बागलुङ, २ माघ– बडिगाड गाउँपालिका वडा नं. १० पात्लेकी जुनकुमारी बिकलाइ दुइघण्टा टाढाको झाँक्रीस्थान कुवामा पुगेर पानी खेप्दा दुइ घण्टा लाग्थ्यो । एक गाग्राी पानी ल्याएर छोराछोरी बिद्यालय पठाउन सास्ती थियो ।
नजिकमा बिद्यालय पनि थिएन । बालबालिका बिद्यालय पुग्न सँधै ढीला हुन्थे । गाइभैसी पाल्न पनि समस्या थियो । खोलाछेउमा लगेर पाल्नुपथ्र्यो । पात्लेका ४२ घरधुरीमा यो बर्षौदेखिको सास्ती हो । नजिकमा खानेपानीको मुहान नभएकोले उनीहरुले सफा पानी पिउन पनि पाएका थिएनन् । हिलो पानी छानेर खानुपथ्र्यो । कुवाको फोहोर पानीपनि रातीमै गएर नल्याए सकिन्थ्यो । कुरेर जम्मा भएपछि मात्र ल्याउनुपर्ने बाध्यताले पात्लेबासीले बर्षाै सम्म दुःख पाए ।
दाता संस्था देखि तत्कालिन जिल्ला बिकास समिति, खानेपानी कार्यालय लगायत सबै स्थानमा धाएरपनि उनीहरुले योजना पाउन सकेनन् । सशष्त्र द्वन्द्वको समयमा काम गरिदिए आएका संस्थालाईपनि काम गर्ने अबसर नदिएपछि योजना फिर्ता भएको थियो । पानी अभावमा किसानले बारीमा तरकारी पनि फलाउन पाएका थिएनन् । फोहोर पानीले धेरै बालबालिका बिरामी हुने समस्या थियो । बालबलिका र बुढाबुढीलाई रोगले असाध्यै सताउने गरेको स्थानीय दुजमान रसाइलीले बताए ।
यहाँको समस्या देखेपछि नेपाल स्वास्थ्यकालागि पानी नेवाले योजना छनौट गरेर यहाँ काम थाल्यो । एक बर्ष अघि काम थालेपनि नजिकमा मुहान नभएपछि धेरै लामो र जंगल तथा भीरको बाटोमा पाइपलाइन खनेर स्थानीयले पानी ल्याएका छन् । पात्ले झाँक्रीस्थान खानेपनी तथा सरसफाई योजना मार्फत यहाँकाको बस्तीमा पानी ल्याइएको छ । निगालपानी भन्ने स्थानबाट झण्डै १० किमी लामो पाइपलाइन बिच्छ्याएर ल्याएको पानीको योजना पुरा गर्न स्थानीयले एक बर्ष सम्म श्रमदान समेत गरेका थिए ।
४५ लाख रुपैयाँको लागतमा बनेको योजनामा स्थानीयले १० लाखको श्रमदान गरेका हुन् । त्यस्तै बडिगाड गाउँपालिकाले ३ लाख ८३ हजार र नेवाले ३१ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको हो । यो योजना पुरा भएपछि घरघरमा धारा बनेको उपभोक्ता समितिका अध्यक्ष सन्तबहादुर रासकोटीले बताए । ‘पानी नपाएर हामीले सास्ती खेपेका थियौ, अहिले घरमै धारा आएको छ’ रासकोटीले भने,‘तीसबर्षको सास्तीपछि बल्ल घरकै आँगनमा पानी थाप्न पायौं ।’ पानी आएपछि तीन घण्टा सम्म धाउनुपर्ने गृहीणीहरु सबैभन्दा बढी खुसी भएको उनले बताए । पानी आएपछि स्थानीयले खुसीयाली समेत मनाएको बताए । उनीहरुले पानी संकलन गरेर बारीमा तरकारी फलाउने योजना पनि सुनाएका छन् ।
यो योजनाको पाइपलाइन खन्दाखन्दै ६ घरलाई धारा नपुगेपछि फेरी लिफ्ट प्रविधिबाट खुवाइएको नेवाका क्षेत्रीय प्रबन्धक कुमार सिलवालले बताए । पाइपलाइन ल्याउँदा माथिल्लो बस्तीका घरमा पाइपलाइन पुगेन,त्यसपछि सोलार प्रणाली जडान गरेर रिर्जभ ट्यांकीबाट लिफ्ट गरिएको उनले बताए । त्यसकालागि मोटर जल्ने खतरा भएपछि तीनवटा मोटर दिएर छाडिएको उनले बताए । तत्काल मोटर जल्यो र खानेपानीको समस्या भयो भने अर्को मोटर ल्याउन्जेल पानीखान समस्या हुन्छ भनेर थप मोटर दिएको नेवाकै लेखा अधिकृत बिनोद कोइरालाले बताए । ‘जनतालाई सास्ती नहोस् भनेर एउटा बिग्रियो भने तत्काल जडान गरेर मात्रै मर्मतका लागि जान पाउने व्यवस्थापन गरेका हौं’ कोइरालाले भने, ‘उपभोक्ताले जगेडा कोषपनि बनाउन थालेका छन्, त्यसले सामान्य मर्मत गर्ने योजना छ ।’
पानी खेप्न नपर्दा पात्लेका बालबालिकाले समयमा बिद्यालय पुग्न पाइने आशा पनि गरेका छन् । ‘पानी खेपेर बिद्यालय जाँदा ढीला हुन्थ्यो, अब समयमै जान पाइने भयो’ कक्षा १० मा पढ्ने पार्वती बिकले भनिन्, ‘जंगलको बाटो, रातीराती पानी खेप्न जाँदा जंगली जनावरको पनि डर थियो, त्यो पनि हटेको छ ।’ कुवाको पानी लिन जाँदा पटक पटक जंगली जनाबरको आक्रमणमा परेको रासकोटीले बताए ।
जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले उक्त खानेपानी आयोजनाको उद्घाटन गरेका छन् । उनले अब हरेक जनताले स्वच्छ खानेपानी पाउने अधिकार अनुसार योजनाहरु बनेको बताए । सरकारी संयन्त्र नआएपनि समन्वय गरेर आएका गैरसरकारी संस्थाबाट बिकासनिर्माण भएको उनले बताए । उनले गैरसरकारी संस्थापनि जनता र सरकारका सहयोगी हुन भन्ने भावना बिकास गर्नुपर्ने समेत बताए ।
वडा अध्यक्ष बीरेन्द्र बुढाले राज्यले नदेखेको दुःख सामाजिक संस्था, अभियान्ता र संचारक्षेत्रले देखेको बताए । ‘वडामा दुःख छ भनेर पटक पटक योजना खोज्दापनि राज्यको लगानी भित्राउन नसकेकोमा नेवाले साथ दिएर यो बिकास भयो’ उनले भने,‘मर्मत गरेर नियमित चलाउने काममा भने वडाको बजेटबाटपनि संभव हुनेछ ।’ ठूलो लगानी नहुँदा वडाबासीले बर्षौदेखि दुःख पाएको उनको भनाइ छ ।





