बेनेी, २९ माघ– बेनी नगरपालिका–८,बेनीबजारकी लक्ष्मी श्रेष्ठ वौद्धिक अपाङ्गता भएका १२ वर्षीय छोराको परिचयपत्रका लागि चिकित्सकको प्रमाणीकरण गर्न बेनी अस्पतालमा पुगिन् । अस्पतालको बहिरंग सेवा (ओपीडी) मा रहेका चिकित्सकले प्रमाणितका लागि आवश्यक उपकरण नभएकाले पोखरा जान अनुरोध गरे । छोरा आकाश श्रेष्ठलाई देखाउँदै चेकजाँच गरी समस्या लेखिदिन अनुरोध गर्दासमेत चिकित्सकले आनाकानी गरे । परिचयपत्रको अभावका कारण समस्या झेल्दै आएकी लक्ष्मी तत्कालै बेनी नगरपालिकामा पुगेर समस्याका बारेमा जानकारी गराइन्। नगरका जनप्रतिनिधि र कर्मचारीलेसमेत यातायात खर्च उपलब्ध गराउने भन्दै पोखरा जान सुझाव दिए ।
बौद्धिक अपाङ्ता भएकालाई चिकित्सकको सिफारिसमा नगरपालिकाले परिचयपत्र वितरण गर्ने प्रावधान रहेपनि लक्ष्मीले आफ्नो छोराको परिचयपत्र पाउन सकिनन् ।जनप्रतिनिधि र चिकित्सकले आफ्नो छोरा बौद्धिक अपाङ्ता भएको स्वीकार गर्न आनकानी गरेको भन्दै लक्ष्मीले दुखेसो पोखिन् । ‘परिचपत्रका लागि मैले आफ्नै नगरपालिकामा एकहप्तादेखि धाउनुपरेको छ,चेकजाँचका लागि पोखरा जाउँ भन्नुहुन्छ, चिकित्सक र संस्थाका बारेमा जानकारी माग्दा चासो दिनुहुन्न’,श्रेष्ठले भनिन् । छोराको अपाङ्ता परिचयपत्रका लागि दैनिक चक्कर मार्नुपर्ने अवस्था आएको लक्ष्मीले गुनासो गरिन् । बुधबार सदरमुकाम बेनीमा बौद्धिक अपाङ्ताका अभिभावक संघले आयोजना गरेको पत्रकार छलफलमा राज्यबाट सहायता पाउन सूचीकृत अर्थात् परिचयपत्रका लागि स्थानीय सरकार नै सहयोगि नभई सास्ती बन्दै गएको अभिभावकले गुनासो गरेका थिए ।
‘संविधानले दिएको सुविधा माग्न समेत भिख मागेजस्तो भएको छ,जनप्रतिनिधिले समेत आश्वासन मात्रै दिनुहुन्छ’, अध्यक्ष यामबहादुर बानियाँले भने । उनले अभिभावकले आफ्ना छोराछोरीको परिचयपत्रका लागि जनप्रतिनिधिको कार्यकक्षमा धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताए । ‘गोजीबाट झिकेर परिचय त्र दिनुपर्छ जस्तो गर्नुहुन्छ’, उनले भने,‘जनप्रतिनिधिहरुलाई नै परिचयपत्रको बारेमा जानकारी भएजस्तो लागेन, गोजीबाटै दिनेजस्तो गरियो ।’
म्याग्दी बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख टिकाराम सापकोटाले बौद्धिक अपांगता, अटिजम र डाउनसिन्ड्रो समस्या भएकाहरूको बारेको कमजोर बुझाइका कारण परिचयपत्रकै संघर्ष गर्नुपरेको बताए । ‘चिकित्सकले नै बौद्धिक अपांगताको समस्या बुझ्न नसकेको देखिन्छ’, उनले भने,‘जनप्रतिनिधि त अलमलमै हुनुहुन्छ ।’ ‘अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४’ अनुसार १० प्रकारका अपांगतामा बौद्धिक अपांगताका बारेमा जनप्रतिनिधिलाई नै जानकार नहुदाँ समस्या जटिल बन्दै गएको उनले बताए ।
पाउनेले पनि ५ दिन धाउनुपर्ने
बेनी नगरपालिका–१,का सञ्जय थापा मगरले बेनी अस्पतालका चिकित्सकले प्रमाणित गरेपछि गएको कात्तिक महिनामा नगरपालिकाबाटै परिचयपत्र पाए । अभिभावक अशोक थापा मगरले अस्पतालबाट समेत सजिलै प्रमाणित गरेर नगरपालिकाबाट परिचयपत्र लिएको बताए । ‘अस्पतालमा सजिलो भयो, नगरपालिका भित्र झन्झट’ उनले भने । अपाङ्ताको समस्याका बारेमा धेरै चिन्ता नलिने कर्मचारी र जनप्रतिनिधि भएकाले पनि पाँचदिन लगाएर परिचय पत्र लिएको बताए ।उनले करिब २ घण्टाको कामका लागि पाँचदिन लगाउनुपरेको बताए । म्याग्दीमा हालसम्म ६८ जना बौद्धिक अपाङ्ताका अभिभावक संघको सम्पर्कमा रहेका छन् ।
कतै सहजै, बेनीमा झन्झट
लमजुङ जिल्लाको सन्दरबजार नगरपालिकाले बौद्धिक अपाङ्गता परिचय पत्रका लागि अभिभावकले निवेदन दिनासाथ प्रक्रिया पूरा गरी उपलब्ध गराउँछ ।बौद्धिक अपाङ्ताका अभिभावक कला सुबेदीले सुन्दरबजार नगरपालिकाले परिचय पत्र सहजै दिएको बताइन्। ‘उता सहजै पाइन्छ, यहाँ अचम्मै रैछ’, उनले भनिन् ।





