बागलुङ, ७ माघ– कान्लामा रहेका चिलौनेका रुखहरुको फेदको ठुटो कुहिन थालेको छ । खेती मासेको भनेर ढलाईका रुखको ठुटो कुहिंदैगर्दा खेतका गह्रा भने हराभरा हुँदैछन् । गत असारमा लगाएका कागतीका बिरुवामा पलाएको मुनाले बोटको रुप धारण गर्दै छ । बिरुवामा मुना मात्रै पलाएका छैनन् तिनै मुना हेरेर दंग पर्ने किसानका मनमा आशाको सागर पनि पलाएको छ । बागलुङ नगरपालिका वडा नं. १२ को सहँेलामा रहेको ठुलो फाँट यतिबेला कागतीका बिरुवामा पलाएको मुनाले सिंगारिएको छ । रुख र झारपात फाँडेर उजाड देखिने खेत नजिकैबाट नियाल्दा भने भविश्यको भाषा बोलिरहेको हुन्छ । खेती छाडेर खाडल खनेर कागतीको बिरुवा लगाउँदा धेरैले खेत बाँझो राखेको भनेर किसानहरुलाई गाली गरेका थिए । अहिले हुर्किदै गरेका कागतीका बिरुवाले प्रश्नहरुको जवाफ दिईरहेका छन् । सहेँलाको यो फाँटमा रहेको खेतको मोही भने धेरै बागलुङ नगरपालिका–१४ मा बस्छन् । अर्माह गाउँमा बस्ने ४० जना किसानहरुको एउटा समुह छ । ‘चासो कृषक समुह’ले जमिन एकिकृत गरेर कागती लगाएको हो ।
‘आम्दानीकालागि क्रमभंगता गर्नै पर्ने थियो, त्यो साहस हामीले ग¥यौं’ समुहका अध्यक्ष केशव सुवेदी भन्छन् ‘बिरुवा रोप्ने बेलासम्म के कसो हुने हो भन्ने थियो, अहिले मुना पलाए, हाम्रो आश जागेको छ ।’ परम्परागत खेती प्रणालीले खर्च समेत नउठे पछि बाली परिवर्तनमा लागेको सुवेदी बताउँछन् ।
तीन सय रोपनी जमिनलाई एकिकृत गरेर कागती खेती थालिएको छ । यो बर्ष २ हजार १ सय बिरुवा रोपिएको र बाँकी जमिनमा अर्को बर्ष बिरुवा लगाउने योजनामा किसान छन् । ‘हाम्रो सिकाई पनि हो एकै पटक लगाउँदा उत्पादन पनि एकै खालको हुन्छ’ सुवेदी भन्छन् ‘बिरुवा जस्तै उत्पादनमा पनि बिबिधताकोलागि हामीले क्रमश काम गर्ने सोँच बनायौं ।’ उनीहरुले छिटो उत्पादन लिन हागा नर्सरी गरीएका बिरुवा र बिउँबाट निकालिएका बिरुवा दुवै लगाएका छन् । किसानले कागती खेती आफ्नै बलबुताले सुरु गरेका हुन् । अहिले भने सरोकारवाला निकायको ध्यान तानिएको छ । एक रोपनी जमिनको प्रतिवर्ष ५ हजार रुपैयाँ उपलव्ध गराउनेगरी जमिन एकिकृत गरिएको थियोे । यो बर्षको बर्षे फसल आउने समयमा जग्गाधनीलाई रकम उपलव्ध गराईने छ । अधिकांश किसान समुहमा आबद्ध रहेकाले उनीहरुको शेयर बृद्धि गर्ने योजनामा समुह छ ।
अहिले एक सय रोपनी जमिनमा बिरुवा लगाईएको छ । बाँकी दुईसय रोपनी जमिनमा बिरुवा लगाउन स्थानीय सरकार र सरोकारवालको समेत चासो बढेको वडाअध्यक्ष चक्रबहादुर खत्री बताउँछन् । ‘हामीले यो काममा प्रोत्साहन गर्छौं, किसानले समुहमा उत्पादन गर्न थाले भने आम्दानी र रोजगारी दुबै बढ्छ’ खत्रीले भने ‘वडा, नगर र प्रदेशका कार्यक्रममा यो परियोजना समाबेश हुन्छ ।’ नगरपालिका वडा कार्यालयका साथै कृषि सँग सम्बन्धित सरकारी कार्यालयहरु समेत उनीहरुको खेती हेर्न पुग्न थालेका छन् । बिरुवा, सिंचाई र व्यवस्थापनकोलागि सहयोगहरु जुट्न थालेको समुहले जनाएको छ ।
दुई जना किसानलाई कर्मचारीको रुपमा परिचलन गरेर खेतीको रेखदेख, मल र सिंचाई गर्न थालिएको अगुवा किसान ढाकाराम सुवेदीले बताए । अहिले मुना पलाएको कागतीले चार बर्षमा फसल दिने उनले बताए । समुहले २ हजार १ सय बिरुवाका लागि मात्रै ४० लाख रुपैयाँ खर्च भएको जनाएको छ । अझै बाँकी जमिनमा बिरुवा लगाउँदा खर्च बढ्छ । ‘अहिलेको खर्च मात्रै हेरेका छैनौं, भोलीको आम्दानीको पनि हिसाव गरेर काम थालेका हौं’ सुवेदीले भने ‘पहेंलपुर कागती सुन जस्तै टल्काउने लक्ष छ ।’ चार बर्षपछि एउटै बिरुवाले दश बिरुवा बराबरको खर्च उठाउने उनले विश्वास व्यक्त गरे । बजारमा कागतीको माग र मुल्य राम्रो रहेकाले उनीहरुले व्यवसायीक खेती थालेको बताए । अहिले स्थानीय बजारमा कागतीको मुल्य प्रतिकिलो २ सय २० रुपैयाँ पर्छ । एउटा वयस्क कागतीको राम्रो बोटले बर्षमा एक सय किलोभन्दा धेरै उत्पादन दिन सक्छ । उनीहरुले कागतीका लागि मल र किसानहरुको थप सहभागिता बृद्धि सोही जमिनमा गाई फार्म, र भित्री बालीको समेत योजना बनाएका छन् ।





