शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

स्वयंसेविका भन्छिन्,– ‘खोप लाएपछि त कोरोना नसर्ला नि’

स्वयंसेविका भन्छिन्,– ‘खोप लाएपछि त कोरोना नसर्ला नि’


  • ढोरपाटन संवाददाता
  • माघ १५ २०७७, बिहिबार

पोखरा, १५ माघ– कास्कीको अन्नपूर्ण गाउँपालिका–२ ढिकुरपोखरीका तुलसी भण्डारी स्वास्थ्य स्यंसेविका हुन् । गाउँमा कोही विरामी हुँदा होस् या बालबालिकालाई खोप लगाउन महिला स्वयंसुविधा नै परिचालन हुन्छन् । गाउँभरीका मानिसको स्वास्थ्य स्थिति महिला स्वयंसेविकाले निरिक्षण गरिरहेका हुन्छन् । गाउँमा कस्को स्वास्थ्य स्थिति के छ ? कति जना सुत्केरी छन् र कति जना खोप लगाउनुपर्ने बालबालिका छन्, सबै भण्डारीलाई कण्ठै छ ।
गाउँभरीका बालबालिका बटुलेर खोप केन्द्रमा पु¥याउने तिनै भण्डारी बुधबार भने आफै खोप लगाउन पोखरा झरिन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुगेर उनले खोप लगाइन् र भनिन्, ‘अब त मरिदैन नि ।’ सरकारले बुधबारदेखि देशव्यापी कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु गरेको छ । पहिलो चरणमा कोरोना विरुद्धको लडाइमा रहेका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, स्वास्थ्य स्वयंसेविका, संक्रमितको शव व्यवस्थापन गर्ने सुरक्षाकर्मीलगायतले खोप लगाउँदैछन् ।
ढिकुरपोखरीबाट यही कोरोना विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन आएकी भण्डारीले अब कोरोना भाइरस नलाग्ने विश्वास व्यक्त गरिन् । ‘अहिलेसम्म कोरोनाबाट जोगिएको थिएँ’, उनले भनिन्, ‘खोप लाएपछि त कोरोना नसर्ला नि ।’ कोरोना महामारी विरुद्धको लडाईमा गाउँमा उनी सक्रिय भएकी थिइन् । गाउँमा कोरोना सचेतना जगाउन घरघरमा पुगेर उनले मास्क लगाउनेदेखि साबुनपानीले मिचेर हात धुन सिकाएकी थिइन् । स्वास्थ्य चौकीले दिएको कोरोनाबाट जोगिने उपायबारेको पर्चा घरघरमा पु¥याएकी थिइन् ।
बुधबार पहिलो डोज खोप लिएकी भण्डारीले अबको एक महिनापछि दोस्रो डोज लिनेछिन् । दोस्रो डोज खोप लगाएपछि उनलाई कोरोनाको खोप पुरा हुनेछ । भण्डारी जस्तै अहिले पोखरामा स्वास्थ्यकर्मीदेखि सुरक्षाकर्मी र सरसफाइकर्मी खोप लगाउन लामबद्ध भएका छन् । कोरोना विरुद्धको खोप दिन पोखरामा मात्र ४ ठाउँमा खोप बुथ राखिएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज र लेखनाथ स्थित संक्रामक तथा सरुवा रोग अस्पतालमा कोरोनाको खोप लगाइँदैछ । भारतले अनुदान दिएको खोप गण्डकी प्रदेशमा ३९ हजार १३९ डोज आइपुगेको थियो । गत आइतबार आइपुगेको खोप सोमबार र मंगलबार गण्डकीका ११ वटै जिल्ला अस्पताल पु¥याएको गण्डकीका आपुर्ति व्यवस्थापन केन्द्रका निर्देशक खिमबहादुर खड्काले बताए । अहिले भएको खोपले कोरोना विरुद्धको अग्रपंक्तीमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सुरक्षाकर्मी लगायतलाई लगाउन पुग्ने उनले बताए । पोखरामा मात्र होइन, जिल्ला अस्पतालहरुबाट पनि बुधबार यो खोप लगाइएको छ । हाम्रा बागलुङ सहकर्मीका अनुसार धौलागिरी अस्पतालमा आयोजित एक कार्यक्रममा निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. दिवाकर पराजुलीले पहिलो खोप लगाएका हुन् । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका चिकित्सा महाशखा प्रमुख डा. रामबहादुर केसीको उपस्थितिमा उनीहरुले खोप लगाएका हुन् । अस्पतालका डाक्टर, नर्स, पारामेडिक्स, महिला स्वास्थ्य स्वयं सेविकाहरु, एमबुलेन्स र शबबाहन चालकलाई यो खोप दिइने स्वास्थ्य कार्यालय बागलुबका प्रमुख सुरज गुरौले बताए ।
गण्डकीमा पहिलो चरणको कोरोना विरुद्धको खोप १७ हजार ६३० जनाले लगाउँदैछन् । उनीहरुले अब १ महिनापछि दोस्रो डोज लिएपछि कोरोना विरुद्धको खोप पुरा हुने प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले बताए । कोरोना विरुद्धको खोप अहिले सरकारी अस्पतालका स्वास्थ्यकर्मीलाई मात्र होइन, निजी अस्पतालका स्वास्थ्यकर्मीलाई पनि लगाइँदैछ । ‘कोरोना विरुद्ध अग्रपंक्तीमा खटिएका सबैले पहिलो चरणमा यो खोप लगाउनुहुन्छ’, डा. शर्माले भने, ‘एकमहिना पछिको दोस्रो डोज खोप लगाउन पनि अहिले भएकै खोपले पुग्छ ।’ गण्डकीमा कोरोना विरुद्धको खोप लगाउन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. बुद्धिबहादुर थापाबाट सुरु गरिएको थियो । डा. थापाले खोप लगाएपछि आफुलाई कुनै असर नदेखिएको बताए । कोरोना महामारी सुरु भएको १ वर्षपछि खोप लगाउन पाएका थापाले यो खोप प्रभावकारी हुने विश्वास लिए । ‘कोरोनाको उपचार खोप नआउँदासम्म भौतिक दूरी र मास्क भन्दै आएका थियौं’, डा. थापाले भने, ‘आम जनमानसमा असर गर्छ कि भन्ने हल्ला छ, यो खोप सुरक्षित भएको सबैलाई भन्न चाहन्छु ।’ बेलायतको अक्सफोर्ड विश्वविद्यालयले अनुसन्धान गरेर परिक्षण भइसकेको खोप कोभिशिल्ड अहिले भारतमा उत्पादन भइरहेको छ । त्यही खोप भारत सरकारको अनुदानमा १० लाख डोज खोप नेपाल आएको थियो । कोभिशिल्ड ९० प्रतिशत प्रभावकारी देखिएको भन्दै डा. थापाले समान्य असर देखिएपनि आफै ठीक हुने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->