मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

बाढीले घरसंगै खोस्यो दशैंको खुशी

बाढीले घरसंगै खोस्यो दशैंको खुशी


  • ढाेरपाटन संवाददाता
  • कार्तिक ३ २०८३, मंगलबार

तस्बिर सौजन्य : विनोद प्रतिक थापा

बागलुङ/असोज ११ गतेको बाढीले निसीखोला गाउँपालिका वडा नं. ३ को झिँवाखोला बजारमा ४० बढी घर बगायो । ती मध्ये २६ घरको त नाम निसानै मेटियो । अन्य घर पनि बस्न नमिल्ने गरी भत्केका छन् । घर भएको स्थानमा खोला बगेको छ । बगरमा घरको भग्नावशेष भेटाउन पनि मुश्किल छ ।

घर बगेर बगर बनेको स्थानमा घरको नाम निशाना समेत भेटाउन नसकेका पीडितहरु दशैंमा पीडामा छन् । उनीहरु चाडपर्व मनाउने भन्दा कसरी बस्ने, दुई छाक के खाने र बालबालिकालाई पढ्ने–लेख्ने कापी र किताब कसरी दिने भन्ने चिन्तामा छन् ।

जीवनभरको कमाइले बनाएका घर बगेपछि कसरी बनाउने, कता जाने भन्नेमा समेत उनीहरु अन्यौलमा छन् । ‘‘श्रीमानको जीवनभरको कमाइले घर बनाएका थियौं, सबै बगेर गयो, अब कता बस्ने, के खाने ?’’ स्थानीय दिलकुमारी रेग्मीले भनिन्, ‘‘घर बनाएको ऋण समेत कसरी तिर्ने ? चाडपर्व आएनआएको भन्नेमा अन्यौल छ ।’’

पति हेमलाल अहिले पनि खाडी मुलुक दुबईमा रोजगारीमा छन् । उनी तिहारमा आउने तयारी गर्दै छन् । परिवार भने बस्ने घर नभएर विपद् व्यवस्थापन समितिले दिएको खाद्यान्नसहित हेमलालका भाई सागरको घरमा आश्रय लिएर बसेका छन् ।

उनी कक्षा १२ र ९ मा पढ्ने २ छोरा र कक्षा ७ मा पढ्ने छोरीलाई कापी कलम किनिदिने पैसा समेत नभएको गुनासो गर्छन् । चाहेर पनि किताब किन्न नसकेको उनको गुनासो छ ।

वडा नं. ३ कै राजमान बुढाको परिवार यो पटकको चाडपर्वमा आफ्नो घरमा बस्न पाएन । बाढीले घर बगेपछि उनी समेत स्थानीय सामुदायिक भवनमा रात काट्दै आएका छन् । उनको सात जनाको परिवार एउटै कोठामा कोचाकोच गरेर बसेको छ । जिल्ला विपद् व्यवस्थापन समितिलगायतले दिएको राहत लिएर उनीहरुले रात कटाएका छन् ।

दशैं आइहालेकाले कतै सरेर बस्ने समेत उनीहरुले ठाउँ पाएका छैनन् । दशैंपछि विकल्प खोजौंला भनेर उनीहरु त्यहीं बसेका छन् । जग्गा जमिन बगेकोले स्थानीय तहले जग्गाको व्यवस्थापन गरिदेलाकी भन्ने उनको आस छ । व्यवस्थापन पनि गरिदिएन भने जग्गा खोजेर घर बनाउने सपना उनले धेरै जटिल भएको बताए ।

जग्गाको व्यवस्थापन भएमा विपद्मा परेकालाई राज्यले ४ लाख रुपियाँ पुननिर्माण खर्च दिने व्यवस्था छ । तर त्यो किस्ताबन्दीमा हो । त्यसका लागि घरको जग हाल्न पहिलो ५० हजार रुपियाँ दिने व्यवस्था छ । त्यसपछि जग उठाएको घर बनाउन १ लाख ५० हजार दिने व्यवस्था छ । घर बनेको फरफारक गरेपछि १ लाख दिने गरिन्छ । त्यसका लागि राज्यले तोकेका प्राविधिकको सल्लाहअनुसर मापदण्डका घर बनाउनु पर्छ । तत्काल घर बनाउने जग्गा खोज्न कठिन भएको बुढाले बताए । दशैंपछि उनले छिमेकीहरुको जग्गा खोजेर घडेरी बनाउने र राज्यले दिने अनुदानबाट घर बनाउने लक्ष्य सुनाए ।

बुढा र रेग्मी मात्र होइन, उहाँकै छिमेकी प्रेम पौडेल, बाबुराम नेपालीलगायतको पनि घर बाढीमा बगेकोले छिमेकीको घरमा आश्रय लिएर बसेका छन् । उनीहरुले घर बनाउने योजना नै सबैभन्दा कठिन भएको सुनाए । ‘‘जग्गा जमिन नामेट भएकाहरुले नयाँ जग्गा खोज्ने र घर बनाउने काम जटिल छ’’ नेपालीले भने ।

राज्यले दिने सहयोग पनि कहिले आउने भन्ने अन्यौल हुने प्रावधानले घर बनाउने संभावनामा शंका लागेको उनी बताउँछन् । सरकारी अनुदानमा व्यक्तिले पनि रकम थपेर परिवार बस्न मिल्ने घर बनाउन पाए ठिक हुने उनीहरु बताउँछन् । तोकेको मापदण्ड र समयमा राहत नआउने भएमा बसाइ सर्ने जोखिम भएको बुढाले बताए ।

निसीखोलाको बाढीले २६ घर नामेट भएका छन् । अन्य २० घर भत्केका छन् । निसीखोलाकै वडा नं. ४ को कानाबगरमा पहिरोले घर बगाएपछि एकैघरका ४ जनासहित ५ जनाको मृत्यु पनि भएको थियो । यो घटनापछि धेरै पीडितहरु खोला छेउमा बस्नबाट तर्सेका छन् । राज्यले तत्काल सम्बोधन गरेर बस्ने गरी अनुदान दिने र उनीहरुलाई पनि लगानी गर्न लगाएमा बसाइसराइ रोक्न सकिने बाढीपीडितहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->