बागलुङ, ७ माघ– गत भदौको १७ गते बाढी र पहिरोले सिंगो बस्ती बगाएपछि उद्दार र राहतकालागि पुगेका गृहमन्त्री रामबहादुर थापा सहितका मन्त्री र नेताहरुले ढोरपाटनको बस्ती बसालने घोषणा गरे ।
कतिपयले एकीकृत बस्तीको कुरा गरे भने कतिपयले पीडितको जग्गा जता छ त्यतै बस्ती बसाल्ने योजना सुनाए । तर त्यो घोषणको ६ महिना पुग्नैलाग्दा ढोरपाटनका पीडित भने चिसो भुइमै बस्न बाध्य छन् । घर बनाउने ठेगान नभएपछि छाप्रो बनाएर बस्न बाध्य छन् ।
ढोरपाटन नगरपालिका वडा नं. ९ स्थित भुजीखोलाको बाढीपहिरोले घरखेत र परिवारका सदस्य बगाएपछि उनीहरुको बिचल्ली भएको हो । आश्वासन दिएकाहरुले भने अझै घर बनाउन सहयोग समेत गरेका छैनन् । पहिलो लगत्तै धेरै दाता र सहयोगीबाट खाद्यान्न र लत्ता कपडा सहयोग पाएका उनीहरुले दिगो बसाईकालागि भने अनुदान पाउन सकेका छैनन् । पटक पटक पीडित भेट्न गएका मन्त्रीहरुले बस्ती बसाल्ने घोषणा गरेका थिए । तर अहिले सम्म बस्ती बसाल्ने बिषयमा ठोस पहल नभएको स्थानीयले गुनासो गरे । ‘सहयोग त धेरैले गर्ने सुनाए, अहिले सम्म सहयोग गर्ने गरी कोही आएको छैन, सरकारी तहको सहयोग पनि अझै आइसकेको छैन’ वडा अध्यक्ष हरिबहादुर घर्तीमगरले भने, ‘अहिलेको चिसोमा उनीहरुले न्यानो गरी बस्न नपाएकोले धेरैलाइ विश्वास पनि छैन ।’ पीडितले अहिले पनि जाडो खेपेर छाप्रोमा बस्न बाध्य भएका हुन् । पहिरो पीडितलाई सहयोग गर्न जिल्लाबाटै निर्वाचित सांसदहरु समेत अगाडि नदेखिएको गुनासो समेत उनीहरुले गरे ।
पहिरो खसेको एकदुइदिनमै नगरप्रमुख देवकुमार नेपालीले पनि घर बनाइदिने घोषणा गरेका थिए । गृहमन्त्री थापासँगै पुगेका राष्ट्रिय पुन निर्माण प्राधिकरणका प्रमुख समेतले एकीकृत बस््तीको कुरा पनि सुनाएका थिए । अहिले नेपालीले नगरको मात्र एकल रकम नभइ संघ र प्रदेशबाट आउने सहयोग नपाएर काम गर्न नसकेको बताउन थालेका छन् । ‘माथिको बजेट आएको छैन, त्यसैले दिगो घर बनाउने योजना सुरु गर्न सकिएको छैन’ नेपालीले भने,‘यो बर्ष काम थालेर पीडितलाई बस्ने व्यवस्थापन गर्छौ ।’ पीडित भने चिसोमा भुइमै बस्नुनर्पे, छाप्रोमा बस्दा झरी पर्दा बिजोग हुने अबस्थामा छन् ।
भुजीखोलाको बाढीपहिरोले किनारको १ सय २६ घर बगेको तथ्यांक थियो । घटनामा २२ जनाको मृत्यु भएको थियो भने अझै १५ जना हराएका छन् । कतिपयले आंशिक क्षति भएका घर मर्मत गरेर बसेका छन् । मर्मत गरेपनि बर्षातमा फेरी जोखिम हुने खतरा समेत छ । पूर्ण क्षति भएका पीडितहरु भने कता बस्ने भन्ने यकिन गर्न सकेका छैनन् । आफ्नै जमिन भएकाले घर बनाउने योजना बनाएका छन् । कतिपयको जमिन छैन । त्यसैले अर्काको बारीमा छाप्रो बनाएर बसेका हुन् । दिगो बस्तीकालागि के गर्ने भन्ने अझै अन्यौल भएको पीडित हुमबहादुर बिकले बताए ।
पहिरोले बस्ती सँगै ढोरपाटन जाने सडक पनि बगाएको थियो । उक्त सडक सामान्य रुपमा ट्रयाक खुलाइएको छ । सालझण्डी ढोरपाटन सडक आयोजनाले यो बाटो बनाउनुपर्ने भएपनि अहिले सम्म स्तरीय बनाउने काम थालेको छैन । जिप चढेर जानेलेपनि सास्ती खेपेर मात्र यात्रा गर्छन् । पहिरोले दर्जनौ पहिरो चलाएकोले हिउँदमा सामान्य लागेपनि बर्षातमा फेरी खतरा र दुर्घटना हुने अबस्था देखिएको वडा नं. ८ का अध्यक्ष नन्दे सुनारले बताए । चिसो भुइमा बस्दा कतिपय बालबालिका र बुढाबुढी बिरामी पनि परेको स्थानीय शिक्षक रामबहादुर घर्तीले बताए । बाढी पहिरो आएको एक महिना सम्म चामल, नुन तेल सहित लत्ता कपडा बोकेर राहतकालागि पुगेकाहरु आउन छाडेपछि पहिरो पीडितलाई साथ दिने कोही नपुगेका हुन् । धेरै पालिका, दाता र सहयोगीले नगरपालिकालाइ नगदै रकम हस्तान्तरण समेत गरेका थिए । उक्त रकम कता प्रयोग भएको छ भन्ने अहिले सम्म सार्वजनिक पनि भएको छैन ।





