बागलुङ, ४ माघ– राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले नेपाल कम्युनिष्ट पार्टीका शिर्ष नेताहरुको स्वार्थका कारण देशमा पछिल्लो राजनीतिक परिस्थिती सिर्जना भएको बताएका छन् ।
नेकपाका शिर्ष चार नेताका कारण जनताले विश्वास गरेर दिएको जनमतको कदर हुन नसकेको उनको भनाई थियो । ‘कम्युनिष्ट नेताहरुले जनताको मतको कदर गर्नुभएन्, सचिवालयका चार जना नेताका कारण अहिलेको राजनीतिक परिस्थिती निम्तियो, यो राम्रो भएन्’ तिमिल्सिनाले भने ‘पार्टीको आन्तरिक कारणले संसद बिघटन भएको हो ।’ उनले राजनीतिक स्थिरता र बिकासकालागि कम्युनिष्ट पार्टीले पाँच बर्षकालागि जनमत पाएको भएपनि त्यसको सदुपयोग हुन नसकेको बताए ।
शनिवार बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्ने नेपालकै लामो (संसारकै लामो दावी गरिएको) झोलुंगे पुलको उद्घाटन गर्दै संबैधानिक सर्बोच्चता र बिधिको शासन सबै नागरिकले मान्नुपर्ने बताए । पछिल्लो राजनीतिक परिस्थितीको टुंगो अदालतले लगाउने भन्दै उनले अदालतले गर्ने निर्णय संसद बिघटनको पक्ष र बिपक्षमा रहेका दुवैले मान्नुपर्ने बताए । अदालतमा बिचाराधिन अवस्थामा रहेको मुद्दामा राजनीतिक प्रभाव पर्नेगरी भैरहेका कृयकलाप गलत भएको उनको टिप्पणी थियो । ‘मैले अहिले बिरोध गर्नुस भनेर पनि कसैलाइ भन्दिन, नगर्नुस् भनेपनि कसैले मान्नुहुन्न’ तिमिल्सीनाले भने ‘संसद बिघटनको निर्णय सदर भए निर्वाचनमा जानु पर्छ, बदर भए प्रधानमन्त्रीले मान्नु पर्छ ।’ अदालतमा रहेको बिषयमा राजनीतिक दवाव सिर्जना गरेर अस्थिरता चाहनेहरुलाई मलजल भैरहेको उनको आरोप थियो । ‘बिघटन प्रति दलहरुका फरक मत छन् तर कसैले अदालतको निर्णय प्रभावित हुने काम नगरौं’ उनले भने ‘बिधिको शासन र संबैधानिक सर्बोच्चता मान्नेहरुले अदालतको निर्णय पर्खिनु पर्छ ।’ फरक प्रसंगमा तिमिल्सिनाले देशमा निर्माण व्यवसायी इमान्दार नभएसम्म बिकास सम्भव नभएको बताए । पछिल्लो समय केही इमान्दार निर्माण व्यवसायीले समयमा काम सक्दा बिकासले गति लिएको भन्दै उनले खरावलाई खवरदारी र राम्रो काम गर्नेको पहारेदारी गर्नुपर्नेमा जोड दिए । पुलको उद्घाटन गर्दै उनले सगरमाथा भन्दा बित्तिकै संसारको अग्लो हिमाल भएजस्तै लामो पुलको नामाकरण गरेर पहिचान बनाईने बताए । पर्यटन र आर्थिक उन्नतीको लागि लामो पुल सेतु बन्ने उनको धारणा थियो ।
कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन बन तथा वातावरण मन्त्री बिकास लम्सालले नेकपामा आएको संकट स्वार्थ समुहका कारण सिर्जना भएको दावी गरे । दाहल नेपाल समुहलाई बिर्किम्लाको संज्ञा दिँदै लम्सालले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा जनलहर रहेको बताए । बैशाखमा घोषणा गरिएको निर्वाचन जुनसुकै हालतमा हुने भन्दै उनले त्यसको तयारीमा लाग्न कार्यकर्तालाई आग्रह गरे । कार्यक्रममा संबिधानसभा सदस्य प्रकाश शर्मा पौडेल, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्याल, निवर्तमान प्रतिनिधिसभा सदस्य सूर्य पाठक, लुिबनी फाउण्डेसनका निर्देशक निरज गोविन्द श्रेष्ठ, स्थानीय पूर्वाधार बिकास बिभागका महानिर्देशक इश्वरचन्द्र मरहठ्ठा, नेपाली कांग्रेसका जिल्ला सभापति दिपेन्द्र बहादुर थापा लगायतले बोलेका थिए । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेको अध्यक्षता, कुश्मा नगरपालिका १ का अध्यक्ष देवेन्द्र सुवेदीको स्वागत र पत्रकार राम थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।





