बागलुङ, ३ माघ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालकै लामो झोलुंगेपुल उद्घाटन गरेका छन् ।
शनिवार बागलुङ नगरपालिका वडा नं. १ को बाङगेचउरमा आयोजित एक कार्यक्रममा तिमिल्सिनाले पुल उद्घाटन गरेका हुन् । ५ सय ६७ मीटर लामो यो झोलुंगेपुलले पर्वतसँग जोड्छ । पर्वतको पाङसँग जोडिएको यो पुलले दुइ जिल्लाका बासिन्दालाई वारपार गर्न सहज बनाएको छ । साथै पर्यटन प्रवद्र्धनकालागि पनि यो पुल उपयोगी भएको छ ।
पुल उद्घाटनमा बोल्दै अध्यक्ष तिमिल्सिनाले जनताको विश्वासमाथी घात गर्न नमिल्ने बताएका छन् । उनले जनताले कम्युनिष्टपार्टीलाई दिएको विश्वासको संरक्षणमा लाग्नुपर्ने समेत बताए । अदालतबाट जस्तो सुकै निर्णय आएपनि राजनीतिक नेतृत्वले स्विकारेर जानुपर्ने धारणा राखे । उनले अदालतको निर्णय नआउँदै आफ्नो निर्णय सुनाउने काम ठिक नभएको समेत बताए ।
कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री बिकास लम्सालले देशको बिकास निर्माणको साथी केपी ओली नेतृत्वको नेकपानै भएको दावी गरे । उनले केपी नेतृत्वको सरकार भएकै कारण ठूला आयोजनाहरु निर्माणमा सहजता भएको पनि बताए । उनले यतिबेला कांग्रेस धरमराएको भन्दै कुन कित्तामा उभिने भन्नेमा अन्यौल रहेको पनि बताए । नेकपाको अर्को समूहलाई चोइटिएको समुहको नाम समेत दिए ।
बागलुङ नगरपालिकाको अगुवाइमा दुइ बर्ष अघि थालनी भएको यो पुल १० करोड लागतमा निर्माण सम्पन्न भएको हो । निर्माण कंपनीले केही समय अघिनै काम सकेपनि कोरोना संक्रमणको जोखिम र लकडाउनका कारण पुल उद्घाटन हुन सकेको थिएन । वातावरण सहज भएपछि पुल उद्घाटन गरिएको हो ।





