बागलुङ, २ माघ– विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा शुक्रवार देशभर २३ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाईएको छ ।
बागलुङमा पनि बिबिध कार्यक्रमको आयोजना गरी यो दिवस मनाईएको हो । ‘बुहप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नाराका साथ दिवस मनाईएको हो । २३ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मुल समारोह समितिले आयोजना गरेको कार्यक्रममा बक्ताहरुले भुकम्प सम्बन्धि जनचेतना मुलक कार्यक्रमहरु अझै कम भएको टिप्पणी गरे ।
भूकम्प सुरक्षा हरेक नागरिकको लागि आवश्यकताको बिषय भएपनि सरोकारवालाकालागि मात्रै आँखा छल्ने प्रबृत्तिको विकास हुनु दुःखद रहेको उनीहरुको भनाई थियो । ‘हामीले बनाउने संरचना संबन्धित कार्यालय र सरकारकोलागि जस्तो गरेर भूकम्पीय सुरक्षा बिधि अपनाएका छौं’ जिल्ला समन्वय समितिका सह–संयोजक बिष्णु भुसालले भने ‘आफ्नै सुरक्षाकालागि भुकम्पीय सुरक्षा बिधि अपनाउनुपर्छ भन्ने चेतनाको बिकास गर्न जरुरी छ ।’ विद्यालय शिक्षा र सञ्चार माध्यमको अधिकतम प्रयोग गरेर गाउँ गाउँमा भुकम्पीय सुरक्षाका बिषयमा चेतना फैलाउनुपर्नेमा उनको जोड थियो ।
नेपाली कांग्रेस बागलुङका सचिव नवराज पौडेलले २०७२ को भुकम्प पछि भैरहेको पुन निर्माण व्यवहारिक नहुँदा सर्वसाधारणमा निरासा छाएको बताए । ‘ठुलो परिवारमा दुई कोठे घरको के काम ?’ पौडेलले भने ‘कहाँ भन्छा बनाउनु, कहाँ सुत्नु, होँचा घरहरुमा अग्ला मान्छेहरु नअट्ने समस्या छ ।’ पौडेलले बिधि बनाउने बेला बुद्धिमत्ता अपनाउनुपर्ने बताए ।
कार्यक्रममा उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले चेतना मुलक कार्यक्रमहरु बस्तीतहमा पु¥याउनुपर्नेभा जोड दिए । पत्रकार महासंघका कोषध्यक्ष बिजय रानाले पुन निर्माण र आन्तरिक सुरक्षामा कमजोरीहरु रहेको औंल्याए । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेडयुनीयन बागलुङका अध्यक्ष तेज प्रसाद निउरेले सबै क्षेत्रको परिचालनबाट हरेक बिपद्को सामना गर्नसक्ने समाज र संरचना तयार गर्नुपर्ने बताए । यो दिवस मनाउन थालेपछि विसं २०७२ वैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले करिब नौ हजार मानिसको ज्यान लिएको थियो । आठ लाखभन्दा बढी निजी घर ध्वस्त भएको तथ्यांक छ । नौ सयभन्दा बढी पुरातात्विक सम्पदा भत्केको बताइएको छ ।
बागलुङमा भुकम्पको समयमा भत्किएका निजी आवासका २ हजार ४ सय ८२ लाभग्राही छन् । जसमध्ये २ हजार ३ सय १० घरले अनुदानकालागि सम्झौता गरेका छन् । पहिलो किस्ताको रकम २ हजार २ सय ६६, दोस्रो किस्ताको रकम १ हजार ७ सय २३ र तेस्रो किस्ताको रकम १ हजार ४ सय ५६ घरले मात्रै लिएका छन् । कार्यक्रम प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षता, शिक्षा बिकास तथा समन्वय ईकाइ बागलुङका प्रमुख कुश्मराज उपाध्यायको स्वागत र रेनुका पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।





