बागलुङ, २ माघ– उजेली नेपाली सिगाना आएको धेरै बर्ष भयो । बिहे गरेर आउँदाको दिन यता उनले कहिलै पुरा निद्रा सुतेकी छैनन् । निद्रामै पानीकालागि लाईनमा बसेको सपना देख्ने उनलाई पानीका लागि झगडा नगरेको दिन के बिर्षेँ जस्तो लाग्छ । बिहान मिर्मिरे नहुँदै पँधेरा पुगेकी उनी पालो कुर्दाकुर्दा घण्टौं बितेको तितो यथार्थ सम्झीन्छिन् ।
बागलुङ नगरपालिका वडा नं.८ सिगानाको लामीचौरमा पानीका मुहान छैनन् । अधिकांश दलित समुदायको बसोबास रहेको गाउँमा भएको एउटा धारोमा पानी भर्ने पालोकालागि दिनदिनै झगडा हुन्छ । छिमेकमा भएका मुहान बिबाद गरेर स्थानीयले प्रयोग गर्नै दिँदैनन् । भएको एउटा धारोमा दर्जनौं गाग्रीले पालो लगाउँछन् । पालो मिच्नेहरुका कारण दिनदिनै झगडा हुनेगरेको उजेली सुनाउँछिन् । कठिनले तीन घण्टामा पालो पाउने गृहणीले जनतन काम चलाएका छन् ।
आफ्नै मुहान नभएकाले यहाँका उजेली नेपाली जस्ता सायौं घरका गृहणीले पानीको समस्या भोग्दै आएका छन् । स्थानीय तहको निर्वाचनको बेला मत माग्न पुगेका बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले माटो समातेर खाएको कसम लामीचौरकी सिता दर्जीको आँखामा झल्झली आउँछ । उनले आफ्नो कार्यकालमा लामाचौरमा पानी पु¥याउने भनेका थिए । निर्वाचनको समयमा यहाँ मत माग्न पुग्नेहरुको एक सुत्रिय प्रतिबद्धता पानी पु¥याउने हुन्थ्यो । पञ्चायत, राजतन्त्र, प्रजातन्त्र हुँदै गणतन्त्रका चिर्वाचन भोगेका उनीहरुले कहिलै पानी नपाएको गुनासो छ स्थानीय मन बहादुर नेपालीको ।
गण्डकी प्रदेश सरकारले गत बर्ष लामाचौरमा पानी पु¥याउनका लागि ६० लाख रुपैयाँ बजेट बिनियोजन ग¥यो । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय मार्फत आएको बजेट मुहान नपाएकै कारण फिर्ता भयो । लामीचौरका केही घरकालागि बागलुङ नगरपालिकाले २० लाख रुपैयाँ बजेट दियो । बिना स्टीमेट मुहान र ट्याङ्कीको काम गरेर १६ घरमा पानीको धारा त खसेको छ तर उपभोक्ता समितिले भुक्तानी भने पाएनन् ।
अहिले लामीचौरमा पानी पुग्ने आशा पलाएको छ । गाउँभन्दा ८ सय मिटर तल खोल्साको पानी सहमति गरेर लिफ्टिङ प्रबिधि मार्फत लामाचौरमा बितरण गर्ने योजनाको काम सुरु भएको छ । काठेखोला गाउँपालिका–७ रेशमा पर्ने पानीमुहान स्थानीयले समझदारीमा प्रयोग गर्ने भएका हुन् । लामाचौर खानेपानी उपभोक्ता समितिले मुहानको व्यवस्था गरेपछि योजनाको काम सुरु भएको उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर कार्कीले बताए । योजनाको मुहानमा बन्ने ट्याङ्कीको बिहिबार बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले शिलान्यास गरे । ‘अव लामाचौरमा पानी पु¥याउने भनेर भोट माग्ने संकृतिको अन्त्य हुन्छ, लेखेर राख्नुस डेढ बर्षमा घर घरमा पानी पु¥याउने वातावरण बनाउँछौं’ शिलान्यास पछि पौडेलले भने ‘प्रदेशको योजना सूचारु भएको छ, यसमा नगरपालिकाले खवरदारी र साझेदारी दुवै गर्छ ।’ शिलान्यासकालागि पुगेका नगरप्रमुखलाई स्थानीयले निर्वाचनका बेला खाएको कसम सम्झाएका थिए । स्थानीयका दुख सम्झेर पौडेल कार्यक्रममै भावुक भए ।
मुहानबाट २सय ५० मिटर हावामा र ८ सय मिटर मैदानमा पर्ने उच्च भागमा पानी पु¥याईने खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङका इञ्जिनियर इश्वरी सुवेदीले बताए । उनका अनुसार मुहानमा सानो ट्याङ्की बनाएर ७.५ एचपिको मोटरले मुख्य ट्याङ्कीमा पानी तानिने छ । मुख्य ट्याङ्कीबाट ८ सय मिटर माथी पु¥याउनकालागि २५ एचपीको मोटर प्रयोग हुने छ । २.५ इन्चको पाईपमा प्रतिसेकेण्ड २ लिटर पानी तान्ने योजना रहेको सुवेदीले बताए । ६ घण्टा पानी तान्दा लामीचौरका १ सय ८० घरमा पानी प्रसस्त पुग्ने छ । ५० हजार लिटरको एक, २० हजार लिटरको तीन र २० हजार लिटरको एक ट्याङ्की बनाउने योजना स्टमेट छ । चालु आर्थिक बर्षमा प्रदेश सरकारले १२ लाख रुपैयाँ बिनियोजन गरेको छ । ‘क्रमागत योजना भएकाले बजेट र स्टमेट बन्दै जान्छन् ।’ सुवेदी भन्छन् ‘मुहानको बिबाद भएकाले पहिले काम हुन सकेन, उपभोक्ता समितिले अव काम गर्ने हो ।’ लिफ्टीङ आयोजनाको शिलान्यास भएकाले अव पानी पाउने आशा पलाएको स्थानीय सीता दजीले बताईन् । पानीको अभावका कारण यहाँका स्थानीयले सरकासफाई र तरकारी खेतीकालागि समेत सास्ती भोग्दै आएका थिए ।





