मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

घर र जागीर सँगै व्यवसायिक बाख्रापालन

घर र जागीर सँगै व्यवसायिक बाख्रापालन


  • ढोरपाटन संवाददाता
  • माघ ४ २०७७, आइतबार

बागलुङ, ४ माघ– मेहेनत गर्ने हो भने एउटै व्यक्तिले धेरै क्षेत्रको काम भ्याउन सक्छ । जागिर, घरधन्दा र व्यवसाय बाटपनि सफलता पाउन सक्छ । यस्तै खाले उदाहरण बागलुङ नगरपालिका वडा नं. ११ रायडाँडाका चिरन्जिवी केसीले देखाएका छन् ।

पशुप्राविधिकको रुपमा वडा कार्यालयमा कार्यरत केसीले कार्यालय भ्याएर बार्षिक लाखौं कमाई गर्ने व्यवसाय पनि गरेका छन् । उनले चारवर्षदेखि व्यावसायिक बाख्रा फर्म चलाएका छन् । बाख्राबाटै उनले वार्षिक ४ लाख बढी नाफा कमाउन समेत सफल भएका छन् ।

बोयर जातको बाख्रा पाल्दा उनले मनग्ये आम्दानी कमाउन सफल भएका हुन् । बोयर जातको बाख्रा धेरै तौल हुने र बजारमा माग पनि बढ्दै गरेकोले कमाइ पनि राम्रो भएको उनले बताए । उनको फर्ममा अहिले १ सय बाख्रा छन् । २ वटा ठूला बोका छन् । उनको बोकालाई ४ लाख रुपैयाँ सम्म तिर्नेहरु आएका छन् । तर उनले व्यावसायिक फर्म चलाएकोले बोका मूल्यमा बेच्न नचाएको बताए । ‘वडाभरि नै बाख्राको फर्म चलाउने अभियान बनाएका छौ, मेरोजस्तै हरेक घरमा फर्म बन्नुपर्छ’, केसीले भने, ‘बजारको समस्या नभएकोले किसानलाई ढुक्क भएर काम गर्न पनि भनेका छौं ।’ केसी पशु प्राविधिक भएकोले उपचारको लागि आँफै खटिन्छन् भने बजारकालागि पनि बागलुङ, पोखरा र चितवनसम्म उनले सम्पर्क गराएका छन् ।
स्थानीय खरि जातको बाख्रामा बोयरको क्रस गराएर उनले बाख्रा पालिरहेका हुन् । यस्तो विधिले पाल्दा खरी जातको झै घाँस खाने, चर्न रुचाउने र तौल भने बोयरको जस्तै बढ्ने गरेको उनले अनुभव सुनाए । केन्द्रीय भेडाबाख्रा प्रवद्र्धन कार्यक्रममार्फत् तालिम पाएपछि ३ लाख लगानी गरेर २ वटा बोका र चारवटा माउबाट थालेको अभियानले उनी व्यावसायिक भैसकेका छन् ।
वडा नं. ११ रायडाडा वडा कार्यालयले पनि बाख्रा बिशेष कार्यक्रम संचालनकालागि खाली भएको पाखो र बसाइ सरेकाहरुको घरबारी एकीकृत गरेर बाख्रा फर्म चलाउने अभियान चलाएको छ । ‘बाख्राका लागि किसानलाई एकजुट बनाउने र अनुदानको समेत खोजीमा लागेका छौं’, वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले भने, ‘जैविक कृषि सहकारी मार्फत हरेक घरमा शेयर सदस्य बनाउने र त्यसबाटै बाख्रापालनमा लगाउने काम पनि सुरु भएको छ ।’ गाउँभरी बाख्रा फर्म चलाउन सक्दा बसाइ सरेका युवाहरु फर्केर आउने वातावरण बन्ने उनले बताए । घरै बस्नेगरी नआए पनि काम गरेर तलब पाउने गरी पनि मानिस फर्काउन सकिने उनले बताए ।

केसीका अनुसार रायडाँडामा मात्रै अहिले १७ वटा बाख्रा फार्म संचालन भैसकेका छन् । ती मध्ये १० वटा खरी बाख्राका छन् भने ७ वटा बोयरका हुन् । सबै फार्मले क्रमश बोयर पनि सँगै पाल्ने तयारी गर्दैछन् । ‘बोयर जातको बाख्राकालागि हाडनाता लाग्ने गरी बोका लगाउनु हुँदैन, त्यसैले अब नयाँ बोका ल्याउने योजना छ’ उनले भने, ‘चितवन गएर नयाँ बोका ल्याउने तयारी छ ।’ यहाँका सबै बाख्रा स्थानीय बजारमै खपत भैरहेको उनले बताए ।

रायडाँडामा ५ वटा बाख्रा पालन समूह छन् । ती सबै समूहमा आबद्ध किसानकालागि केसीले प्राविधिक सहयोग गर्नुपर्छ । पालैपालो किसानको घरमा पुग्ने, दिउसो कार्यालयको काम गर्ने र बेलुकी आफ्नो घरको काम समेत उनले भ्याउने गरेको स्थानीय केयरसिंह थापाले बताए । ‘रातिको १० बजेसम्म पनि उनले बाख्राको काम गरिरहेका भेटिन्छन्’, थापाले भने, ‘काम बिशेषले उनी कतै गए भने गाउँभरका किसानको काम रोकिन्छ ।’ सामान्य प्राविधिक काम भने केसीको भाई दुर्गाले पनि सिकेका छन् । नियमित खोप, भिटामिन बितरण, बेलाबेला आउने अन्य समस्या समाधानका लागि केसी एक्ला प्राविधिक हुन् । एकगाउँ एक प्राविधिक कार्यक्रम मार्फत ६ बर्षदेखि उनी कार्यरत छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->