण्डै ४ किलोमिटर सडक २०७३ सालमा कालोपत्रे भएको थियो । सडक बिभागले पक्कि बनाएको उक्त सडकको अन्तिम बिन्दुदेखि कुश्मीशेरातर्फ १० किलोमिटर खण्ड कालोपत्रेको काम अन्तिम चरणमा पुगेको हो । पाग्जादेखि टाकुरी सम्मको सडक बाहेक टाकुरीदेखि कुश्मीसेरासम्म पनि यस अघिनै कालोपत्रे भैसकेको छ ।

भौतिक पुर्वाधार मन्त्रालयको २६ करोडको लगानीमा यो सडक कालोपत्रे हुँदै छ । २०७८ साल असोज मसान्तसम्म काम सम्पन्न गर्नेगरी निर्माणको जिम्मेबारी लिएको कम्पनीले पाँच महिना पहिलेनै काम सक्नेगरी धमाधम काम गरिरहेको हो । ‘तीनवटा घर सडकको मापदण्डमा परेकाले फाल्न बाँकी छ, केहि ग्यावीन र कल्भर्टहरु बनाउन बाँकीछ’ श्रेष्ठले भने ‘बाधा अबरोध नभए अझैपनि हामीले समय भन्दा अगावै काम सकेर बुझाउँछौं ।’ ‘भौतिक प्रगती निकै राम्रो छ, संकटका बिचमा उहाँहरुले गरेको कामले कार्यालय सन्तुष्ट छ’ पूर्वाधार बिकास कार्यालय बागलुङका प्रमुख शोभियत खड्काले भने ‘उहाँहरुलेनै भनेको समयमा काम सकिनेमा हामी विश्वस्त छौं ।’ कार्यालयका अनुसार उक्त सडकको भौतिक प्रगती ८० प्रतिशत र बित्तिय प्रगती ७० प्रतिशत छ । कालोपत्रेकालागि तापक्रम पुग्नुपर्ने भएकाले फागुन फर्कनु परेको उनले बताए । ‘तापक्रम पुग्नासाथ कालोपत्रे थालीनेछ’ श्रेष्ठ भन्छन् ‘कालोपत्रे थालेको एक महिनामा काम सकिन्छ ।’ स्थानीय सर्वसाधारणले सडकको काममा सन्तुष्ट रहेको बताएका छन् । ‘गुणस्तर हेर्ने हाम्रो कावुको कुरा भएन्, बाहिरी काम हेर्दा निर्माण कम्पनीले निकै राम्रो काम गरिरहेको छ’ सडक प्रभावित क्षेत्रका स्थानीय केशव सुवेदीले भने ‘समयमा काम सकिए, हिलो धुलोबाट मुक्त हुने थियौं ।’ प्राबिधिक हिसावले गर्नुपर्ने कामहरुमा भने नियमित अनुगमन हुनुपर्ने उनको सुझाव थियो । जिल्लाको दक्षिणमा रहेका सबै गाउँहरु जोड्ने सडक भएकाले यो सडकमा सर्वसाधारणको चासो बढी रहेको छ ।

तत्कालिन जिबिसले २०५४ मा निर्माण थालेको यो सडक खण्ड २२ बर्ष पुग्दा पनि हिलाम्मे र धुलाम्मे थियो । यो सडक खण्डमा कति रकम खर्च भयो भन्ने यकिन तथ्यांक समेत अझै कतै भेट्न सकिंदैन । कहिले जिविस, कहिले आरआईडिपी, कहिले ड्रिलिप र कहिले स्थानीय तहको बजेट लगानी परेको थियो । एशियाली बिकास बैंकको ऋण सहयोगमा शुरुवातमा कामका लागि खाद्यान्न कार्यक्रममार्फत खुलेको ट्रयाकमा करोडौ खर्च भएको थियो । यो खण्डमै दोश्रो पटक एडिबीकै सहयोगमा १६ करोड रुपैया“ लगानी गरियो । विकेन्द्रीत ग्रामीण पूर्वाधार तथा जिविकोपार्जन सुधार कार्यक्रम (ड्रिलिप) ले यो सडक ग्राभेलको काम गरेको थियो । २०७० देखि २०७२ सम्मको ठेक्का सम्झौता २०७३ मा पुरा भयो । बाटो हस्तान्तरण भएकै बर्ष पनि सहज यात्रा भएन । स्थानीय तह गठन पनि यो सडक बागलुङ र जैमिनी नगरक्षेत्रमा पर्छ । जैमिनी क्षेत्रमा केही साना योजनाहरु सञ्चालनमा रहेको र केही सडक कालोपत्रे भएकाले यो खण्डको काम सकिँदा सदरमुकामसँग जिल्लाको दक्षिण क्षेत्र कालोपत्रे सडकले जोडिने छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->