बेनी, ७ माघ– पश्चिम म्याग्दीको मंगला गाउँपालिका–२, बाबियाचौरस्थित लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसमा सामान्य धारको पढाइभन्दा बजारमा छिटो रोजगारी पाउने र आकर्षक कमाई हुने भनिएको प्राविधिक धारका विषयलाई प्राथमिकता दिनुपर्ने सरोकारवाला निकायले जोड दिएका छन् । पश्चिम म्याग्दीको एक मात्र क्याम्पसको दोस्रो क्याम्पस सभाको अवसरमा बोल्ने बक्ताले क्याम्पस तहमा सामान्य धारको पढाइ सकेर गएका विद्यार्थीले रोजगारको क्षेत्रमा धेरै संघर्ष गनुपर्ने र अन्तिममा बैदेशिक रोजगारीमै आर्कषित हुने गरेको अवस्थामा अध्ययन समाप्तिपछि सहजै रोजगारीमा जाने पाइने धारको अनुमति ल्याउन दिनुपर्नेमा दिएका थिए । उद्घाटन गर्दै विगठित प्रतिनिधि सभा सदस्य भूपेन्द्रबहादुर थापाले उत्र्तिणा जनशक्ति सिधै रोजगारीमा जाने अवस्था बनाउनुपर्ने बताए । ‘क्याम्पसले बेरोजगारी जनशक्ती उत्पादन गर्ने होईन्,‘पूर्ण रोजगारीमा जान सक्ने विषयलाई प्राथमिकता दिनुपर्छ’ थापाले भने ।
जिल्ला सदरमुकाम बाहिर स्थापना भएको क्याम्पसमा सामान्य धारको पढाईले विद्यार्थी संख्या,नियमित स्रोतको ब्यवस्थापन लगायतमा देखिएको समस्या समाधानमा समेत प्राविधिक धार नै अन्तिम विकल्प भएकाले प्रदेश र संघीय सरकारका निकायबाट आवश्यक सहयोगको अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए । ‘ब्यवहारिक ज्ञान दिने विषयलाई नै प्राथमिकता दिएका छौ,‘बाहिरी जिल्लाबाट समेत विद्यार्थी आउने वातावरण बनाउन सकिन्छ’ अध्यक्ष रोकाले भने । उनले डिप्लोमा तह अन्तर्गत ईलेक्ट्रीकल इन्जीनियरिङ, आईएस्सी एग्रिकल्चर विषयलाई समावेश गर्न सकिने बताए । श्रम बजारमा माग भए अनुसारको जनशक्ति उत्पादनका लागि सीटीइभीटीका अन्य विषयहरुलाई समेत सञ्चालन गर्न सकिने बताए । स्थानीयले चन्दा संकलन गरी शिक्षकको तलब, भौतिक पूर्वाधारका लागि जग्गा ब्यवस्थापन स्थानीय पूर्वाधार विकास कार्यक्रमबाट सांसद थापाले सबैभन्दा धेरै ७० लाख रुपैयाँ बजेट विनियोजन गरेपछि भवन निर्माणधिन अवस्थामा रहेको छ । ७० लाख रुपैयाँको बजेटबाट मंगला शिक्षा क्याम्पसको ८ कोठे भवन र शौचालय निर्माणसम्पन्न भएको छ । यसैगरी मंगला गाउँपालिकाको गत आवमै २० लाख रुपैयाँ बजेटबाट निर्माणसम्पन्न भवनको तल्लो कोठामा रङरोगन तथा माथिल्लो तलामा पार्टेसनको काम गरिएको छ । त्यस्तै चालु वर्षमा गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनको पहलमा २५ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा कार्यान्वयनको क्रममा रहेको जनाइएको छ ।
यसअघि मंगला शिक्षा क्याम्पसको भवन निर्माणका लागि जग्गा खरिद गर्न स्वदेश तथा विदेशबाट गरी झण्डै साढे ८७ लाख रुपैयाँ आर्थिक सङ्कलन गरिएको थियो । सङ्कलित रकमबाट बाबियाचौरको लाम्पाटामा साढे ३३ रोपनी जग्गा खरिद गरी क्याम्पसको भवन निर्माण गरिएको क्याम्पस सञ्चालक समिति अध्यक्ष श्रीराम पौडेलले बताए । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले मंगला शिक्षा क्याम्पसले पश्चिम म्याग्दीमा शैक्षिक क्षेत्रको विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए । क्याम्पस सभाको उद्घाटन सत्र को अध्यक्षता, क्याम्पस प्रमुख पितमबहादुर खत्रीको स्वागत र सहप्राध्यापक चन्द्रा रोकाको सञ्चालनमा सम्पन्न भएको थियो । क्याम्पस सभाको बन्दसत्रले क्याम्पसको नयाँ सञ्चालक समिति निर्वाचित गर्ने जनाइएको छ । क्याम्पस सभाको अवसरमा क्याम्पसले थालेको आर्थिक सङ्कलन अभियान तथा जग्गा खरिदलगायत कार्यमा सहयोग गर्नेहरुलाई प्रमाणपत्रले सम्मान गरिएको थियो । सोही अवसरमा सञ्चारमाध्यमबाट सहयोगी भूमिका खेलेको भन्दै पत्रकार हरिकृष्ण गौतमलाई सम्मान पत्र र नगद १५ हजार रुपैयाँ प्रदान गरी सम्मान गरिएको थियो ।





