बागलुङ, ६ माघ– ‘रोग पालेर होईन, फालेर बाचौं’ भन्ने मान्यतालाई सार्थक तुल्याउन बागलुङको बरेङ गाउँपालिकाले विद्यार्थी स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालनमा ल्याएको छ । गाउँपालिका भित्रका सबै विद्यालयमा अध्ययनरत विद्यार्थीको स्वास्थ्य परीक्षण गर्न थालिएको हो ।
बालविकास केन्द्रदेखि कक्षा १२ सम्मका विद्यार्थीलाई स्वास्थ्य संस्थारुसँगको सहकार्यमा स्वास्थ्य परीक्षण गरीने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले ब ताए ।
विद्यार्थीहरुको रक्तचाप, ज्वरो, तौल, उचाई, आँखाको दृष्टि परीक्षण, कानको श्रवण शक्ति परीक्षण र विद्यार्थीको आवश्यकता अनुसारको अन्य अंगको पनि परीक्षण तथा परामर्श दिने अभियान सुरु भएको थापाले जानकारी दिए ।
गाउँपालिकाले बनाएको कार्यबिधि अनुसार विद्यालयहरुले स्वास्थ्य संस्थालाई बिद्यार्थीको संख्या र आवश्यकताको बिषयमा जानकारी गराउनेछन् । विद्यालयले उपलव्ध गराएको बिबरणको आधारमा समय उपलव्ध गराएर विद्यार्थीको स्वास्थ्य परीक्षण गर्न स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिईएको छ । विद्यालय व्यवस्थापन समिति, अभिभावक, जनप्रतिनिधि समेतको उपस्थितीमा विद्यार्थीको नियमित स्वास्थ्य जाँच र त्यसको फाईदा व्यफाईदाको बिषयमा जानकारी गराउन निर्देशन दिईएको थापाले बताए ।
‘स्वस्थ्य नागरिक, स्वस्थ्य समाज र स्वस्थ्य जीवन निर्माण गर्नु हाम्रो दायीत्व हो’ गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले भने ‘विद्यार्थी सूचना र चेतनाका संवाहकपनि हुन त्यसैले स्वस्थ्य समाज निर्माणकालागि विद्यार्थीको स्वास्थ्य परीक्षण कार्यक्रम बनाएका हौं ।’ स्वास्थ्य सेवा सर्वसाधारणकालागि अत्यावश्यक सेवा भएकाले विद्यालय तहबाटनै सुदृढ, सेवामुलक र उत्तरदायी बनाउने अभियान थालेको उनको भनाई थियो ।
विद्यालयले स्वास्थ्य संस्थाले उपलव्ध गराएको समयमा विद्यार्थी उपलव्ध गराउने, अभिलेख राख्ने र निरन्तर जाँच गर्नुपर्नेलाई अभिभावकलाई जानकारी गराउने लक्ष पनि राखिएको छ । ‘कोभिड–१९ को रोकथाम र उपचारको बारेमा स्वास्थ्य परीक्षणका क्रममा विद्यार्थीलाई जानकारी गराईने छ’ थापाले भने ‘घर घरमा चेतना फैलाउँदै समाजलाई स्वस्थ्य राख्ने अभियान हो यो ।’ स्वास्थ्य क्षेत्रलाई बिषेश प्राथमिकता दिएर सवल मानव पूँजी निर्माण गर्ने लक्ष राखिएको हो । ‘नेपालको संविधानले प्रत्याभुत गरेको निशुल्क आधारभुत स्वास्थ्य अधिकार प्रदान गर्नु हाम्रो दायीत्व हो’ थापाले भने ‘बिकासको साध्य र साधन दुवै नागरिक हुन्, विद्यार्थी स्वस्थ्य हुँदा भोलीको समाज स्वस्थ्य हुन्छ र उत्पादकत्व बढ्छ ।’ विद्यार्थीको स्वास्थ्य परीक्षणकालागि गाउँपालिकाको स्वास्थ्य शाखा अन्तरगतका सबै स्वास्थ्य संस्थाहरु परिचालन हुनेछन् । विद्यालयले समय तालिका व्यवस्थापनको काम गर्नेछन् । गाउँपालिकाले आवश्यक उपकरण, औषधी प्रदान सहित मुल्यांकन र प्रोत्साहनको व्यवस्था गर्नेछ ।





