बागलुङ, २८ माघ– तमानखोलाको नर्जाखानीमा तामाको ठुलो खानी छ । परापूर्व कालमा त्यहाँ तामा निकालेर तमानबासीले गुजारा चलाएको किम्बदन्ती पाईन्छ । राजा महेन्द्रको पालो पछि त्यहाँका तामाखानी बन्द भए ।
उबेला तामा निकालेकाहरुले भनेको र सुनेको आधारमा मात्रै अहिलेको पुस्ताले नर्जाखानीमा तामा रहेको जानकारी राखेको छ । यहाँ मगर समुदायको आफ्नै संकृती छ । मगर समुदायभित्र पनि छन्त्याल समुदायको भाषा र संकृति छ । धेरै छन्त्याल र मगर समुदायको बसोबास रहेको तमानखोलाको नयाँपुस्ताले आफ्नो कला संस्कृती र परम्पराबारे भन्ने र सुन्ने गरेका छन् तर औपाचारिक पढाईलेखाई भने छैन् ।
संघीय संरचना लागु भएपछि स्थानीय पाठ्यक्रम निर्माण गर्ने र पठनपाठन गराउन पाउने अधिकार स्थानीय सरकारलाई छ । कानुनी रुपमा व्यवस्था भएको यो अधिकार तमानखोलाले पहिलोपटक प्रयोगमा ल्याएको छ । तमानको कला, संस्कृती, भुगोल, खानी, कृषि, बन पैदावार र प्राकृतिक स्रोतको बिषयहरु समेटेर स्थानीय पाठ्यक्रम निर्माण काम धमाधम भैरहेको छ ।
गाउँपालिका अध्यक्ष संयोजक र शिक्षा अधिकारी सदस्य सचिव रहेको ७ सदस्यीय पाठ्यक्रम निर्धारण समितिले अहिले आफ्नै पाठ्यक्रम निर्माणको काम तीव्र बनाएको छ । ‘किम्वदन्तीको भरमा रहेको हाम्रो माटोको सिकाई अब व्यवहारिक बनाउँदै छौं’ गाउँपालिका अध्यक्ष जोकलाल बुढाले भने ‘आउँदो शैक्षिक सत्रमा आफ्नै पाठ्यक्रम लागु गर्दै छौं ।’
स्थानीय तहले आफ्नो क्षेत्रमा रहेका सम्भावनालाई विषयवस्तु बनाएर पाठ्यक्रम निर्माण गरी पठनपाठन गर्न सक्ने संवैधानिक व्यवस्थालाई ध्यान दिदै तमानखोलाले स्थानीय पाठ्यक्रम निर्माणलाई तीव्र बनाएको हो ।
स्थानीय स्तरमा निर्माण गरिने पाठ्यक्रममा स्थानीय भाषा, कला संस्कृती, भेषभुषा, चालचलन, रहनसहन, पर्यटन, कृषि उत्पादन र पशुपालनका सम्भावना समावेश गरेर पाठ्यक्रम तयार गरिनेछ । पाठ्यक्रम निर्माणको ७० प्रतिशत काम सकिएको गाउँपालिकाका शिक्षा अधिकारी पुरन घर्तीले बताए ।
पाठ्यक्रम निर्माणको काम सकिएपछि ‘मेरो गाउँपालिका’ नामक पुस्तक तयार हुनेछ । शुरुमा यो पुस्तक कक्षा १ मा पढाई हुने उनले बताए । यो विषय लागु हुने र त्यसपछि क्रमशः कक्षा पाँचसम्म पठनपाठन शुरु गरिने घर्तिले जानकारी दिए ।
हप्ताको चार दिन पठनपाठन हुनेगरी १०० पूर्णाङ्कको पाठ्यक्रम तयारी भैरहेको उनले बताए । १०० पूर्णाङ्कलाई दुई खण्डमा एउटा अनिवार्य र अर्को ऐच्छिक खण्ड गरेर विभाजन गरिएको छ । पाठ्यक्रम निर्माणका क्रममा स्थानीयदेखि राष्ट्रिय विज्ञहरुको रायसुझाव लिएर तयार पार्ने काम भैरहेको गाउँपालिका अध्यक्ष बुढाले बताए । ‘तयार भएको पाठ्यक्रमलाई पाठ्यक्रम बिकास केन्द्रमा पठाईने छ, स्वीकृत भएपछि पठनपाठन सुरु हुन्छ’ बुढाले भने ‘अहिले प्राथमिक तहको कक्षा ५ सम्म एक पिरियड कक्षा सञ्चालन हुने छ ।’
पाठ्यक्रम अनुसारको पुस्तक तयार गरेर निशुल्क विद्यार्थीलाई उपलव्ध गराईने बुढाले बताए । ‘मेरो गाउँपालिका’ नामक पुस्तक अध्यापनका लागि जनशक्ति व्यवस्थापनमा गाउँपालिकाले गृहकार्य थालेको उनले बताए । मगर र छन्त्याल भाषालाई अध्ययन गराउने गरी पाठ्यक्रम तयारहुने गाउँपालिकाले जनाएको छ । अहिले तयार हुने ‘मेरो गाउँपालिका’ पाठ्यपुस्तक भने नेपाली भाषाको हुनेछ ।





