मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

परिवारको मियो नै अस्वस्थ भएपछि…

परिवारको मियो नै अस्वस्थ भएपछि…


  • ढोरपाटन संवाददाता
  • माघ ५ २०७७, सोमबार

बागलुङ, ५ माघ– परिवारको खर्च चलाउन लामो समय वैदेशिक रोजगारीमा बसेका रामचन्द्र बोहरा दुईवर्ष पहिले घर फर्किए । शरीर अस्वस्थ भएर घर फर्किएका बोहरालाई त्यति बेला आफ्नो दुबै मृगौलाले काम गर्न छोडेको थाहा भयो, जतिबेला उनी परिवारको करकापले अस्पताल पुगे ।
पोखराको आस्था मृगौला तथा स्पेशलाइज्ड अस्पतालले उनको दुवै मृगौलाले काम गर्न छोडेको बताएको छ । बागलुङ नगरपालिका–१३ पैंयुपाटाका ३३ वर्षीय बोहरा यतिबेला अस्पतालको शैयामा छटपटाइरहेका छन् । अहिले उनको हप्तामा दुईपटक डायलासिस गर्नुपर्छ ।
मध्यम परिवारका रामचन्द्रलाई डायलासिस मात्रै गर्नसमेत आर्थिक कठिनाई छ । चिकित्सकले उनको मृगौला प्रत्यारोपण गर्नुपर्ने भनेका छन् । ‘खर्च थेगिसक्नु छैन, मजदुरी गरेर छाक टार्न कठिन भएर विदेश गएको छोरा बिरामी भएर फर्किएको छ’, रामचन्द्रका बाबुकृष्ण बोहराले भने ‘घरभरी बिरामी छन्, रेखदेख गर्ने छोरो अस्पतालको शैयामा छ ।’ रामचन्द्रकी आमाको २०७४ मा टाउकोको अप्रेसन भएको थियो । कठीन खालको अप्रेसन गरेकाले उनले केही काम गर्न सक्दिनन् । बोहरा परिवारले रामचन्द्रलाई बचाइदिन आग्रह गरेको छ ।
‘मृगौला त मै दिन्थ,ेँ तर पहिला पैसा चाहिने भयो, किनेर साध्य छैन’, कृष्ण भन्छन् ‘कसैको मन पलाए मेरो छोरा तंग्रिन्थ्यो ।’ उनको डायलासिसका लागि हप्तामा ७ हजार रुपैयाँ खर्च हुन्छ । मृगौला प्रत्यारोपणकालागि कति खर्च लाग्ने भन्ने बिषयमा अस्पतालले केही बताएको छैन् । ‘मेरो जाँच गरेपछि मिल्यो भने खर्चको जोहो गर्ने भनेको छु’, कृष्ण भन्छन् ‘घरकै आम्दानी केही छैन्, सहयोग कसैले गरेभने अनि खर्चको बिषयमा खोज्नुपर्ला ।’ अस्पतालमा भेट्न पुग्ने जो कोहीसँग रामचन्द्रले गहभरी आँसु देखाउँछन् । ‘भएको पैसा चेकजाँचमै सकियो, ऋण समेत पाउन गाह्रो छ ।’ उनले भने ‘कसैको सहयोग पाउन सके नयाँ जीवन पाउने आशा छ ।’ उनका ८ वर्षका छोरा छन् । पेटको शल्यक्रिया गरेकाले बोहोराकी पत्नि कमजोर छिन् । ‘मजदुरी गर्ने बाबा, आमा हजुरबुबा मेरै आसामा बाँची रहेका छन् ।’ बोहराले भने, ‘छोरा लाई धेरै पढाउने लेखाउने सपना थियो, श्रीमती कमजोर छन्, म यता जीवन मरणको दोसाँधमा छु ।’ रामचन्द्रको परिवार अहिले ‘हाम्रो रामचन्द्रलाई बचाइदिनुहोस् भन्दै सहयोगकालागि अपिल’ गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->