बागलुङ, ६ माघ– बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले कानून बनाउँदा भएका त्रुटी सच्याउने, परिमार्जन गर्ने र परिस्कृत गर्दै लैजाने बताएका छन् ।
उनले एकैपटकमा सबै कानुनहरु सोचेजस्तै नहुने भएकोले समय अनुसार आउने सुझाव, परिस्थितिको आकंकलन र आबस्यकता हेरेर परिवर्तन हुने बताए । सयपत्री समाज पोखराले बागलुङ नगरपालिकासँग गरेको छलफल तथा अन्तरक्रियामा नगरप्रमुख पौडेलले संघिय कानूनमा नबाझीने गरी स्थानीय कानुन बनाउँदा केही कमीकमजोरी हुने समेत बताए ।
समाजले बागलुङ नगरपालिकाले बनाएका कानून मध्ये ३ वटाको समीक्षा कार्यक्रम राखेको थियो । मंगलवार आयोजित छलफलमा समाजका पदाधिकारीले हरेक पालिकालाई उत्तरदायी बनाउने, कानून निर्माणमा सहयोग गर्ने र लोकतन्त्रप्रति आस्थावान बनाउने काममा समाजले सहयोग गर्दै आएको बताए । ती आधारकालागि उनीहरुले बनाएका कानूनको अध्ययन गरी सल्लाहसुझाव दिने समेत बताए । ‘कानून बनाउने क्रममा सरोकारवाला र केही बिज्ञलाई राखियो भने समयमै आउने सुझावले प्रभावकारी कानून बन्छन्’ समाजका सचिव गिरिधारी सुवेदीले भने, ‘बनिसकेका कानुनमा देखिएका त्रुटी औल्याउने, नीति र कार्यक्रमबीचको तादम्यता मिलाउने लगायतको काम पनि गरेका छौं ।’ उनले बागलुङ नगरपालिकाले बनाएका ३ वटा कानून सहित गण्डकी प्रदेशका ६ वटा पालिकाको कानूनको अध्ययन, उनीहरुको बजेटको तुलनात्मक अध्ययन र कार्यान्वयनको अबस्था बारे समीक्षा गर्दै आएको बताए ।
बागलुङ नगरपालिकाले बनाएको भगत सर्वजित रोजगार प्रर्वद्धन कार्यक्रम कार्यान्वयन कार्यविधि २०७५, गरिबस“ग मेयर ऋषिराम कार्यक्रम संचालन निर्देशिका २०७५ र बिपत पूर्व तयारी तथा व्यवस्थापन ऐन २०७५ बारेको समीक्षा गरिएको हो । अन्य पालिकाका पनि तोकिएका ऐनमा छलफल गरिएको उनले बताए । पालिकाले चासो नराखेकोले कानून जसकालागि आएको हो उनीहरुनै अनविज्ञ रहेको पनि बताए ।
अन्तरक्रियामा बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले स्तन्त्र संस्थाले औल्याइदिने कमीकमजोरीबाट सिकेर कानून निर्माणको काम पनि सक्षम बन्ने बताए । ‘संविधानपनि सशंधोन मार्फत बनाइएका छन्, हामीले के गर्न सक्छौं र ?’ उनले भने, ‘सुझावबाटै परिस्कृत भएको कानूनले सबैको माग सम्बोधन गर्न सक्छ ।’ बागलुङ नगरपालिकाले आफ्नै मौलिक दुइ कानून बनाएर उदाहरण प्रस्तुत गरेको समेत उनले बताए । समाजका अध्यक्ष तथा पृथ्वीनारायण क्याम्पसका पुर्व प्रमुख गेहेन्द्रेश्वर कोइरालाको अध्यक्षता, सचिव सुवेदीको संचालन र उपाध्यक्ष उमानाथ बरालको स्वागतमा सम्पन्न कार्यक्रममा बागलुङ नगरपालिकाले ल्याएको कानूनको औचित्य बारेमा अधिवक्ता राजुप्रसाद गौतमले टिप्पणी गरेका थिए ।
कार्यक्रममा गोबिन्द गौतम, विश्वनाथ रेग्मी, बागलुङ नगरपालिकाको कानून मस्यौदा समितिकी संयोजक लक्ष्मी बास्कोटा, गैसस महासंघका अध्यक्ष मुक्तीराम सापकोटा, सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष राज थापा लगायतले कानून निर्माणमा सरोकारवालाको सहभागिता कम भएको टिप्पणी समेत गरेका थिए । सयपत्री समाजले सबैपालिकाहरुको अध्ययन गरेर आगामी दिनमा उनीहरुले ल्याउने कानून, नीति, कार्यक्रम र बजेट थप प्रभावकारी बनाउने अभियानमा साथ दिने लक्ष राखेर नियमित काम गरिरहेको कोइरालाले जानकारी दिए ।





