बागलुङ, १ माघ– छैटौँ राष्ट्रिय योग दिवस–२०७७ बागलुङमा पनि बिबिध कार्यक्रमको आयोजना गरी मनाईएको छ । योग दिवस मुल आयोजक समितिले योग अभ्यास, निशुल्क स्वास्थ्य परीक्षण लगायतका कार्यक्रमको आयोजना गरेर योग दिवस मनाएको हो । मानिसको जीवन शैलीलाई व्यवस्थापन गर्न महत्वपूर्ण योग नियमित गर्नुपर्ने योगगुरुहरु बताउँछन् । योगले मानिसलाई निरोग मात्र नभई दीर्घजीवी पनि बनाउने योग गुरुको भनाइ छ । सम्पूर्ण ब्रह्माण्डको ऊर्जा पृथ्वीतिर केन्द्रित भएका समयमा योग गर्न सकेमा मानिसको जीवन पद्धतिमा परिवर्तन आउने र यसका माध्यमबाट धेरै कुरामा सुधार आउने बताइएको छ । दिवसको अवसरमा बुधबार धौलागिरी आयुर्बेद औषधालय बागलुङमा बिरामीको निशुल्क उपचार गरिएको थियो । तीस जनाले सेवा लिएको औषधालयले जनाएको छ । बिहिबार राधाकृष्ण मन्दिरको सभाहलमा मुल समारोह आयोजना गरीयो । समारोहमा धौलागिरी आयुर्बेद औषधालयका प्रमुख डा. सरोज कुमार रायले योग बिधिका बिषयमा जानकारी गराए । प्रमुख जिल्ला अधिकारी नेतृत्वको मुल योग दिवस मुल समारोह समितिले कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा पतञ्जली योग समिति बागलुङ र धौलागिरी आयुर्बेद अस्पतालले योग अभ्यास गराएका थिए । कार्यक्रम अन्तरगत शुक्रबार नवजीवन पुनरस्थापना केन्द्र कुँडुलेमा योगअभ्यास गराईने छभने माघको ३ र ४ गते कारागार कार्यालय बागलुङमा योगअभ्यास हुने छ । धौलागिरी आयुर्बेद अस्पतालमा एक साता बिरामीको निशुल्क जाँच, उपचार र योगाभ्यास हुने अस्पतालले जनाएको छ । बिहिबार मुल समारोह प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षता र धौलागिरी आयुर्बेद औषधालयका कवीराज हरि पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।





